‘तोकिएकै समयमा प्रधानमन्त्री दिन्छौं’

काठमाडौं, ९ मंसिर । कांग्रेस र एमालेका शीर्ष नेताहरुले राजनीतिक सहमतिबाट मुलुकलाई छिटो निकास दिनुपर्ने बताएका छन् ।
काभ्रेमा आज सञ्चारकर्मीसँग कुरागर्दै उनीहरुले नेपालमा अन्तर्राष्ट्रिय शक्तिले पनि सहमतीय सरकार हेर्न चाहेको टिप्पणी गरे । उनीहरुले तोकिएकै समयमा प्रधानमन्त्रीको उम्मेदवार दिने दाबी गरे ।
कांग्रेस सभापति सुशील कोइरालाले सहमतिको अर्काे कुनै बाटो नभएकाले शान्ति, संविधान र स्थायीत्वका लागि समयसीमा भित्र सहमति हुनु पर्ने बताए । उनले भने, ‘अन्तर्राष्ट्रिय शक्तिले पनि नेपालमा सहमतिको सरकार र निर्वाचन चाहेका छन् ।’
एमाले अध्यक्ष झलनाथ खनालले राष्ट्रपतिले दिएको समयसीमा भित्रै सहमतिको प्रधानमन्त्रीको उम्मेदवार पठाउने जानकारी दिए । उनले त्यसका लागि सबै दलहरुका बीच परामर्श शुरु भईसकेको उल्लेख गरे ।
मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छादारले सहमतिको हुनेमा सबै आशावादी हुनु पर्ने बताए । ‘राष्ट्रपतिको शुक्रबारको आब्हान सहमतिको सकारात्मक कदम हो,’ उनले भने ।
कांग्रेस उपसभापति रामचन्द्र पौडेलले सहमतिका लागि सबै किसिमको प्रयास गर्ने बताए ।

प्रतिक्रिया