चिनियाँ समृद्धि र नयाँ नेतृत्व

सन् २०१२ को नोभेम्बर महिना समकालीन विश्व राजनीतिमा दुई महत्त्वपूर्ण सुखद र सर्वाधिक चर्चित परिघटना भएका  छन् । विश्वको सर्वशक्तिमान राष्ट्र संयुक्त राज्य अमेरिकाको सर्वोच्च कार्यकारी प्रमुख राष्ट्रपतीय निर्वाचनमा बाराक ओबामा आगामी चार वर्षका लागि पुन: निर्वाचित भएका छन् । आफ्ना प्रतिस्पर्धीलाई झिनो मतान्तरले पराजित गरेका ओबामाको वर्तमान कार्यकाल अन्तिम हुनेछ । अमेरिकाको इतिहासमा अश्वेत त्यसमा पनि दोस्रो र अन्तिम पटक विश्वकै शक्तिशाली मानिने अमेरिकी राष्ट्रपतिको जिम्मेवारी ओबामाले पाए । विश्वव्यापी निकायहरू, विश्व अर्थव्यवस्था र अधिकांश मुलुकमा निर्वाध प्रभाव स्थापित गर्दै आएको अमेरिकाको निर्वाचनमा धेरै खाले अनुमान र जोडघटाउ भएका थिए । ओबामाको पुनरावृत्तिका कारण अमेरिकी नीति, कार्यदिशा र विश्वव्यापी विगतभन्दा खासै फरक नहुने अनुमान राजनीतिक विश्लेषकहरूको छ । त्यसै भएर होला, अमेरिकाको यो निर्वाचन परिणामपछि खासै चर्चाको उचाइमा रहेन । यदि, उनका प्रतिस्पर्धी मिचेलले निर्वाचन जितेको भए निर्वाचन चर्चा, अमेरिकी नीति र कार्यदिशालगायत विषयहरू बहुआयामिक र वर्तमानभन्दा निकै फरक हुन सक्थ्यो । अमेरिकी नागरिकले धेरै जोखिम लिन चाहेनन् र बढी यथास्थिति र कम परिवर्तनको बाटो रोजेका छन् । उनले कार्यभार सम्हालेपछि चर्चा र प्रभाव छिटै सामान्यीकरण भएको छ । यतिखेर विश्वको चर्चा र ध्यान सिधै दोस्रो महाशक्ति राष्ट्र चीनतिर मोडिएको छ ।
यसपटक संयोग परेको छ, नोभेम्बर महिनामा नै विश्वको दोस्रो शक्तिशाली राष्ट्र चीनमा त्यहाँको एक मात्र सत्तासीन पार्टी चिनियाँ कम्युनिस्ट पार्टीको अठारौँ महाधिवेशन सम्पन्न भएको छ । विश्वको सबैभन्दा ठूलो पार्टीको रूपमा रहेको उक्त पार्टीको महाधिवेशनले पार्टीको महासचिव र विश्वकै ठूलो सैन्यसंरचनाको प्रमुखमा सी जिनपिङलाई स्थापित गरेको छ । कुनै बेला सामन्ती शासन र औपनिवेशिक परिवेशबाट गुज्रिएको चीन क्रान्ति र परिवर्तनपछिको कुशल व्यवस्थापन र आर्थिक तथा सामाजिक समृद्धिको यात्राले आज विशाल र अपत्यारिलो सफलता हासिल गरिरहेको छ । ‘हाम्रो जनताको जीवनप्रतिको आकांक्षा छ । उनीहरू राम्रो शिक्षा, स्थायी काम, धेरै आम्दानी, राम्रो सामाजिक सुरक्षा, स्वास्थ्य, सुध्रिएको बसोबास र वातावरण चाहन्छन् । जनताको राम्रो जीवनको चाहना पूरा गर्ने हाम्रो लक्ष्य छ ।’ महासचिवमा निर्वाचित भएपछि आयोजित पत्रकार सम्मेलनमा सीका यो अभिव्यक्तिले चीनको नयाँ नेतृत्व परिपक्व र चिनियाँ महाअभियानमा दृढतापूर्वक अघि बढने तत्परताको पुष्टि गर्दछ ।
आज चिनियाँ कम्युनिस्ट पार्टीको सदस्य संख्या आठ करोड २० लाख पुगेको छ र छिट्टै नै त्यो संख्या साढे आठ करोडको हाराहारीमा पुग्दै छ । यति ठूलो पार्टीको नेतृत्व र संगठन व्यवस्थापन पक्कै सहज नहोला । दस वर्षमा नेतृत्वको अनिवार्य परिवर्तनको इतिहास चीनले अघि बढाएको छ । महाधिवेशनले नौ सदस्यीय स्थायी समितिमा सात जना, पार्टी महासचिव, राष्ट्रपति, प्रधानमन्त्री र जनकांग्रेसका सभापतिलाई पार्टी केन्द्रीय कमिटीबाट बिदा गरेको छ र उनीहरू जनकांग्रेसबाट पनि बिदा हुँदै छन् । नेतृत्व आपैँmमा शिक्षित र दिक्षित पनि छ । सीले रसायनशास्त्रमा स्नातकोत्तर र राजनीतिशास्त्रमा विद्यावारिधि हासिल गरेका छन् भने उनको नेतृत्वको केन्द्रीय समितिको करिव ९६ प्रतिशतले उच्च शिक्षा हासिल गरेका छन् । हाम्रो र अन्य मुलुकमा राजनीति र सत्तामा रहने अवधिको सीमा र शिक्षाको कुनै अनिवार्यता नभएको परिवेशले चीनबाट अनेकौँ अलावा यो शिक्षा पनि ग्रहण गर्नु जरुरी छ । वर्तमान चिनियाँ समृद्धि र कुशल नेतृत्वका बाहक निवर्तमान महासचिव र वर्तमान राष्ट्रपति हु जिन्ताओको उतराधिकारीको रूपमा देखिएको सी चार महिनापछि हुने राष्ट्रिय जनकांग्रेसबाट सम्भवत: राष्ट्रपतिमा निर्वाचित हुनेछन् । ५९ वर्षीय सी जिनपिङ चिनियाँ कम्युनिस्ट पार्टीको पाँचौ उच्चपदस्थ नेता र पुस्ता मानिन्छ र उनी चिनियाँ कम्युनिस्ट पार्टीका तत्कालीन अध्यक्ष माओका सहकर्मी सी जोन्गसुनका छोरा पनि हुन् ।
‘माक्र्सवादमा आस्था र समाजवाद तथा साम्यवादमा विश्वास एउटा कम्युनिस्टको राजनीतिक आत्मा तथा आध्यात्मिक आधार हो, जसले कुनै पनि अग्निपरीक्षाको सामना गर्न सक्ने बनाउँछ । यसलाई अझ सुन्दर शव्दमा भन्ने हो भने आदर्श तथा विश्वास नै कम्युनिस्टहरूको आध्यात्मिक क्याल्सियम हो’ सीको यो अभिव्यक्तिले माक्र्सवादको भविष्य नदेख्ने बुर्जुवा चिन्तन र माक्र्सवादरहित सुधारिएको समाजवादमा जान चाहने संशोधनवादी कम्युनिस्ट र माक्र्सवादलाई जडसिद्धान्त मान्ने जडसूत्रवादी चिन्तन अनि सनातन चिनियाँ क्रान्तिलाई आफ्नो आधार मान्नेहरूलाई चोटिलो जवाफ दिएको छ । आज चीनको ९० प्रतिशतभन्दा बढी नागरिकहरू चीनको वर्तमान सत्तासँग सन्तुष्ट छन् । त्यहाँको कम्युनिस्ट पार्टीको जनउत्तरदायी नेतृत्वको महाअभियानलाई सफल बनाउन आम नागरिक जुटेका छन् । जनसंख्याको हिसाबले सबैभन्दा ठूलो र क्षेत्रफलका हिसाबले तेस्रो ठूलो मुलुक चीनले केही वर्षयता हासिल गरेको तीव्र आर्थिक समृद्धिले दोस्रो हुँदै छिट्टै नै पहिलो अर्थतन्त्र बन्ने दिशामा अगाडि बढिरहेको छ । करिव साढे दुई दशक अघि विश्वको महाशक्तिराष्ट्र सोभियत संघको विघटनपछि विश्व अर्थव्यवस्थामा अमेरिकाले एकल नेतृत्व र हैकम जमाएको थियो । त्यसलाई चुनौति दिँदै चीन विश्वको महाशक्ति राष्ट्र र पहिलो अर्थतन्त्र बन्ने दौडले विश्व जनमतलाई आश्चर्यचकित बनाएको छ । युरोपमा भएको एक मतसर्वेक्षण अनुसार अबको चार वर्षमा विश्वको पहिलो अर्थतन्त्रको रूपमा चीन स्थापित हुनेछ ।
वास्तवमा आधुनिक चीनको यात्राले एक शताव्दि पार गर्दै छ । सन् १९११ मा डा. सनयातसेनको अगुवाइले सामन्ती राजतन्त्रात्मक प्रणालीको अन्त्य गरी पुँजीवादी गणतन्त्रको प्रारम्भ गर्‍यो । तर, त्यो राष्ट्र, राष्ट्रियता र राष्ट्रवासीको नाममा स्थापित र दिगो हुन सकेन । लामो गृहयुद्ध र चिनियाँ मुक्ति आन्दोलनपछि सन् १९४९ मा चिनियाँ कम्युनिस्ट पार्टीले सत्ता सम्हालेपछि समाजवादी शासन प्रारम्भ भयो । चीनसँग आफ्नो विकासको ऐतिहासिक अनुभव थिएन । उसले कम्युनिस्ट शासनको प्रारम्भमै पश्चिमा उदार पुँजीवादी विकासको बाटो अस्वीकार गरेको थियो । तत्कालीन सोभियत संघभन्दा भिन्न परिवेश, पछौटेपन् र गरिबीको कारण त्यसको अन्धानुकरण पनि सम्भव थिएन । यसैले उसले आफ्नै मौलिक र विशिष्ट विकास प्रयास अघि बढायो । उत्पादनका साधनहरू उत्पादक शक्तिबीचको सम्वन्धलाई नयाँ ढंगले परिभाषित गर्दै त्यसलाई सामुदायिक अभियानको रूपमा सूत्रवद्ध गर्‍यो । राज्यले नागरिकको गाँस, वास, शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षाको प्रत्याभूतिको वातावरण निर्माण गर्‍यो । राजनीतिक, आर्थिक र सामाजिक संरचनामा व्यापक रूपान्तरणले समृद्धि अभियानलाई तेज बनायो । आफ्नो आन्तरिक संरचना र शक्तिसन्तुलन नखलबलिने गरी विदेशी पुँजी र प्रविधिलाई भित्र्याउँदै न्यूनतम लागतमा उत्पादन भएका वस्तुहरूलाई विश्वबजारमा निर्यात तीव्र बनायो । परिणामत: विश्वको सबैभन्दा ठूलो निर्यातक राष्ट्रको रूपमा चीनले  आफूलाई उभ्याएको छ । चीनसँग रहेको अथाह जमिन, जनशक्ति र प्रविधिलाई उचित सन्तुलनले तीव्र औद्योगिक रूपान्तरणको स्वरूप लियो ।
आज चीनका सामु अवसर मात्रै होइन चुनौति पनि छ । चीनको आर्थिक समृद्धि र प्रजातान्त्रिकरणको प्रक्रियालाई गतिशीलता दिन सक्नु आपैँmमा एक चुनौति हो । तिब्बतलगायतका आन्तरिक समस्याहरू, उदार अर्थतन्त्रको किस्तावन्दी प्रयोगका पक्षहरू र विभिन्न समस्याहरूलाई नयाँ नेतृत्वले सामना मात्रै होइन समाधान नै दिन सक्नुपर्दछ । चीनमा पनि गरिबी, असमानता बेरोजगारी, भ्रष्टाचार, राजनीतिक स्वतन्त्रता एवम् सामाजिक सुशासनका समस्याहरू नभएका होइनन् । शान्ति, समृद्धि, समानता, सदाचार र तीव्र विकासका पाइलालाई चीनले थप व्यवस्थित गर्न जरुरी छ । चीनसँग दक्षिणतर्फ गाँसिएको हाम्रो मुलुकले चीनको प्रगतिबाट सिक्नु आवश्यक छ । हाम्रो राजनीतिक स्थिरता र समृद्धिको अभियानमा चीनको सदासयता र सहयोगको पनि त्यतिकै जरुरी छ । सीको नेतृत्वको चीन सफलताको पथमा अघि बढोस् र हामी नेपालीप्रति सदभाव र विकास सहयोगमा तत्परता जारि रहोस् ।

प्रतिक्रिया