बाबुराम हुँदैहुन्न : विपक्षी

काठमाडौ : सहमतिमा प्रधानमन्त्रीको नाम सिफारिस गर्न राष्ट्रपतिले दोस्रोपटक दिएको समय–सीमा सकिनै लाग्दा प्रधानमन्त्री बाबुराम भट्टराईलाई नै निरन्तरता दिने एमाओवादी र सत्तारूढ मोर्चाको निर्णयप्रति विपक्षी दलले आपत्ति जनाएका छन् । भट्टराई र वर्तमान सत्ता गठबन्धन दलको नेतृत्वमा सरकार स्वीकार गर्न नसक्ने उनीहरूको भनाइ छ ।
एमाले अध्यक्ष झलनाथ खनालले डा. बाबुराम भट्टराईको नेतृत्वमा सहमतिको नयाँ सरकार गठन हुन नसक्ने ठोकुवा गरे । आइतबार आफ्नो निवासमा सञ्चारकर्मीसँगको भेटमा अध्यक्ष खनालले राष्ट्रपतिको आह्वानअनुरूप सहमतिको सरकार गठन गर्न सरकार र एमाओवादी बाधक रहेको पनि दाबी गरे । उनले यो सरकारले नछाडेसम्म आफूहरूले भावी सरकारको नेतृत्वको नाम नदिने स्पष्ट पार्दै सरकारले छाडेपछि साझा नाम तत्कालै दिइने बताए ।
‘म फेरि पनि भन्छु बाबुराम भट्टराईको नेतृत्वमा सहमति हुनै सक्दैन, फेरि पनि हुँदैन, फेरि पनि हुन सक्दैन,’ उनले भने । राष्ट्रपतिले दिएको समय–सीमाभित्र सरकार गठनका लागि पनि एमाओवादीले अवरोध गरिरहेको उनको भनाइ थियो । ‘हामीले सहमति जुटाउन सक्दो प्रयत्न गरिरहेका छौँ, मैले पनि विभिन्न दलका नेतासँग टेलिफोनमा वार्ता गरिरहेको छु,’ उनले भने, ‘त्यति गर्दासमेत एमाओवादीले वार्ताका लागि कुनै पहलकदमी गरेन उसले सहमति हुन नदिने मनस्थिति बनाएको छ ।’
राष्ट्रपतिले समेत भट्टराईकै नेतृत्वमा सहमतिको सरकार बने सुनमा सुगन्ध हुन्छ भनी दिएको अभिव्यक्ति र भारतीय नेताको भ्रमणले ल्याएको फेरबदलप्रति इंगित प्रश्नमा खनालले विदेशी नेतालाई भेटेर बोली फेर्ने नेताबाट केही हुन नसक्ने प्रतिक्रिया दिए । ‘कुनै देशका नेता आउँदैमा यहाँका नेताले बोली फेर्छन् भने ती नेताबाट अब केही हुन सक्दैन,’ उनले भने ।
यस्तै, प्रतिपक्षी कांग्रेस र नेकपा माओवादीले भट्टराईको नेतृत्वमा सरकार गठन गर्न नसकिने बताएका छन् । आइतबार कांग्रेस सभापति सुशील कोइरालाको महाराजगन्जस्थित निवासमा बसेको दुई दलका शीर्ष नेताहरूको बैठकमा भट्टराई र उनको गठबन्धन दलका नेताको नेतृत्वमा सरकार बनाउन नसकिने निष्कर्ष निकालिएको हो ।
‘बाबुराम भट्टराई मात्र होइन, वर्तमान सत्ता गठबन्धनभित्रबाट नेतृत्व हुने कुरा कांग्रेस र नेकपा–माओवादीलाई स्वीकार्य छैन भन्ने सहमति भयो,’ माओवादी प्रवक्ता पम्फा भुसालले भनिन्, ‘राष्ट्रियतामाथि उत्पन्न संकट र मुलुकको राजनीतिक संकट समाधानका लागि बाबुराम भट्टराईले छाड्नुपर्छ अनि मात्र प्रधानमन्त्री चयन गर्ने विषयमा छलफल गर्न सकिन्छ ।’
संवैधानिक र राजनीतिक हैसियत गुमाइसकेको र संविधानसभा विघटन गराउन भूमिका खेलेको व्यक्ति र सरकारलाई कुनै पनि हालतमा स्वीकार गर्न नसकिने दुई दलको निष्कर्ष रहेको थियो । ‘बाबुरामजीको सरकारले संवैधानिक र राजनीतिक हैसियत गुमाइसकेको छ,’ कांग्रेस नेता अर्जुननरसिंह केसीले सौर्यसँग भने, ‘बाबुराम भट्टराईको नेतृत्वमा सरकार गठन गर्ने कुरा किमार्थ स्वीकार गर्न सकिँदैन ।’

प्रतिक्रिया