एमाओवादीले नेतृत्व नछाड्ने

काठमाडौं, १३ मंसिर । एकीकृत माओवादीले सरकारको नेतृत्व नछाड्ने अडान लिएको छ । वर्तमान सरकारलाई नै राष्ट्रिय सहमतिको सरकारको स्वरूप दिनुपर्ने भन्दै उसले त्यो सम्भव नभए सत्ता गठबन्धन दलबाटै सहमतीय प्रधानमन्त्री बनाइनुपर्ने निर्णय गरेको छ ।
एमाओवादी अध्यक्ष प्रचण्ड निवास लाजिम्पाटमा मंगलबार बसेको पदाधिकारी र ब्युरो इन्चार्जहरूको संयुक्त बैठकले विपक्षी दलको नेतृत्वमा बन्ने चुनावी सरकार नमान्ने निष्कर्ष निकालेको हो । बैठकले कांग्रेस वा एमालेको सहमतीय सरकार स्वीकार्य हुन नसक्ने भन्दै यही सरकारलाई राष्ट्रिय स्वरूप दिने गरी सहमति जुटाउन लाग्नुपर्ने निर्णय गरेको छ ।
‘सबैभन्दा ठूलो दल एमाओवादी भएकाले राष्ट्रिय सहमति पनि एमाओवादीकै नेतृत्वमा हुनुपर्छ भन्ने हो,’ बैठकमा सहभागी एक स्थायी समितिका नेताले भने, ‘त्यसका लागि एमाओवादी खुला दिलका साथ छलफल गर्न तयार छ ।’ बैठकले भट्टराईकै नेतृत्वमा सहमतीय सरकार बने जिम्मेवारीमा हदैसम्म लचकता अपनाउने पनि निर्णय गरेको छ ।
बैठकपछि पार्टी प्रवक्ता अग्नि सापकोटाले भने, ‘ठूलो दल र अहिले सरकारको नेतृत्व गरिरहेका नाताले बाबुरामजीकै नेतृत्वमा राष्ट्रिय सरकार गठन हुनुपर्छ भन्ने बैठकले निर्णय गरेको छ । पहिलो विकल्प बाबुरामजी नै हो,’ उनले थपे, ‘अन्य विकल्पका लागि पनि हामी खुला छौँ तर त्यो संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनभित्रैबाट हुनुपर्छ ।’
अहिले बन्ने सरकार चुनावी सरकार भएकाले कुनै पनि हालतमा नेतृत्व परिवर्तन गर्नु नहुने जिकिर गर्दै बैठकमा सहभागी नेताहरूले नेतृत्व परिवर्तन गर्नुपर्ने अवस्था आएमा एमाओवादीकै शीर्ष नेताले गर्नुपर्ने प्रस्ताव राखेका थिए । एमाओवादीका एक वरिष्ठ नेताका अनुसार सत्ता गठबन्धनबाटै नयाँ प्रधानमन्त्री बन्ने अवस्था आएमा अध्यक्ष दाहाल नै पहिलो उम्मेदवार बन्नेछन् । ती नेताले भने, ‘तर, अहिले नै त्यस्तो परिस्थिति नआएकाले एमाओवादीले बाबुरामबाहेक प्रधानमन्त्रीका रूपमा अरूको नाम सार्वजनिक गरेको छैन ।’ तर, प्रचण्डले आन्तरिक रूपमा आफ्नो तयारी अघि बढाएका छन् । उनले, भट्टराईको विकल्पका रूपमा आफूलाई अघि सार्दै अन्य दलहरूको धारणा बुझ्ने अभियानमा छन् । प्रचण्डनिकट एक नेताका अनुसार सबैसँगको छलफलपछि मात्र अध्यक्ष प्रचण्डले आफ्नो र पार्टीको धारणा सार्वजनिक गर्नेछन् ।
पोलिटब्युरो सदस्य शक्तिबहादुर बस्नेतले एमाले–कांग्रेसले एमाओवादी नेतृत्वमा सरकार बन्नै नसक्ने अडान लिएपछि उनीहरूको नेतृत्वलाई पनि स्विकार्न नसक्ने स्पष्ट पारे । उनले भने, ‘यही सरकारलाई नै निरन्तरता दिएर राष्ट्रिय सहमतिकै सरकार बनाउँm, होइन भने सत्ता गठबन्धनबाटै अर्को कुनै व्यक्तिलाई प्रधानमन्त्री बनाउँm भन्ने हो । नयाँ व्यक्तिको नेतृत्वमा सरकार बन्नुपर्ने अवस्था आएमा पुन: एमाओवादी शीर्ष नेताले गर्न सक्छन् ।’
स्रोतका अनुसार पार्टीले भट्टराईको विकल्पमा अध्यक्षलाई अघि सार्ने पनि प्राय: निश्चित गरेको छ । स्रोतले भन्यो, ‘बैठकमा यस विषयमा कुरा भएको छैन तर भट्टराईको विकल्पमा अध्यक्ष कमरेड अघि आउनुहुन्छ ।’ तर, यसबारेमा अहिले गोप्य राख्ने र बाबुरामकै नाम अघि बढाउने पनि शीर्ष नेताहरूबीच सहमति भएको छ । नेता बस्नेतले भने यसबारेमा अहिले खासै छलफल नभएको प्रतिक्रिया दिए ।
बैठकमा सहभागी एमाओवादी स्थायी समिति सदस्य लीलामणि
पोखरेलले कांग्रेसले जनताका हितमा संविधान बनाउने प्रतिबद्धता नजनाएकाले उसको नेतृत्वमा बन्ने सरकार स्विकार्न नसक्ने निर्णय गरेको बताए । उनले भने, ‘जनताले चाहेको संविधान बनाउनका लागि एमाओवादीकै नेतृत्वमा सहमतीय सरकार बन्नुपर्छ ।’ संसद्ले वैधानिक रूपबाट चुनेको तथा संविधानसभाको अर्को चुनावको मितिसमेत घोषणा गरिसकेकाले वर्तमान सरकारको विकल्प अरू हुन नसक्ने उनको भनाइ छ । उनले राष्ट्रपतिको कदमलाई लिएर देखिएको मतभेदबारे समेत बैठकमा छलफल भएको जानकारी दिए । पोखरेलले भने, ‘बैठकमा पार्टीका सबै नेताहरूबीच विश्वासको वातावरण बनाउने काम भयो ।’
बैठक बस्नुअघि अध्यक्ष दाहालले राष्ट्रपति डा. रामवरण यादवसँग भेट गरी दलहरूबीच राष्ट्रिय सहमति बन्ने सम्भावना तत्काल नदेखिएकाले बाबुराम नेतृत्वको सरकारलाई नै निरन्तरता दिनुपर्ने प्रस्ताव राखेका थिए । उनले राष्ट्रपतिबाट तोकिएको समयमा दलहरूबीच सहमति हुने सम्भावना नरहेकाले सहमतिका लागि अझै केही दिन थप्न पनि आग्रह गरेका थिए । सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले आफूलाई दलीय सहमतिका लागि पहल गर्न राष्ट्रपतिले आग्रह गरेको जानकारी दिएका थिए ।

प्रतिक्रिया