बुहारीलाई चारपाटा मुडेर यातना

रौतहट, २३  मंसिर । मुलुकभर महिला हिंसाविरुद्धको १६ दिने अभियान चलिरहँदा रौतहटमा एक महिलाको विवादास्पद मृत्यु भएको छ भने एक महिलालाई प्रहरीले उद्धार गरेको छ ।
लक्ष्मीपुर–८ का शेखर ठाकुरसँग विवाह गरेकी सर्लाही जमुनिया–९ की १८ वर्षीया रिंकु देवीको शंकास्पद मृत्युपछि राति नै हतारमा उनको अन्त्येष्टि गरेर परिवारजन फरार भएका हुन् । विवाहको एक वर्षपछि उनलाई १२ मंसिरमा घरमा ल्याइएको थियो । घरमा भित्र्याइएको ९ दिनमै रिंकुको मृत्यु भएपछि घटना शंकास्पद बनेको हो । तराईमा विवाहपश्चात् केटी केही समयका लागि माइतमै बस्ने चलन छ । विवाहको केही महिना वा वर्षपछि बेहुली घर आउँदा दाइजोमा पाएको सामान लिएर आउने गरिन्छ ।
घरमा भित्र्याएको एक सातापछि नै अस्वाभाविक मृत्यु हुनुमा दाइजोका कारण हत्या भएको आरोप माइती पक्षले लगाएको छ । मृत्युपश्चात् माइती पक्षलाई खबर नगरी शव जलाएर परिवारका सदस्य फरार हुनुले पनि हत्या भएको हुनसक्ने सम्भावना रहेको छ । घटनाको छानबिन गर्न प्रहरी पुग्दा घरका सबै सदस्य फरार रहेको तथा शव पूरै जलिसकेको अवस्थामा पाइएको प्रहरीले जनाएको छ ।
यस्तै, सखुअवा धमौरा–५ का बाजुल मन्सुरीले १६ वर्षीया बुहारी सकिना खातुनको कपाल काटेर दुई दिनदेखि फलामको सिक्रीले बाँधेर घरमा यातना दिएको अवस्थामा प्रहरीले उद्धार गरेको छ । केही वर्षअघि सरफुल्लाह मन्सुरीसँग वैवाहिक बन्धनमा बाँधिएकी सकिनालाई मुस्लिम चलनअनुसार १५ दिनअघि मात्र घरमा भित्र्याइएको थियो ।
१५ दिनअघि मात्र बहिनीलाई घर पठाएको बताउँदै सकिनाका दाजु अफजलले भने, ‘बहिनीका ससुराले उनको कपाल काटेर दुवै खुट्टा फलामको सिक्रीले बाँधेर घरभित्रै यातना दिएका रहेछन् ।’ प्रहरीको सहयोगमा मुक्त गराउन जाँदा सकिनाको अनुहारमा मोसोसमेत दलेको पाइएको थियो । ‘बहिनीलाई पागल बनाउन खोजिँदै थियो,’ उनले भने, ‘सकिनाले पनि माइती जान्छु भन्दा ससुराले कुटपिट गरेर कपाल काटेर बाँधेर राखेका रहेछन् ।’
सकिनाका बाबु जैनुल मन्सुरीले छोरीमाथि अन्याय भएको बताउँदै न्याय दिलाउन अनुरोध गरे । बिहान साढे सात बजे नै हरसाह प्रहरीले सकिनालाई नियन्त्रणमा लिए पनि अबेर साँझसम्म उनलाई जिल्ला प्रहरी लगिएको थिएन । रौतहटमा नेपाल प्रहरीअन्तर्गतको महिला तथा बालबालिका सेलको आफ्नै कार्यालय भए पनि पीडितलाई हरसाहमै राखिएको छ । महिला तथा बालबालिका सेवा केन्द्रका इन्चार्ज इन्स्पेक्टर रूपा लाबुङको लापरबाहीका कारण पीडित महिलालाई सेवा केन्द्र पुर्‍याउन सकिएको छैन ।
रौतहटमा महिलाका क्षेत्रमा काम गर्ने दर्जन बढी संस्था छन् । तर, महिलामाथि हिंसा रोकिएको छैन । विगत दुई दिनमा एक महिलाले दाइजोका कारण ज्यान गुमाएको र एक महिलाले चरम यातना भोगेको खबरले अभियानको सार्थकतामाथि प्रश्नचिह्न खडा भएको छ ।

प्रतिक्रिया