कांग्रेस–एमालेका कारण सहमति जुटेन : एमाओवादी

काठमाडौं : विपक्षी दलहरू सत्तामा मात्र केन्द्रित भएकाले सहमति जुट्न नसकेको एमाओवादीले जनाएको छ । विपक्षी कांग्रेस–एमालेले चुनावभन्दा सरकार प्राप्तिलाई प्राथमिकता दिएका कारण सहमतिको सरकार गठनका लागि राष्ट्रपतिले दिएको थप समय–सीमामा पनि सहमति हुन नसकेको एमाओवादी प्रवक्ता अग्नि सापकोटाले बताएका छन् ।
‘विपक्षी दलहरू कांग्रेस–एमाले सरकारको कुरा मात्र गरिरहेका छन्, उनीहरूले अरू विषयलाई चासो नै दिएका छैनन्,’ पार्टीको नियमित पत्रकार सम्मेलनमा शनिबार प्रवक्ता सापकोटाले भने, ‘यसै कारण राजनीतिक दलहरूबीच अहिलेको अवस्थालाई निकास दिनेगरी सहमति हुन सकेको छैन् ।’
चुनावका लागि आवश्यक कानुनी र संवैधानिक व्यवस्था गर्दै राजनीतिक उपलब्धि रक्षा गर्न प्याकेजमा सहमति गर्ने अडान लिएको उल्लेख गर्दै सापकोटाले कांग्रेस–एमालेमा परिवर्तनविरोधी शक्ति हावी भएको दाबी गरे । ‘सरकारमा मात्र कुरा नमिलेको होइन,’ उनले भने, ‘परिवर्तन पक्षधर र विरोधीबीचको संघर्ष पनि हो ।’ विपक्षीले एमाओवादीलाई आत्मसमर्पण गराउन खोजेको आरोप लगाउँदै उनले परिवर्तनका एजेन्डा छाड्नुपरे जस्तोसुकै संघर्षका लागि तयार रहेको चेतावनीसमेत दिए । विपक्षीहरू सहमतिमा पनि नआउने र उनीहरूले राष्ट्रपतिलाई अध्यादेश जारी गर्न नदिएका कारण मंसिरमा चुनाव हुन नसकेको जिकिर गर्दै उनले वैशाखमा पनि चुनाव नहुने खतरा बढ्न थालेको टिप्पणी गरे ।
यसअघिको संविधानसभाले सहमति जुटाएका विषयलाई स्वीकार गरी अघि बढ्नुपर्ने उनको भनाइ थियो । (सौस)

प्रतिक्रिया