आशंका उब्जाएको छः बैद्य

काठमाडौं, ९ मंसिर । नेकपा–माओवादीका अध्यक्ष मोहन बैद्यले राष्ट्रपतिको पछिल्लो कदमले मुलुकको भविष्यप्रति आशंका उब्जाएको बताएका छन् ।
दाङ–काठमाडौं पत्रकार समाजले आज काठमाडौंमा आयोजना गरेको चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रममा उनले राष्ट्रपतिका पछिल्ला निर्णय आफैमा जेलिएकाले मनशाय बुझ्न नसकिएको बताए ।
उनले भने, ‘बजेट स्वीकृत गरेर प्रधानमन्त्रीको बाटो खुला गरेका राष्ट्रपतिले फेरि सहमतिका लागि आव्हान गर्नु शंकास्पद छ ।’
उनले दलहरुका बीच सहमति गरेर जानुको विकल्प नरहेको बताए । ‘संवैधानिक र कानून उल्झन हटाउन सहमतिको विकल्प छैन,’ उनले भने, ‘अब दलहरु मिल्नु पर्छ ।’
यद्यपि उनले सहमतिका लागि राष्ट्रपतिले आव्हान गर्नु भने सकारात्मक रहेको टिप्पणी पनि गरे ।
एमाओवादीका संगठन विभाग प्रमुख कृष्णबहादुर महराले पनि राष्ट्रपतिको पछिल्लो कदम स्वागत योग्य र संविधान सम्मत रहेको दाबी गरे ।
एमाओवादीले राष्ट्रपतिको कदमलाई असंवैधानिक बताएको छ । नेता महराले भने, ‘सहमतिका लागि दवाव दिन राष्ट्रपतिले चालेको कदम सकारात्मक छ ।’
‘राष्ट्रपतिले सहमतीय प्रधानमन्त्रीको प्रस्तावका लागि गरेको आव्हानले दलहरुलाई सहमतिमा ल्याउन योगदान पुराउने छ,’ उनले भने ।

प्रतिक्रिया