चिराइतो संकलन

इलाम : इलामको उत्तरी भेगका किसान यतिबेला आºनो पाखोबारीमा छरेको चिराइतो जम्मा गर्ने कार्यमा लागेका छन् ।
यहाँका लेकाली क्षेत्रका किसान अहिले एकअर्कामा पर्म लगाएर चिराइतो संकलन गरिरहेका छन् । सुलुबुङ, मावु, जमुना, माइमझुवा, माइपोखरी, सुम्बेक, नयाँबजार, जोगमाइ, प्याङ, पुवामझुवालगायत गाविसका किसान दुई वर्षअघि पाखोबारीमा लगाएको चिराइतो उखेल्न व्यस्त भएका हुन् ।
जमुना–८ का अगुवा किसान ग्याल्बु शेर्पाले गाउका युवा पर्म लगाएर २०/२५ जनाको समूह बनाएर चिराइतो संकलन गरिरहेको बताए । इलामलगायत पाँचथर र ताप्लेजुङ जिल्लाका किसानले चिराइतोको व्यावसायिक खेती गर्दै आएका छन् । इलाममा मात्र चार हजारभन्दा बढी किसानले व्यावसायिक रूपमा जडीबुटी खेती गर्दै आएको जडीबुटी उत्पादक तथा संरक्षण संस्था इलामले जनाएको छ ।
यहाका एक दर्जन बढी गाविसका किसानले चिराइतो, लौठसल्ला, ओखेआलु, जटामसी, कुड्की, बिख्मा, सुगन्ध कोकिललगायत जडीबुटी खेती गर्दै आएका छन् । जिल्लामै सबैभन्दा बढी चिराइतो उत्पादन गर्ने किसानका रूपमा कहलिएका ग्याल्बु शेर्पा यसपटक ९२० केजी चिराइतो उत्पादन गरेको बताउनुहुन्छ । उनले गत वर्ष करिब चार सय केजी चिराइतो उत्पादन गरेका थिए । शेर्पाले अधियामा जग्गा लिएरसमेत चिराइतो खेती गरिरहेका छन् । (सौस)

प्रतिक्रिया