प्रधानमन्त्रीको दौडमा नलाग्न सुझाव

काठमाडौं, १३ मंसिर । एमाले पोलिटब्युरो सदस्यहरूले पार्टीलाई नयाँ सरकारको नेतृत्व दाबी नगर्न सुझाव दिएका छन् । पार्टी मुख्यालय बल्खुमा मंगलबार सुरु पोलिटब्युरो बैठकमा बोल्ने नेताहरूले सहमतिको सरकार गठनका लागि राष्ट्रपतिले गरेको आह्वान सकारात्मक भएको टिप्पणी गर्दै पार्टी नेतृत्वलाई यस्तो सुझाव दिएका हुन् । उनीहरूले सहमतीय सरकार गठन गरी नयाँ चुनावमार्फत संविधान निर्माण सुनिश्चित गर्ने बाटोमा अघि बढ्न पनि सुझाव दिए ।
विकसित राजनीतिक परिस्थितिबारे छलफल गर्न एमालेको पोलिटब्युरो बैठक बसेको हो । मंगलबारको बैठकमा समसामयिक राजनीतिक परिस्थितिबारे प्रस्ताव पेस गर्दै अध्यक्ष झलनाथ खनालले अवरुद्ध राजनीतिक र संवैधानिक प्रक्रियालाई निकास दिन राष्ट्रपतिले चालेको कदम सकारात्मक र स्वागतयोग्य भएको बताएका थिए । राष्ट्रपतिले दिएको समयसीमामै सहमति कायम गरी सरकार गठन गर्ने, सहमतिको सरकारमार्फत संवैधानिक बाधा फुकाएर नयाँ चुनावमा जाने र संविधानसभामार्फत संविधान निर्माणमा लाग्नुपर्ने विषय खनालले प्रस्तावमा उल्लेख गरेका छन् ।
खनालले बैठकमा प्रस्तुत गरेको प्रस्तावमा राष्ट्रपतिले सरकार गठन गर्न संवैधानिक प्रावधानअनुरूप गरेको आह्वानमा मन्त्रिपरिषद्को निर्णयका नाममा प्रधानमन्त्रीले राष्ट्रपतिलाई दिएको पत्रलाई सर्वसत्तावादी कदम भन्दै भत्र्सना गरिएको छ । ‘राष्ट्रपतिले राजनीतिक निकासका लागि सहमतिमा प्रधानमन्त्रीको नाम सिफरिस गर्न गर्नुभएको आह्वान सकारात्मक र स्वागतयोग्य छ । यसले राजनीतिक निकासको ढोका खोलेको छ,’ प्रस्तावबारे जानकारी दिँदै पोलिटब्युरो सदस्य रघुजी पन्तले सौर्यसँग भने, ‘राष्ट्रपतिको आह्वानविरुद्ध क्याबिनेटको निर्णयका नाममा प्रधानमन्त्रीले राष्ट्रपतिलाई बुझाएको पत्र सर्वसत्तावादी कदम हो, त्यसको भत्र्सना गर्नुपर्छ ।’
खनालले प्रस्तावमा संविधान निर्माण सुनिश्चित गर्न नयाँ चुनावमै जानुपर्ने उल्लेख गरेका छन् र त्यसका लागि सहमतिको सरकार अपरिहार्य भएको बताएका छन् । खनालले पेस गरेको समसामयिक राजनीतिक प्रस्तावमाथि पोलिटब्युरो सदस्यहरूले सुझाव दिएका थिए । मंगलबारको बैठकमा बोल्ने अधिकांश नेताले नयाँ सरकारको नेतृत्वका लागि पार्टीले दाबी पेस नगर्ने तर सहमतीय सरकार गठनका लागि राजनीतिक पहलकदमी अघि बढाउनुपर्ने सुझाव दिएका थिए । ‘अब दलहरूबीच सहमति कायम गरी सरकार गठन गर्नुपर्छ र पार्टीको ध्यान संविधान निर्माणका मुद्दामा केन्द्रित गर्नुपर्छ,’ बैठकमा प्रस्तुत सुझाव उद्धृत गर्दै पन्तले भने, ‘सरकारको नेतृत्व दाबी गर्ने होडमा पार्टी लाग्नुहुँदैन ।’
बैठकमा पोलिटब्युरो सदस्यहरू अष्टलक्ष्मी शाक्य, रामचन्द्र झा, केशव बडाल, प्रकाश ज्वाला, काशीनाथ अधिकारीलगायतले प्रस्तावमाथि सुझाव पेस गरेका थिए । राजनीतिक प्रस्तावमाथि सदस्यहरूले बोल्ने क्रम सकिएपछि बुधबार बस्ने बैठकले समसामयिक राजनीतिक प्रस्ताव पारित गर्ने एमालेले जनाएको छ । बैठकले पार्टीको विधान संशोधनलगायतका लागि राष्ट्रिय प्रतिनिधि परिषद्को बैठक बोलाउने र केन्द्रीय कमिटीको आगामी बैठकको मिति तय गर्नेबारे पनि निर्णय लिने भएको छ ।
किरिया छाडेर वामदेव बैठकमा
आमाको किरियाकर्ममा घरमै रहेका एमाले उपाध्यक्ष वामदेव गौतम भैँसेपाटीस्थित घरमा क्रिया बसेको ठाउँबाट मंगलबारै निस्केर पोलिटब्युरो बैठकमा गएका थिए । गौतमकी आमाको निधन भएको मंगलबार चार दिन भएको थियो । स्वास्थ्योपचार गरी आइतबार मात्र भारतको नयाँदिल्लीबाट फर्केका वरिष्ठ नेता केपी शर्मा ओली पनि बैठकमा सहभागी थिए भने मुलुकबाहिर रहेकाले वरिष्ठ नेता माधवकुमार नेपाल बैठकमा सहभागी थिएनन् ।

प्रतिक्रिया