४ करोड ६० लाख बराबरको सुन बरामद

काभ्रे, १९ मंसिर । चीनको खासाबाट तस्करी गरेर ल्याउँदै गरेको ठूलो परिमाणको सुन जिल्ला प्रहरी कार्यालय काभ्रेले बरामद गरेको छ ।
वा २ ख २८२५ नम्वरको कन्टेनर भ्यानमा लुकाएर ल्याइएको ९ किलो सुन चेकिङका क्रममा आज बिहान ४ बजे धुलिखेलबाट बरामद गरिएको हो । प्रहरीले भ्यानका चालक सिन्धुपाल्चोकको तातोपानी–४ का ४६ बर्षीय सेते तामाङ र भ्यानलाई नियन्त्रणमा लिएको छ ।
भ्यानको चालक बस्ने सिट अगाडिको सिसा अड्याउन जोडिएको टिनको पातामाथि लुकाएर सुन ल्याइएको प्रहरीले जनाएको छ । सुनमा विभिन्न चारवटा कम्पनीको लोगो रहेका छन् । सुन कस्को हो भन्ने खुलेको छैन ।
बरामद सुनको बजार मूल्य ४ करोड ६० लाख २६ हजार रुपियाँ रहेको उप्रेतीले जानकारी दिइन् । पक्राउ परेका चालक तामाङले आफूलाई सुनको विषयमा केही जानकारी नभएको बताएका छन् ।
विशेष सुराकीको आधारमा सुन नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रमुख एसपी गीता उप्रेतीले जानकारी दिईन ।
पछिल्लो समय वैधानिकरुपमा सुनको आयात पर्याप्तमात्रामा हुन नसकेपछि व्यावसायीहरुले तस्करी गरेर ल्याउने गरेका छन् । चीनबाट तस्करी गरेर ल्याइएको सुन भारतमा समेत निकासी हुने गरेको छ ।
भ्यानमा गोठाटारमा रहेको सुप्रिया इन्टरनेशनले ल्याएका बालबालिकाको कपडा रहेका छन् । बरामद सुन र चालक तथा भ्यानलाई विमानस्थल भन्सारमा बुझाइने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया