नेताहरुलाई बहिस्कार गर्न आह्वान

काठमाडौ, २४ मंसिर । उपराष्ट्रपति परमानन्द झाले दलका नेताहरुको व्यक्तिवादी स्वार्थका कारण जनताको घाँटीघाँटीसम्म पानी पुगिसकेको भन्दै वहिष्कार गर्न आह्वान गरेका छन् ।
कान्तिपथस्थित आफ्नै कार्यालयमा आज सञ्चारकर्मीसँग कुरागर्दै उनले नेताहरुका कारण अति भयो भने जनताले हात खुट्टाचलाउन सुरु गर्ने चेतावनी दिए । उनले नेताहरुको प्रतिकार हुन सक्ने समेत बताए ।
‘नेताहरुको सोंचमा परिवर्तन आउनु पर्छ,’ उनले भने, ‘अहिले जनताको घाँटीघाँटीसम्म पानी पुगेको छ, जनताले सहेका छन् ।’ उनले नेताहरुलाई मुलुकको समस्याप्रति गम्भीर भई ध्यान दिन सुझाव दिए ।
‘अब नाक मुख नै डुबेपछि बच्न जनताले पनि हात खुट्टा चलाउन सक्छन्,’ उनले भने, ‘त्यसबेला कठिन हुन्छ नेताहरुका लागि समयमा विचार गरुन ।’
पछिल्लो समयमा नेताहरुको अवस्था उदाङ्गिँदै गएको दावी गरेका उपराष्ट्रपति झाले नेपाली जनताले भोट दिएर बनाएका नेताहरुले जनताको भन्दा पनि नेताको मात्रै नेपाल बनाउँदा समस्या आएको बताए ।
‘राजनीतिक दलका नेताहरुलाई बहिस्कार गर्न पत्रकारहरु म पत्रकारहरुलाई आह्वान गर्छु,’ उनले भने, ‘पत्रकारले विहान, दिउँसो र बेलुका बोली फेर्ने नेताहरुलाई महत्व दिएकाले नै समस्या झनै गाँठो पर्दै गएको छ ।’
उनले राजनीतिक दलका नेताहरु महत्व नदिने हो भने ठूला नेताको चेत खुल्ने बताए । उनले भने, ‘पत्रपत्रिकामा १५ दिन सम्म उनीहरुका कुरा नछापेर पत्रकारले सबक दिलाईदिनुस् ।’
कुन–कुन दलका कुन–कुन अडानका कारण सहमति हुन नसकेको हो भन्ने कुरा छर्लङग भइसकेको बताएका झाले दलहरुको अडानका समेत एउटा निश्चित सीमा हुने बताए । ‘दलहरुको व्यवहारले पराकाष्टा नाघिसक्यो,’ उनले भने, ‘अब धेरै दिन ढाक छोप गरेर केही पनि छुप्ने वाला छैन ।’
यसैबीच, उपराष्ट्रपति झाले मुलुकको निकासका लागि राष्ट्रपतिलाई थप कदम चाल्न जनता ब्याक सपोर्ट गर्नु पर्ने बताए ।
‘अहिले नै राष्ट्रपतिले थप केही गर्न सक्ने अवस्था छैन,’ उनले भने, ‘राष्ट्रपतिले जे गर्न सक्नु हुन्थ्यो त्यो उहाँले गरिरहनु भएको छ ।’

प्रतिक्रिया