टेलिघनत्व बढ्यो

काठमाडौं : दूरसञ्चार सेवाप्रदायक कम्पनीले तीव्र रूपमा सेवा विस्तार गरेपछि टेलिघनत्व बढेको छ । मोबाइलमा सहज पहुँच भएपछि टेलिघनत्व बढेको हो । नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार अहिले देशमा टेलिघनत्व ६७ दशमलव १५ प्रतिशत पुगेको छ । ल्यान्डलाइन, मोबाइल तथा अन्य प्रविधिका गरी मुलुकभर एक करोड ७७ लाख ९७ हजार एक सय ५३ टेलिफोन प्रयोगकर्ता पुगेका छन् ।
कुल टेलिफोन प्रयोगकर्तामध्ये सबैभन्दा बढी जिएसएम मोबाइलका छन् । प्रत्येक सयमध्ये ६० जनामा मोबाइल सेवाको पहुँच पुगेको छ । विभिन्न कम्पनीले जिएसएम र सिडिएमए प्रविधिका गरी एक करोड ९८ लाख १० हजार सिमकार्ड बाँडिसकेका छन् । सबैभन्दा बढी मोबाइल प्रयोगकर्ता निजी कम्पनी एनसेलका छन् । प्राधिकरणको तथ्यांकअनुसार एनसेलका ग्राहक ८६ लाख नाँघेका छन् । यो संख्या अहिलेसम्म कम्पनीले बाँडेको सिमकार्डका आधारमा हो । यसमध्ये कति सिमकार्ड निष्क्रिय छन् भन्ने तथ्यांक छैन । नेपाल टेलिकमका भने ७२ लाख मोबाइल प्रयोगकर्ता छन् । यसमध्ये ६३ लाख ७४ हजार जिएसएमका हुन् भने सिडिएमएका ग्राहक आठ लाख ३२ हजार छन् । पिएसटिएन र डब्लुएलएल प्रविधिको टेलिफोन प्रयोगकर्ता सात लाख ५६ हजार छन् । टेलिकमका कुल ग्राहकको संख्या ७९ लाख ६४  हजार पुगेका छन् ।
मुलुकभर इन्टरनेट प्रयोगकर्ताको संख्या भने ५१ लाख ९२ हजार पुगेको छ । यो कुल जनसंख्याको करिब २ प्रतिशत हो । इन्टरनेट प्रयोगकर्तामध्ये सबैभन्दा बढी मोबाइलमा चलाउन मिल्ने जिपिआरएसका छन् । ५१ लाखमध्ये ४८ लाख जिपिआरएस प्रयोगकर्ता छन् । अन्य प्रयोगकर्ता एडिएसएल, वाइफाई तथा डायलअपका हुन् । प्रभावकारी रूपमा सेवा विस्तार गर्न नसक्दा टेलिकमले बजार हिस्सा गुमाउँदै जान थालेको छ । इन्टरनेट प्रयोगकर्तामा पनि एनसेलले टेलिकमलाई उछिनेको छ । (सौस)

प्रतिक्रिया