राजनीतिले बिगार्‍यो सामुदायिक विद्यालयको पढाइ

नेपालगन्ज, १२ मंसिर : बाँकेको सबैभन्दा ठूलो गाविस कोहलपुरमा असोज र कात्तिकभर निर्वाचनको माहोल तात्तियो । निर्वाचनपूर्व गरिएका प्रचार–प्रसार र तामझामले स्थानीय निकायको निर्वाचनको नै झझल्को दिन्थ्यो ।
तर, निर्वाचन गाविस अध्यक्ष चयन वा कसैलाई सांसद बनाउन नभई  विद्यालय व्यवस्थापन समितिका अध्यक्ष परिवर्तनका लागि मात्र थियो । राजनीतिक दलले आफ्ना प्रतिनिधि उम्मेदवारका रूपमा खडा गरेका थिए । उनीहरूले निर्वाचन अवधिमा स्थानीय निकायको निर्वाचनजस्तै पूर्वतयारी, प्रचार–प्रसार, आर्थिक खर्च, पार्टी परिचालन र जितपछि भोज आयोजना गरेका थिए ।
कोहलपुरस्थित त्रिभुवन उमावि व्यवस्थापनको निर्वाचन पनि राजनीतिक दलको स्थानीय चुनावभन्दा कम थिएन । निर्वाचनस्थल विद्यालयमा पुगेका नेपाली कांग्रेस कोहलपुर–४ का वडा समिति सदस्य केशव कँडेलले पार्टीका अमरबहादुर शाहीलाई जिताउन समर्थकलाई फोन गरेर मतदानका लागि बोलाए । चुनावमा दोस्रोपटक विजयी भएपछि शाहीले भोजसमेत गरे ।
त्रिभुवन उमाविको व्यवस्थापन समिति अध्यक्षका प्रतिद्वन्द्वी एमाले प्यानलका प्रदेशी थारूले चुनाव जित्न एमाओवादी, नेकपा–माओवादी र राप्रपा संयुक्त प्यानल बनाएर पाँचदिन प्रचार–प्रसार गरेका थिए । कोहलपुरमा मात्र नभई बाँकेका अन्य सरकारी विद्यालयमा पनि व्यवस्थापन समितिका अध्यक्ष परिवर्तनका लागि धमाधम निर्वाचन भइरहेका छन् ।
सम्बन्धित विद्यालयका विद्यार्थी र शिक्षकका लागि महत्त्व नभए पनि राजनीतिक दल र तिनका उम्मेदवारका लागि विद्यालय व्यवस्थापन समितिको निर्वाचन ‘पहुँच विस्तार’को थलो बनेको छ । आफ्ना उम्मेदवारलाई जिताउन साम, दाम, दण्ड, भेद प्रयोग गर्नसमेत पछि परेका छैनन् राजनीतिक दलहरू ।
नेपाल राष्ट्रिय प्राथमिक विद्यालय कोहलपुर खड्कबारमा भएको आपराधिक घटना पनि चुनावमै जोडिएको थियो । विद्यालयमा व्यवस्थापन समिति निर्वाचनको दुई दिनअघि १९ कात्तिकमा पम्पलेट च्यातेको भन्दै उर्मिला ओलीलाई स्थानीय नारायण डाँगीले कुटपिट गरेका थिए । चुनावी प्रचार–प्रसारका बेला टाँसिएको पर्चा च्यातिएको विषयमा कुटपिट भएको पीडित ओलीले बताइन् ।
विद्यालयलाई राजनीतिमुक्त र शान्तिक्षेत्र बनाउनुपर्ने आवाज उठिरहे पनि प्रयास भएको छैन । ‘विद्यालय नेता र केही ठूलाठालु व्यक्तिको पहुँच विस्तार गर्ने थलो बनेको छ,’ शिक्षक युनियन बाँकेका अध्यक्ष वामदेव शर्माले भने, ‘अध्यक्ष जित्न ठूलो धनराशि खर्च गर्छन् र पछि विद्यालयबाटै असुल्छन् ।’
आर्थिक लालच र बढ्दो राजनीतीकरणका कारण विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकबीच हुने विवादले सरकारी विद्यालय झगडाको मैदान मात्र नभई अपराधी खेल्ने ठाउँसम्म बन्न थालेका छन् । विद्यालयमा सरकारी तथा गैरसरकारी निकायबाट आएको बजेट आफूअनुकूल प्रयोग गर्न नपाउँदा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीबाट विद्यालयका शिक्षक र तिनका परिवारमाथि हत्या गराउनेसम्मका घटना भइरहेका छन् ।
दुई वर्षअघि नेपाल राष्ट्रिय प्रावि इन्द्रपुरका प्रधानाध्यापक सञ्जय द्विवेदीले छोरा गुमाउनुपर्‍यो । व्यवस्थापन समितिका अध्यक्ष सुरेश वर्मा र प्रधानाध्यापक द्विवेदीबीचको विवाद नै छोरा कपिल र उनका साथी लीलाधर भट्ट हत्याको मुख्य कारण बन्यो । पोसाक वितरणका लागि आएको रकम बाँडफाँड गर्न नमान्दा वर्माले रिसइबी साँध्न हत्या योजना बुनेको प्रहरी अनुसन्धानले देखाएको छ ।
‘व्यक्तिगत स्वार्थ पूरा गर्न विद्यालय व्यवस्थापन समितिका मान्छेहरू कुन हदसम्म जान सक्छन् भन्ने कुराको प्रमाण योभन्दा अरू के हुन सक्छ,’ लामो समय शिक्षण पेसामा आबद्ध नेपाल शिक्षक युनियन बाँकेमा पूर्व अध्यक्ष बलराम यादवले भने, ‘विद्यालयको पैसा दुरुपयोग गर्न नमान्दा हाम्रा साथीहरूले यस्तो नियति भोग्नु परिरहेको छ ।’
गत वर्ष मात्र बेतहनीको नेपाल राष्ट्रिय प्राविका प्रधानाध्यापक अहमद अलीलाई व्यवस्थापन समितिले विद्यालय प्रशासन राम्रोसँग नचलाएको आरोप लगाउँदै शिक्षा कार्यालयमा सरुवाको माग गर्‍यो । शिक्षा कार्यालयलाई विद्यालयको विवाद मिलाउन धौधौ परेको थियो ।
बेतहनीको जस्तै विवाद कोहलपुरको नेपाल राष्ट्रिय प्रावि खड्कबारमासमेत देखिएको थियो । व्यवस्थापन समितिले प्रधानाध्यापक दिनेश मण्डललाई अािर्थक अनियमितताको आरोप लगाउँदै सरुवाको माग गरेपछि विवाद चुलिएको थियो । प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षबीचको विवादका कारण विद्यालयको पठनपाठन अवरुद्ध भयो ।
प्राविसम्म विद्यालयको बंैक खाता सञ्चालन गर्न प्रधानाध्यापक र अध्यक्षको समझदारी चाहिन्छ । व्यवस्थापनले विद्यालयको निरीक्षणदेखि शिक्षकलाई दण्ड–सजाय दिनेसम्म अधिकार पाएको छ । यही अधिकारको दुरुपयोग गर्दै अध्यक्षले हैकमवाद लाद्न खोज्दा प्रधानाध्यापकसँग विवाद सिर्जना हुने गरेको शिक्षक युनियन बाँकेका पूर्वअध्यक्ष यादव बताउँछन् । ‘आर्थिक र राजनीतिक कारणले विद्यालयमा अनावश्यक विवाद सिर्जना भइरहेको छ,’ शिक्षा कार्यालय बाँकेका योजना अधिकृत मनप्रसाद रेग्मीले भने । उनका अनुसार शिक्षक र प्रधानाध्यापकसँगको व्यक्तिगत रिसइबी साँध्न अध्यक्षले व्यवस्थापनको सहारा लिने गरेका छन् । राजनीतिक दल मात्र नभई सामुदायिक विद्यालयमा राजनीतिक हस्तक्षेप बढाउन शिक्षकसमेत जिम्मेवार रहेको योजना अधिकृत रेग्मी बताउँछन् । ‘एउटा राजनीतिक दलको आडमा सरुवा, बढुवा खोज्ने शिक्षकले आफ्ना विद्यार्थीलाई कस्तो शिक्षा–दीक्षा देलान्,’ उनले भने ।

प्रतिक्रिया