चम्सार्कीको निधन

लमजुङ, १८ मंसिर : घाटू, कृष्णचरित्र साथै सेर्का गायनका गुरु ७७ वर्षीय चम्सार्की गुरुङको निधन भएको छ । लमजुङको पर्यटकीय भुजुङ गाउँका स्थायी बासिन्दा ३ महिनादेखि बिरामीले ओछ्यानमा थला परेका थिए । ज्यान सुकेर पनि सबै सुन्निएका चम्सार्कीको शनिबार राति ९ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ । गुरुङ संस्कृतिको धरोहर मानिने घाँटू, कृष्णचरित्र, सेर्कालगायत पौराणिक गायनमा गुरु मानिने चम्सार्कीको निधन एउटा इतिहासको अन्त्य भएको एक स्थानीयले बताए ।
छोरी र ज्वाइँसँगै बस्दै आएका चम्सार्कीका ज्यान सुकेर हातपाखुरा, अनुहार, खुट्टा सबै सुनिए पनि उपचारका लागि कसैबाट सहयोग भने नमिलेको उनको परिवारले बताएको छ । आर्थिक अभावका कारण उनको उचित उपचार हुन सकेको थिएन । काठमाडौंदेखि पोखरा र वरपरका जिल्लामा समेत घाँटू, कृष्णचरित्र र सेर्का गाउने र नाच्ने उनले अनेक पटक गरेका छन् ।
सानै उमेरदेखि समाजमा कला, संस्कार र संस्कृति जगेर्नाका लागि जीवन आहूति दिएर लागिपरेका चम्सार्कीको निधनसँगै भुजुङ गाउँमा अर्को पुस्ताले घाँटू, कृष्णचरित्र साथै सेर्काको गीत गाउनुपर्ने अवस्था सिर्जना भएको छ । (सौस)

प्रतिक्रिया