नौ वर्षीयाले एकै दिन कमाइन ८० लाख

सुन्दा अचम्म लाग्न सक्छ कि एउटी नौ वर्षीया बालिकाले आफ्नो ब्लगबाट २४ घण्टाभित्र झन्डै असी लाख रुपियाँ कमाएकी छिन् । स्कटल्यान्डकी ती बालिकाले आफ्नो विद्यालयमा दिने दिवाखाजाका विषयमा लेखेको ब्लगबाट सो रकम कमाएकी हुन् ।
मार्था पियन नाम गरेकी सो बालिकाले नियमित रूपमा ब्लग लेख्ने गरेकी छिन् । ब्लगमा लेखिएको सामाग्री ३० लाखभन्दा बढीले पढेर मन पराएका छन् । उनी ब्लगमा आफूहरूलाई विद्यालयमा दिइने खाजाको गुणस्तर तथा मात्रा र प्रकारलगायत विषयमा मनमा लागेका विभिन्न कुरा ब्लगमा लेख्ने गर्थिन् । उनको ब्लगले संचारमाध्यममा ठूलो स्थान पाउन थाल्यो, जसले गर्दा खाजाको स्तरका विषयमा पोल खुल्न थाल्यो । र, विद्यालय प्रशासनले उनीमाथि निगरानी राख्न थालेको थियो ।
हुँदाहुँदा उनको ब्लगलाई प्रतिबन्ध नै लगाइयो । यद्यपि, कडा विरोधपछि ब्लगमा लगाइएको प्रतिबन्ध फुकुवा भयो । अनि त ब्लग झनै चर्चित बन्यो । बालबालिकालाई सहयोग गर्ने एक च्यारिटी संस्थालाई सहयोगका लागि उनले ब्लग लेख्ने गरेकी थिइन् । जब, उनको विद्यालयलगायत विकासशील देशका चार हजार विद्यार्थीलाई खाजा खुवाउनका लागि आग्रह गरिएको उनको ब्लगबारे आममानिसले थाहा पाए, उनलाई आर्थिक सहयोग गर्नेको ओइरो नै लाग्यो । र, एकैदिनमा ३० हजार पाउन्ड रकम जम्मा भयो । नेभर सेकेन्ड डट ब्लगस्पट डटकम नामक उनको ब्लगबाट आर्थिक सहयोग जुटाउने अभियान चलिरहेकै छ । सहयोगबाट संकलित रकम विद्यार्थीलाई स्वस्थकर खाजा खुवाउने कार्यमा लगाइने बताइएको छ ।

प्रतिक्रिया