दुई रंगका सिलिन्डरको फारम वितरण

२० मंसिर । खाना पकाउने एलपी ग्यासका दुई रंगका सिलिन्डर कार्यान्वयनमा ल्याउने/नल्याउनेबारे व्यवसायी र सरकारबीच विवाद भइरहेका बेला पोखरामा दुई रंगका सिलिन्डरका लागि फारम वितरण सुरु भएको छ ।
वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव लालमणि जोशीले व्यवसायीलाई ग्यास उपभोक्ता कार्ड दर्खास्त फारम वितरण गरेका हुन्  । व्यावसायिक प्रयोजनका लागि नीलो र सर्वसाधारणका लागि रातो रंगको सिलिन्डर बजारमा ल्याउन सरकारले यसअघि नै आयल निगमलगायत सम्बन्धित निकायलाई निर्देशन दिएको थियो । व्यवसायीले दुई रंगका सिलिन्डर कार्यान्वयनमा नल्याए सरकार कडा रूपमा प्रस्तुत हुने जोशीले बताए । सरकारको नेतृत्वमा जो आए पनि यो प्रक्रिया नरोकिने उनले बताए । दुई रंगको सिलिन्डर पूर्ण रूपमा कार्यान्वयनमा आएपछि मात्र अनुगमनको काम अघि बढाउने उनले बताए ।
सरकारले अहिले ६ सय २० रुपियाँ प्रतिसिलिन्डर घाटा खाएर बिक्री गर्दा ८० करोड रुपियाँ घाटा बेहोर्नुपर्ने बताएको छ । यो कार्ड वितरणपछि सरकारको घाटा कम हुने र सर्वसाधारणले पनि सहज रूपले ग्यास पाउने सचिव जोशीले बताए । नेपाल आयल निगमका कायम मुकायम निर्देशक सुरेशकुमार अग्रवालले अहिले नेपालमा पानी पछिको सस्तो बस्तु एलपी ग्यास नै भएको बताए । एलपी ग्यासमा सरकारले घाटा खाएर बेच्दा अन्य वस्तुमा सरकारको अवस्था के होला भन्दै उनले उपभोक्ताको लागि खाना पकाउने एलपी ग्यास प्रतिलिटर ५६ रुपियाँ पर्ने बताए । वर्षमा एक खर्बको कारोबार हुने गरेको पनि उनले बताए । नेपालमा ग्यास उत्पादन नहुने भएकाले विदेशबाट ल्याएको ग्यासलाई पनि समानुपातिक मूल्यमा वितरण गर्दा कुनैबेला अभाव भएको स्विकार्दै अग्रवालले उपभोक्ता कार्ड प्रयोग गरे व्यवशायी र उपभोक्त दुवैलाई फाइदा हुनेमा जोड दिए ।
पोखरामा मात्रै मासिक ६० हजार सिलिन्डर ग्यास खपत हुने ग्यास बिक्रेता महासंघ कास्कीले जनाएको छ । ग्यास बिक्रेता महासंघ कास्कीका अध्यक्ष नारायण कोइरालाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासंघका केन्द्रीय अध्यक्ष ज्ञानेश्वर अधिकारी, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष सञ्जीवबहादुर कोइराला, उपभोक्त मञ्च कास्की अध्यक्ष कपिलनाथ कोइराला, व्यवसायी सुवर्ण कोइराला, संयोजक बालकृष्ण कोइरालालगायतले ग्यासबारे धारणा राखेका थिए ।

प्रतिक्रिया