काठमाडौं, २५ मंसिर । उपराष्ट्रपति परमानन्द झाले राजनीतिक दलका नेताहरूलाई बहिष्कार गर्न पत्रकारलाई आह्वान गरेका छन् । उपराष्ट्रपति झाले भने, ‘पत्रकारले बिबहान, दिउँसो र बेलुका बोली फेर्ने नेताहरूलाई महत्त्व दिएकाले नै समस्या झन् गाँठो पर्दै गएको छ ।’
रिपोर्टर्स क्लबको टोलीसहितको पत्रकारसँग आइतबार उपराष्ट्रपतिले भने, ‘तपाईंहरू राजनीतिक दलका नेताहरूलाई इम्प्रोटेन्ट नदिनुस् । पत्रपत्रिका १५ दिनसम्म उनीहरूको कुरा नछापेर प्रोटेस्ट गर्नुस् ।’
कुन–कुन दलको कुन–कुन अडानका कारण सहमति हुन नसकेको हो भन्ने कुरा छर्लंग भइसकेको स्पष्ट पार्दै उनले दलहरूको अडानको समेत सीमा हुने चेतावनी दिए । उनले भने, ‘दलहरूको व्यवहारले पराकाष्ठा नाघिसक्यो । अब धेरै दिन ढाकछोप गरेर केही पनि छुप्नेवाला छैन ।
सरकारले ल्याएका राजनीतिक प्रकृतिका कुनै पनि अध्यादेश राष्ट्रपतिले स्वीकार गर्न नहुने तर्क गर्दै उनले सविधानको धारा १५८ धेरै पटक प्रयोग गर्न नहुने भएकाले राष्ट्रपतिले सबै विषय प्याकेजमै सहमति गरेर ल्याउन भनेको बताए । उनले भने, ‘संवैधानिक नियुक्तिका लागि संविधानको धारा १५८ कतिपटक प्रयोग गर्ने, त्यो उचित हँुदैन । राष्ट्रपतिले मुलुकलाई गम्भीर असर पार्नेबाहेकका कुनै पनि अध्यादेश स्वीकार गर्नु उचित हुँदैन । उहाँले त्यसैअनुरूप गरिरहनुभएको छ ।
निकासका लागि राष्ट्रपतिलाई थप कदम चाल्नका लागि जनताले सपोर्ट गर्नुपर्ने धारणासमेत उनले व्यक्त गरे । अहिले नै राष्ट्रपतिले थप केही गर्न सक्ने अवस्था नरहेको स्पष्ट पार्दै उनले भने, ‘राष्ट्रपतिले जे गर्न सक्नुहुन्थ्यो त्यो गरिरहनुभएको छ, गाउँ–गाउँबाट जनता जागेर राष्ट्रपतिलाई निकासका लागि थप कदम चाल्न ब्याकफोर्सको काम गर्नुपर्छ ।’
उनले निकासका लागि राष्ट्रपतिले सामथ्र्य लगाए पनि त्यसले अन्तरिम संविधानको धारा ३८.१ भन्दा अघि बढ्न नसक्ने अवस्था भए पनि राष्ट्रपतिको कदमले दलहरूलाई एकै ठाउँमा बस्ने वातावरण भने निर्माण गरेको दाबी गरे । उनले सर्वोच्च अदालतले अब राष्ट्रपतिको संविधानको संरक्षक र पालकका रूपमा गरेको व्याख्या गरेर त्यसभित्र के–के पर्छ भनेर स्पष्ट पार्नुपर्ने अवस्था आएको उल्लेख गर्दै त्यसको दलैपिच्छेको अलग–अलग व्याख्या हँुदा मुलुक झन् अन्योलमा फस्दै गएको टिप्पणी गरे । भने, ‘संरक्षक र पालकभित्र के–के पर्छ भनेर सर्वोच्चले व्याख्या गर्यो भने सबैको मुखमा बुझो लाग्छ ।
पछिल्लो समय नेताहरूको अवस्था उदांगिँदै गएको दाबी गर्दै उनले जनताले भोट दिएर बनाएका नेताले जनताको भन्दा पनि नेताको मात्रै नेपाल बनाएकाले समस्या आएको आरोप लगाए । भने–नेताहरूको सोचमा परिवर्तन आउनुपर्छ । अहिले घाँटी–घाँटीसम्म पानी पुगेको छ । जनताले सहिरहेका छन् । अब नाक मुख नै डुबेपछि बच्न जनताले पनि हातखुट्टा चलाउन सक्छ ।’
प्रतिक्रिया