समस्या सल्टयाऊ नत्र हस्तक्षेप गर्छु : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या तीन दिनभित्र समाधान गर्न निर्देशन दिएका छन् ।
प्रतिष्ठानका कुलपतिसमेत रहेका प्रधानमन्त्री ले मंगलबार तत्काल समस्या हल गर्न सरोकारवाला सबैलाई निर्देशन दिएका हुन् । प्रधानमन्त्रीले समस्या हल नगरे सबैको छानबिन गरी दोषीलाई कारबाही गर्ने चेतावनी दिए । प्रतिष्ठानसहित अस्पतालको सेवा प्रभावित हुँदा सर्वसाधारणले सहज रूपमा स्वास्थ्य सेवा पाउन नसकेको भन्दै उनले मंगलबार प्रतिष्ठानका सबै पदाधिकारीलाई बोलाएर असन्तुष्टि जनाएका थिए ।
उनले वार्ताबाट समाधान खोज्न र नभए अन्य उपाय अपनाउन निर्देशन दिएको छलफलपछि प्रतिष्ठानका पदाधिकारीले बताए । छलफलमा सहभागीका अनुसार तीन दिनभित्र समस्या हल नगरे प्रधानमन्त्रीले हस्तक्षेप गर्ने चेतावनी पनि दिएका थिए ।
कम अनुभवी र क्षमता नभएका व्यक्तिलाई राजनीतिक आधारमा प्रतिष्ठानको जिम्मेवारी दिएको भन्दै प्रतिष्ठानका प्राध्यापक, चिकित्सक, विद्यार्थी तथा अन्य कर्मचारीले डेढ महिनादेखि आन्दोलन गर्दै आएका छन् । प्रतिष्ठानमा दक्ष व्यक्ति हुँदाहुँदै बाहिरबाट ल्याएर सरकारले उपकुलपति नियुक्त गरेको भन्दै उनीहरूले उपकुलपति डा. संगीता भण्डारीको राजीनामा माग गरेका छन् ।  (सौस)

प्रतिक्रिया