गेसपेपरमा प्रतिबन्ध

उच्चमाध्यमिक विद्यालय तहसम्म विद्यार्थीलाई गेसपेपर प्रयोगमा प्रतिबन्ध लगाएको सरकारी घोषणा स्वागतयोग्य छ । अझ यो प्रतिबन्धलाई विश्वविद्यालय तहसम्मै विस्तार गर्ने कुरा उत्तिकै प्रशंसनीय छ । पछिल्ला धेरै वर्षदेखि गेसपेपर देशको शिक्षाक्षेत्रमा धमिरासरह फैलिँदै आइरहेको तीतो यथार्थबीच यो समाचारले केही राहत भने पक्कै दिएको छ । गाइड र गेसपेपरका भरमा आफूलाई ‘विद्वान्’ बनाइरहेका विद्यार्थीको ठूलो जमातले मुलुकलाई चाहिने र युग सुहाउँदो दक्ष जनशक्ति प्रदान गर्न सकिरहेको छैन । खासगरी गेसपेपरले विद्यार्थीमा परिश्रम गर्ने प्रवृत्ति लगभग नष्ट नै गरेको छ । उनीहरूको पुस्तक पढ्ने, चिन्तन गर्ने, विश्लेषण गर्ने, छलफल गर्ने र लेख्ने बानीलाई निष्क्रिय बनाउने अनि रटन्ते विद्यामा निष्णात् पार्दै लाने काम गेसपेपरले गरिरहेको छ । सबभन्दा ठूलो कुरा यसको प्रयोगले विद्यार्थीको सिर्जनशीलता धरापमा पर्दै गएको सबैले महसुस गर्दै आएको सवाल हो ।
प्रयोगात्मक शिक्षामा भन्दा सैद्धान्तिक शिक्षामा जोड दिने प्रवृत्तिले गर्दा ‘गेसपेपर संस्कृति’ मौलाएको हो । जेजसरी हुन्छ कक्षा उत्तीर्ण गर्नुपर्छ र कुनै न कुनै जागिरमा झुन्डिइहाल्नु पर्छ भन्ने कमजोर मानसिकताले यस संस्कृतिलाई मलजल गरेको छ । अझ यसको गूढ रहस्य खोतल्ने हो भने यो सरकारको अदूरदर्शी, अव्यावहारिक र असफल शिक्षा नीतिको अनिवार्य ‘बाइ–प्रोडक्ट’ पनि हो । खासगरी, विद्यालयको पाठ्यक्रम नै जीवनोपयोगी छैन र त्यसले केवल ‘एनी हाउ, पास होऊ र जागिर खाऊ’ भन्ने नीति मात्र सिकाउँछ । यो सिकाइलाई सबैभन्दा बढी सहयोग पुर्‍याउने भनेकै गेसपेपर जस्ता माध्यम हुन् ।
गेसपेपर लेख्ने र छाप्नेहरू अनि त्यसैलाई आफ्नो शैक्षिक सफलताको आधार मान्ने विद्यार्थी मात्र दोषी होइनन्, अपराधी त सरकार पनि हो । उहिल्यै पञ्चायती शासनकालमा अपनाइएको औपनिवेशिक अंग्रेज शिक्षाविद् लर्ड मेकालेको शिक्षा नीति, अर्थात्– नेतृत्व हाँक्न वा देशलाई डोर्‍याउन सक्ने धीर, गम्भीर जनशक्ति उत्पादन गर्नका लागि नभएर सत्तारुढ वर्गको सेवाका लागि पढालेखा सामान्य कामदार जन्माउन मात्र दिइने शिक्षानीति, नै पञ्चायती शासन इतिहास भइसकेको दुई दशकभन्दा बढी समय बितिसक्दा पनि अद्यापि जारी छ । पाठ्यपुस्तकमा केही फेरबदल ल्याइएको भए पनि मूलत: शिक्षानीति उही र उस्तै छ । यति मात्र नभएर शिक्षाक्षेत्रमा ह्वार्ह्वार्ती आइरहने वैदेशिक सहयोगमा कमिसनको खेलका कारण हरेक दुई/तीन वर्षमा पाठ्यक्रम तथा पुस्तक परिवर्तन भइरहेका हुन्छन् । यस्ता पाठ्यक्रमले नयाँ केही सीप, शैली, प्रविधि, सिद्धान्त सिकाउनेभन्दा पनि उही स्थापित नीतिलाई तोडमोड गरेर निरन्तरता दिने र त्यसकै पक्षपोषण गर्ने काम मात्र गरिरहेको देखिन्छ । पाठ्यक्रममा अनावश्यक कुरा राखेर विद्यार्थीमाथि अनावश्यक भार थोपर्ने काम गरिरहेका छन् । यस्तो अवस्थामा केही प्रतिभाशालीको कुरा बेग्लै हो अन्यथा ‘गह्रौँ अक्षरहरूको गहिरो भुलभुलैया’ बाट सहज मुक्तिका लागि आमविद्यार्थी गाइड र गेसपेपरतिर तानिन पुग्नु उनीहरूको रहरभन्दा बाध्यता बन्न पुग्छ । तसर्थ, गेसपेपर प्रयोगमाथि प्रतिबन्धको घोषणाभन्दा त्यसलाई कार्यान्वयन गर्ने पक्ष बढी चुनौतीपूर्ण छ ।
सर्वप्रथम त शिक्षा वैज्ञानिक, सरल, व्यावहारिक र जीवनोपयोगी हुनुपर्छ । अन्तर्राष्ट्रिय शिक्षाप्राप्तिको हक त छँदैछ, देशको सामाजिक, भूराजनीतिक र सांस्कृतिक वस्तुस्थिति हेरेरसमेत पाठ्यक्रम निर्धारण हुनुपर्छ । प्रयोगात्मक शिक्षामा सर्वाधिक जोड दिनुपर्छ । कम्तीमा शिक्षा हासिल गरेका व्यक्ति अध्ययन समाप्त गरेर शिक्षालयबाट बाहिर आइसक्दा आफूले हासिल गरेको शिक्षाका आधारमा जीवनका कुनै न कुनै अवसर उपलब्ध हुन सकून् । अहिले सरकारले केवल गेसपेपरको प्रयोगमा प्रतिबन्ध लगाएको छ, स्वयं गेसपेपरमा चाहिँ होइन । यस कारण गेसपेपरको उत्पादन र प्रयोगको कालाबजारी हुने आशंका उत्तिकै रहन्छ भने गाइडनिर्भरता अझ बढ्ने सम्भावना छ । गेसपेपरको उत्पादन र प्रवद्र्धनको विस्तारित सञ्जाल स्थापित छ, जसलाई भत्काउन सरकारले ठूलै लडाइँ लड्नुपर्ने हुन्छ । त्यसो त अभिभावकको साथ, शिक्षालयमा योग्य एवं तालिमप्राप्त शिक्षक तथा समुचित शिक्षामैत्री वातावरण व्यवस्थापन गर्दै अगाडि बढ्न सके विद्यार्थीलाई सिर्जनशीलताको बाटोमा आकर्षित गर्न निश्चय पनि सकिन्छ ।

प्रतिक्रिया