नेतृत्वका लागि झडप

राजविराज, २१ मंसिर । राष्ट्रिय शक्ति प्रजातन्त्र पार्टी सप्तरीको नयाँ नेतृत्व चयनका क्रममा दुई पक्षबीच झडप भएको छ । राप्रपा र राजपाको एकीकरणपछि राजपाको नेतृत्व चयनका क्रममा झडप भएको हो ।
मंगलबार दिनभरि सहमतिद्वारा नेतृत्व चयनबारे छलफल हुँदा पनि सम्भव नभएपछि राजपाका केन्द्रीय सदस्य तथा निर्वाचन संयोजक बलराम चौधरीले अध्यक्ष पदका उम्मेदवार रामु यादव र उम्देश्वरप्रसाद साहसँग छलफल गरी नयाँ निर्वाचनको मिति तोक्ने घोषणा गरेका थिए ।
साँझ राप्रपाका केन्द्रीय सदस्य तोरणबहादुर गुरुङ, गिरिबहादुर केसी, ठाकुरसिंह थारूलगायतको उपस्थितिमा स्थानीय एक होटलमा निर्वाचनबारे छलफल भइरहँदा रामु यादव पक्षका कार्यकर्ताले केही नेतालाई हातपात गरेको अध्यक्ष पदका उम्देश्वर साहले आरोप लगाए । ‘उनीहरूले चुनाव चाहेकै थिएनन्, त्यसैले हुलहुज्जत गरी चुनाव बिथोले र झडपमा उत्रिए,’ उनले बताए ।
राप्रपाका केन्द्रीय सहकोषाध्यक्ष गुरुङले पनि रामु पक्षले हुलहुज्जत गरेको बताउँदै सहमतिमा समेत आउन नचाहेको आरोप लगाए । रामु यादवले भने साह पक्ष नै चुनावमा जान नचाहेको बताए । मंगलबार बन्दसत्रमा छलफल हुँदा सम्पूर्ण मतदाताको नामावली नआउँदै ‘अहिले नै चुनाव हुनुपर्छ’ भन्दै साह पक्षले दबाब दिएको यादवको आरोप छ ।
निर्वाचन संयोजक चौधरीले झडपका समयमा बाहिर निस्किसकेको र बुधबार बिहान मात्र यसबारे जानकारी पाएको बताए । उनले दुवै पक्ष सहमति नभएसम्म चुनावको मिति घोषणा गर्नु सम्भव नरहेको बताए । राप्रपा अध्यक्ष पशुपतिशमशेर जबरा र राजपा सहअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले सोमबार पार्टीको उद्घाटन सत्रलाई सम्बोधन गरेका थिए । दुवै पक्षलाई मिलाएर नयाँ नेतृत्व गठन गर्ने प्रयास असम्भव भएपछि दुवै नेता सोही दिन साँझ फर्केका थिए ।

प्रतिक्रिया