विपन्नता पनि उपहार हो

सन् २००८ को बेइजिङ ओलम्पिकमा उसान बोल्टले स्प्रिन्ट डबलको सफलता पाएपछि दुई आँैला उठाएर अभिवादन गरे । धेरैले यसलाई असभ्यताको पराकाष्ठा माने । उनले पछि भने दुई औँलाको अर्थ, ‘संसारले हाम्रो पुर्खालाई दुई सय वर्ष दास बनाएर राख्यो । यसै दास प्रथाले हामीलाई यत्ति धेरै क्षमता दियो कि सायद हामी कोहीसँग पनि हार्न तयार हँुदैनाँै ।’
कुरा विश्व खेलकुदमा अश्वेत दबदबाको मात्र होइन । ६ दशक पहिले राणा/बाबुसाहेबको मनोरञ्जनको विषय मात्र बन्ने गरेको नेपाली खेलकुद ६ दशक यता आउँद यसमा सान राख्ने काम संघर्षशील जीवन बिताउने गरेका निम्नमध्यम तथा निम्नवर्गीय पारिवारिक वातावरण हुनेले मात्र गरे ।
एथलेटिक्समा दोलखा मकैबारीका जितबहादुर केसीले पहिलो अन्तर्राष्ट्रिय पदक जितेको तीन दशकपछि प्राय: खेलमा यस्तै संघर्षशील विगत हुनेको प्रभाव रह्यो । जुडोमा गलँैचा मजदुरकी छोरी सुनिता थापा मगर स्टार भइसक्दा पाँचथरबाट झापा आउन त्यत्तिकै संघर्ष गरेकी भलिबल खेलाडी कोपिल उप्रेतीको प्रभाव कम भएन । यी संघर्षशील जीवन बिताउनेहरूकै उत्कृष्टताले भौतिक दुखसँग संघर्ष गर्न जोकोहीलाई प्रेरणा मिल्ने छ ।


सुनिता एसियाली युथ च्याम्पियनसिपको कांस्यपदक विजेता हुनुका साथै आफ्नो तौल समूहको राष्ट्रिय विजेता पनि हुन् । यसैगरी, कोपिला महिला राष्ट्रिय च्याम्पियन नेपाल पुलिस क्लब टोलीकी महत्त्वपूर्ण खेलाडी तथा राष्ट्रिय च्याम्पियनसिपकी पनि उत्कृष्ट खेलाडी । संघर्षशील जीवन बिताउँदै खेलाडी भएकी कोपिलाकै ठहर छ– ‘हामीसँग रहेको राष्ट्रिय खेलाडीको ट्याग पैसा र पहुँचको भारमा जो कोहीले पाउने हो र ?’
पहुँचको आधारमा चल्ने, केही ठालु भनाउँदाले समाजमा जबर्जस्ती ‘मेरिट सिस्टम’ लाई आफ्नो अनुकूल लाद्ने गरेका, तर नेपाली समाजमा पहुँच नहुनेका लागि खेलकुद नै सबैभन्दा उपयुक्त क्षेत्र भएको यिनै खेलाडीले पुष्टि गरेका छन् । टोलीकी पाकी खेलाडीमध्येकी कोपिलाको पछिल्लो एक वर्षको फर्मले फेरि एकपटक पुष्टि गरेको छ– ‘उनको संघर्षशील जीवन कुनै पनि समय मिहिनेत गर्न पछिल्लो पुस्ताको समेत प्रेरणको स्रोत हो ।
कठोर संघर्षपछि राष्ट्रिय नायक हुनेको शृंखलामा यसपटकको चर्चा टेनिस स्टार जितेन्द्र परियारको छ । नेपाल टेनिस संघका अध्यक्ष मनोज राणाले एकपटक दाबी गरे– ‘विपन्नका लागि कम्युनिस्ट मेनेफोस्टो पढाउनुभन्दा खेलकुदमा लगाउन ठिक ।’ उनको यो तर्कको कारण थियो– ‘कम्युनिस्ट घोषणापत्र भनेको विपन्नलाई समान बनाउने हो । हाम्रो खेलले समान होइन समृद्ध बनाउने गरेको छ ।’
त्रिपुरेश्वरको पाटीमा हुर्केका जितेन्द्रले केही महिनाअघि केन्यामा गएर तीन महिना प्रशिक्षण दिए । उनले त्यहाँ एउटै बालकलाई सिकाए पनि उनले जितेन्द्रलाई मासिक १ हजार डलर पारिश्रामिक दिन्थे । अनमिनमा जागिरे सिगी सिगरसन नेपाल आउँदा जितेन्द्रबाट प्रभावित भएका थिए । जितेन्द्रले सिगीका छोरा इगल सिगरसनलाई नेपालमै टेनिस सिकाएका थिए । उनी केन्या फर्केपछि जितेन्द्रलाई त्यहाँ बोलाए । सायद प्रशिक्षकको रूपमा मासिक एक हजार डलर नेपालको धेरै पारिश्रामिक पनि हो । राणाको भनाइलाई जितेन्द्रको यसै पारिश्रामिकले पनि पुष्टि गरेको छ । प्रशिक्षक कोर्षका रूपमा टेनिसकै माथिल्लो पिटिआर कोर्ष गरेका चार नेपाली प्रशिक्षकमध्ये जितेन्द्र एक हुन् ।
पूर्वराष्ट्रिय विजेता तथा हालका उपविजेता जितेन्द्र बल ब्वाइका रूपमा यो क्षेत्रमा प्रवेश गरेका थिए । त्रिपुरेश्वरमै बस्ने राजेश क्षत्री र राष्ट्रिय च्याम्पियन भइसकेका श्रीराम थापाका साथमा सानु गुरुङको सहयोगमा उनी टेनिसमा प्रवेश गरका हुन् । यो कुरा सन् १९९५/९६ तिरको हो । पछि सन् १९९८ मा उनी नेपाली टेनिसमा प्राय: चिनिने नाम भइसकेका छन् । पछिल्लो केही समय उनको र कुमार अधिकारीकै नेपाली टेनिसमा राज छ । यी दुईमा एक पहिलो र अर्को दोस्रो । संयोग कुमार पनि बल ब्वाईबाटै टेनिस खेलाडी बनेका हुन् ।
नेपाली समाज जहाँ पहँुचकै आधारमा धेरै कुराको निर्धारण हुन्छ, त्यहाँ एउटा पाटीमा हुर्केको व्यक्ति राष्ट्रिय स्टार हुनु पक्कै चानचुने होइन । प्रशिक्षकका रूपमा उनले विभूति श्रेष्ठलाई अहिले पनि प्रशिक्षण दिन्छन् भने अष्लेषा लिसानाबिच, मायाका राणालगायत नाम चलेका खेलाडीलाई प्रशिक्षण दिइसकेका छन् ।
‘त्रिपुरेश्वरबाट सानेपाको घर, देश/विदेशको भ्रमण र सबै व्यवस्थित घर, यी सबै मलाई टेनिसले नै दिएको हो, दाजु दीपेन्द्र परियार विदेशमा छन् ।’ भने बहिनी दीपिकाको स्नातकसम्मको अध्ययन यी सबैमा टेनिसकै कारण सहज भएको उनी स्विकार्छन् । ‘एउटा कुरा भने निश्चित हो, पहँुचकै भरमा चल्ने नेपाली समाजमा एउटा समान्य परिवारमा जितेन्द्र राष्ट्रिय च्याम्पियन र प्रभावकारी प्रशिक्षक भए । उनी अन्य खेलबाहेक अन्य कुनै पनि क्षेत्रमा लागेको भए सायद स्टार हुँदैनथे ।
२० वर्षअघि फर्केर फेरि उनी भन्छन्, ‘हो अलि असहज वातावरणमा नै हुर्केको हुँ । केही दु:ख पनि भयो । त्यो दु:खकै कारण ममा लगातार मिहिनेत गर्न सक्ने क्षमता छ । हरेक दिन केही नयाँ कुरा जान्ने चाहना छ ।’ सायद यो दु:खदायी विगत उनका लागि एउटा उपहार हो । यसै कारण हो उनी लगातार मिहिनेत गर्ने क्षमता राख्छन् । खेलकुदको दुनियाँमा बारम्बार पुष्टि भएको कुरा उनी दोहर्‍याउँदै भन्छ्न्, ‘खेलकुद क्षेत्रमा विपन्नता एउटा उपहार पनि हो जसले हामीमा लगातार मिहिनेत गर्ने धीरता दिएको छ ।’

प्रतिक्रिया