मनीषालाई क्यान्सरको हल्ला

मुम्बई :अभिनेत्री मनीषा कोइरालालाई क्यान्सरको लक्षण देखिएको भारतीय  सञ्चारमाध्यमले दाबी गरेका छन् । उनलाई मुम्बईको जसलोक अस्पतालमा भर्ना गरिएको समाचार भारतीय अंग्रेजी दैनिक ‘टाइम्स अफ इन्डिया’को अनलाइन संस्करणले प्रसारित गरेको छ । केही दिनअघि काठमाडौंमै रहँदा मनीषालाई पेटसम्बन्धी समस्या देखापरको थियो । त्यसपछि उनलाई थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । नर्भिकमा स्थितिमा विशेष सुधार नदेखिएकाले दुई दिनअघि मात्र मुम्बई लगिएको थियो ।
गत कात्तिकदेखि काठमाडौंमा रहँदै आएकी मनीषा अचानक नियमित रूपले बेहोस भइरहन थालेपछि थप उपचारका लागि मुम्बई लगिएको थियो । मनीषाकी आमा सुषमा उनीसँगै मुम्बई गएकी छिन् । बाबु प्रकाश र भाइ सिद्धार्थ पनि मनीषालाई हेर्न जसलोक अस्पताल पुगेका छन् ।
नेपाली राजनीतिका सर्वाधिक चर्चित व्यक्तित्व विश्वेश्वरप्रसाद कोइरालाकी नातिनी मनीषा मात्र होइन, उनको पूरै परिवार क्यान्सरले प्रभावित हुँदै आएको छ । पिता कृष्णप्रसादकी तेस्री तथा कान्छी श्रीमती दिव्याको कोखबाट जन्मिएका बिपी, केशव र तारिणीप्रसाद तीनैजनाको क्यान्सरबाट मृत्यु भएको थियो । पूर्वप्रधानमन्त्री गिरजाप्रसाद कोइरालाको पनि क्यान्सरकै कारण मृत्यु भएको हो । तारिणीकी छोरी कल्पनाको पनि क्यान्सरबाट मृत्यु भएको थियो । ‘कोइराला परिवारमा क्यान्सर वंशानुगत रोग बन्यो । बिपीलाई क्यान्सर भयो, तारिणी बुबालाई क्यान्सर भयो, केशव बुबालाई क्यान्सर भयो,’ बिपीपुत्र श्रीहर्षले केहीअघि भनेका थिए ।
गिरिजाप्रसादका पिता कृष्णप्रसादले दोस्रो विवाह गरेकी धादिङकी मोहनकुमारीका सन्तानको भने प्राय: दिमागको रोगबाट मृत्यु भएको थियो । उनका छोरा मातृकाप्रसाद र दुई नातिको मस्तिष्कको रोगले मृत्यु भएको थियो । त्यस्तै, मोहनकुमारीकी नातिनी शैलजाको पनि पछिल्लो समयमा मस्तिष्कमै समस्या देखिएको थियो । मातृकाका छोरा विमल र सञ्जयको पनि निधन भइसकेको छ । मनीषाले नेपाली चलचित्र ‘फेरि भेटौँला’ र ‘धर्मा’मा अभिनय गरेकी छन् भने बलिउडका ‘सौदागर’, ‘लज्जा’, ‘१९४२ अ लभ स्टोरी’लगायत थुप्रै चलचित्रमा अभिनय गरेकी छन् । (एजेन्सी)

प्रतिक्रिया