आत्महत्या गर्नेमा महिला बढी

कैलाली, १७ मंसिर । एक वर्षमा कैलालीमा २ सय ७६ ले आत्महत्या गरेका छन् ।
मानसिक तनाव तथा घरायसी कलहका कारण पछिल्लो समय आत्महत्या गर्नेको संख्या बढेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार आर्थिक वर्ष ०६८/६९ मा आत्महत्या गर्ने २ सय ४ थिए । गएको चार महिनायता मात्रै जिल्लामा ७२ ले आत्महत्या गरेको प्रहरी कार्यालयले जनाएको छ । औसतमा आत्महत्या गर्नेमा बढी महिला छन् । चार महिनायता आत्महत्या गर्नेमा पनि अधिकांश महिला छन् । यो अवधिमा ५१ महिलाले आत्महत्या गरेका छन् ।
मानसिक तनाव, घरायसी विवाद, हिंसाका कारण आत्महत्या गर्नेको संख्यामा वृद्धि भएको
प्रहरीको भनाइ छ । घरायसी झगडा र हिंसाका कारण आत्महत्या गर्नेमा महिला बढी छन् । आत्महत्या गर्नेहरूले झुन्डिएर र विष सेवन गरेर ज्यान फालेका छन् ।
आव ०६८/६९ मा आत्महत्या गर्नेमध्ये एक सय २७ ले झुन्डिएर, ७५ ले विष सेवन गरेर र दुईले आगो लगाएर आत्महत्या गरेको इन्स्पेक्टर सुदामसिंह रावलले बताए । चालु आर्थिक वर्षको चार महिनामा आत्महत्या गर्नेमध्ये ३४ ले झुन्डिएर र २८ ले विष सेवन गरेर आत्महत्या गरेका थिए ।

प्रतिक्रिया