हात्तीलाई परिवारनियोजन

एजेन्सी : विश्वमा विभिन्न जनावरलाई लोपोन्मुखको सूचीमा राखिएको छ । उनीहरूको संख्या बढाउन प्रजननका विभिन्न उपाय अपनाउने गरिएको छ  । नेपाललगायत केही मुलुकको सन्दर्भ नियाल्ने हो भने हात्ती पनि लोपोन्मुखकै सूचीमा पर्छ । वन्यजन्तु संरक्षणका क्षेत्रमा काम गर्दै आएका विभिन्न व्यक्ति तथा संस्थाले यसप्रति चिन्ता दर्साउँदै आएका छन् । तर, दक्षिण अफ्रिकी सरकारलाई भने हात्तीको संख्या वृद्धि टाउको दुखाइ बनेको रहेछ । हात्तीको संख्या थेगिनसक्नु हुने अवस्थाको अनुमान गर्दै नियन्त्रणका उपाय अवलम्बन गर्न थालेको छ । दक्षिण अफ्रिकाले सबैभन्दा गजबको उपाय ठानेको छ– हात्तीको परिवार नियोजन । र, यो उपया लागू पनि गरिसकेको छ । अमेरिकी गैरसरकारी संगठन ह्युमन सोसाइटी इन्टरनेसनलले तयार गरेको गर्भनिरोधक भ्याक्सिन ‘पोसिर्न जोना पेलुसिडा’ मार्फत दक्षिण अफ्रिकी सरकारले यस्तो नीति अवलम्बन गरेको हो । भ्याक्सिनको प्रयोगले हात्तीको संख्या घटाउने कार्यमा सफलता पनि हात परेको दक्षिण अफ्रिकी सरकारले बताएको छ ।
हात्तीको संख्या घटाउने यसखाले योजनाको कतिपयले समर्थन र स्वागत गरेका छन् त कतिले विरोध । कतिपय वन्यजन्तु संरक्षकले सरकारी योजनाको विरोध गर्दै प्राकृतिक तरिकाबाट नै हात्तीको संख्या नियन्त्रण गर्नुपर्ने माग गर्दै आएका छन् ।
गर्भनिरोधक भ्याक्सिन प्रयोग गरिएको हात्तीलाई अरूबाट भिन्न देखाउन उनीहरूको शरीररमा गुलाबी रंगको प्रयोग गरिएको रहेछ । एउटा हात्तीमाथि यसखाले प्रयोग गर्दा लाग्ने हेलिकोप्टरको खर्चसमेत जोडेर औसतमा एक सय ४२ डलर खर्च हुने बताइएको छ ।
औसतमा ६० वर्ष बाँच्ने ढोईले १२ वर्षदेखि छावा जन्माउन सुरु गर्छे र जीवनमा १२ वटा छावा जन्माउँछे । सन् १९९४ देखि दक्षिण अफ्रिकी सरकारले हात्ती सिकारमा प्रतिबन्ध लगाएपछि १५ वर्षको अवधिमै कतिपय राष्टिय निकुञ्जमा हात्तीको संख्या दोब्बर भएको थियो ।

प्रतिक्रिया