नेताले अभिनय गर्न निकै गाह्रो छ

मनोरन्जनको साधनमध्ये मलाई मन पर्ने चलचित्र हो । फुर्सद भएसम्म र भ्याएसम्म चलचित्र हेर्न मन पर्छ । पहिला–पहिला चलचित्रको रेगुलर फ्यान नै थिएँ । अहिले चलचित्र हेर्न अलिकम भएको छ । लगभग चार–पाँच वर्ष भयो होला मैले चलचित्र भवनमा गएर चलचित्र हेर्ने चाहना हुँदा हुँदै पनि भ्याएको छैन । टेलिभिजनमा आउने र सिडीमार्फत चाहिँ कहिले काही हेर्ने गरेको छु ।
मैले हेरेको पहिलो चलचित्र मनको बाँध हो । त्यतिबेला म स्कुल पढ्थेँ । धेरै अगाडि भए पनि मलाई अझै सम्झना छ, त्यो चलचित्र मैले इन्डियन आर्मीको क्याम्पमा हेरेको थिएँ । अहिलेजस्तो चलचित्र भवनको विकास त्यतिबेला नभइसकेकाले चलचित्र भवनमा चलचित्र हेर्न पाइँदैनथ्यो । त्यसैले ती आर्मीले प्रोजेक्टर लगायर राति हेर्ने गर्थे भने तिनीहरूले हेरेको समयमा मैले पनि हेर्ने मौका पाएँ । चलचित्र मन पनि पर्‍यो । चलचित्रमा वास्तविक जिन्दगीका उतार–चढाव र जीवनका भोगाइ अर्थपूर्ण रूपले प्रस्तुत गरिएको थियो ।
चलचित्र भवनमा गएर हेरेको पनि छु । ती चलचित्र कान्छी, कुसुमे रुमाल, सोलेलगायत हुन् । त्यतिबेला म पाल्पा क्याम्पसमा पढ्थेँ । मेरो युवा अवस्था भएकाले पनि होला,  चलचित्र हेर्न मलाई निकै मन पथ्र्यो भने चलचित्रले मनोरन्जन पनि दिन्थ्यो । अहिले पनि याद छ, मलाई त्यतिबेलाका अधिकांश चलचित्र वास्तविक कथामा निर्माण हुने भएकाले  सबैको मन छुन पनि सफल हुन्थे ।
आफूले हेरेको र अहिले सम्झना हुने चलचित्र बलिदान पनि हो । मलाई निकै मन पर्‍यो । चलचित्रले प्रत्येक नेपालीको वास्तविक कथा बुनेको थियो । त्यसैले तत्कालीन समयमा चलचित्रले सफलता हात पनि पार्‍यो भने यसले सर्वत्र चर्चा पनि कमायो । बलिदानपछि मैले हेरेको चलचित्र वीर गणेशमान हो ।  मदनभण्डारीको हत्याको विषयमा चलचित्र दासढुंगा निर्माण भएको थाहा छ । चलचित्र धेरै हर्ने इच्छा पनि थियो तर कामको सिलसिलमा देशबाहिर जानु परेकाले हेर्ने मौका पाइनँ । विषेश गरेर एउटा अग्रज नेताको विषयमा यो बनेकाले भित्रैदेखि हेर्न मन लागेको थियो ।
अहिले उमेरले युवा अवस्था पार गरिसकिएको छ । चलचित्र हेर्न अचेल पहिलेझैँ इच्छा हुँदैन । चलचित्र हर्ने इच्छा त्यति नजागे पनि सामाजिक चलचित्र हेर्न मन त लाग्छ । तर, यस्ता चलचित्र निर्माण भएका र प्रर्दशनमा आयका सूचना अभावले कति चलचित्र प्रर्दशन भइसकेपछि र कति निर्माणका क्रममा मात्र थाहा पाइन्छ । समयमा नै थाहा पाएका केही चलचित्र कार्यव्यस्तताले गर्दा हेर्ने मिल्दैन । कतिपय चलचित्र उमेर सुहाउँदो नभएकाले पनि हरिँदैन । फेरि यो उमेरका आफूसँगै चलचित्र हेर्ने जाने साथीभाइ मिल्न पनि गाह्रो हँुदोरहेछ । एक्लै चलचित्र हेर्न जान पनि अप्ठ्यारो ।
अचेल सिनेमा भवनमा गएर चलचित्र नहेरे पनि पत्र–पत्रिका र समाचारका माध्यमबाट पनि नेपाली चलचित्र इन्डियन चलचित्रको कपी बनिरहेका छन् भन्ने सुनेको छु । अचेल बनेका चलचित्रका कथा पनि कमजोर छन् रे । त्यसैले पनि दर्शक घट्दै गएका होलान् । चलचित्र मनोरन्जनका दृष्टिले बनाए पनि सामाजिक चेतना चाहिँ फैलाउनु पर्छ जस्तो मलाई लाग्छ । अहिले बनेका चलचित्रको संख्या अधिक भए पनि गुणस्तर कम भएकाले दर्शक घटेका हुन् ।
सानैदेखि चलचित्र मन पर्ने म तर राजनीतिमा लागेर र सामाजिक र श्रमिक आन्दोलनमा लागेर चलचित्रप्रति रुचि हुँदा हुँदै पनि कयौँपटक त्यो रुचि मार्नु परेको पनि छ । चलचित्र हेर्ने र चलचित्र खेल्ने कताकता अलिअलि रहर मनभित्र छ । त्यो रहर बाहिर कम देखिन्छ र मनभित्र बढी छ ।
हुन त चलचित्र अभिनयका लागि सबै योग्य कहाँ हुन्छन् र । त्यसैले म पनि अहिले अभिनयका लागि योग्य त छैन । तर, उमेरअनुसारको भूमिका पाए र ती भूमिकाबाट जनतालाई जागृ्रत गराउन सकिन्छ भन्ने लाग्यो भने म चलचित्रमा अभिनय गर्छु, त्यो पनि सामाजिक दायित्व बोधका हिसाबले मात्र । अभिनयका हिसाबले भन्ने हो भने मेरो विचारमा कलाकारले राजनीति गर्न सक्छन् होला तर राजनीतिज्ञले अभिनय गर्न निकै गाह्रो छ ।
प्रस्तुति : कुबेर गिरी

प्रतिक्रिया