डेटिङ अन्डर अम्ब्रेला

टाढाबाट देख्दा समुद्र जति शान्त देखिन्छ, किनारमा पुग्दा त्यसको सतहमा मडारिने उथलपुथलकारी छालले त्यो बिल्कुल अशान्त लाग्छ । मडारिँदै आएको छालको विचित्र कलाले किनारमा बस्ने तन्नेरीको मन पनि निथ्रुक्कै भिजाइदिन्छ । कोलम्बोको गलेफेस किनारबाट घामको हल्का पहेँलो रङ भर्खरै डुब्यो । तर, घामले छोडेर गएका रंगीन लालीमाले पर क्षितिजमा तन्नेरी जोडीहरूलाई अझ रोमान्टिक बन्न हौस्यायो । किनारको वल्लो छेउदेखि पल्लो छेउसम्म रंगीन अम्ब्रेलाले माया गर्नेलाई मात्रै होइन मायाको अन्तरभावलाई पनि छपक्कै छोपिदिएभैँm लाग्छ । उनीहरू अम्ब्रेलामा छोपिएर प्रेमालापमा मस्त र निर्धक्क छन् । निर्धक्क यसकारण कि ती जोडीलाई ‘रेड’ हान्न त्यहाँ कुनै सरकारी जासुस वा प्रहरी आउने छैन । र त, समुद्र किनारमा अम्ब्रेलामुनि बसेर डेटिङ गर्नुलाई आनन्दित मान्छन् प्रेमका पुजारीहरू ।
दक्षिण एसियाली मुलुकमा पाइने केही समानतामध्ये सांस्कृतिक स्वभाव पनि एक हो । पश्चिमा मुलुकमा जति प्रेम र यौनलाई हेर्ने उदार दृष्टिकोण यहाँ छैन । खुला र सार्वजनिक स्थानलाई डेटिङस्पट बनाएर प्रेमको उमंगमा रोमाञ्चित हुने कुरा यहाँ नयाँ नै लाग्न सक्छ । तर, समाजको बदलिँदो स्वरूपले भने प्रेम र यौन स्वतन्त्रताका हाँगा अझ विस्तार गर्दै छ । काठमाडांैलगायतका सहरमा सौहार्द डेटिङस्पट आवश्यकताको बहस केही वर्ष अघि देखि चल्न थालेको छ । यसलाई नौलो कुरा मानेर विश्लेषण गर्ने जमात बाक्लै छ । समुद्रबाट टाढिएको नेपालभन्दा तलतिरको भूगोलमा छरिएर रहेका केही दक्षिण एसियाली मुलुकका लागि भने समुद्रले नै यो बहसलाई सहज बनाएको र समुद्री किनारमा रंगीन अम्रेला बाक्लिँदै गएका छन् । त्यसैले त उनीहरूका लागि महत्त्वपूर्ण डेटिङस्पट नै समुद्री तट बनिदिएको छ ।
प्रेम गर्नलाई जोडी खोज्न कुनै मेला धाउनुपर्ने पुरानो चलन अहिले किंवदन्ती भँैm छ । पुराना चलचित्रका कथामा जस्तो प्रेमिकालाई ‘आइ लभ यू’ लेखिएको कागजको डल्लो झ्यालतिर पोको पारेर फाल्नुपर्ने अवस्था अहिले छैन । ‘पल्लो घरको झ्याल’मा देखिने युवतीको मुस्कानवाट सम्मोहित कुण्ठा गोविन्द मल्ल गोठालेको कथा अचेलका पुस्ताका लागि इतिहासको गर्त बनिसकेको छ । इन्टरनेटको संसारमै ‘माया’ फेला पर्छन् र इन्टरनेटबाट प्रेमको अन्तरतत्त्व वितरणपछि समुद्रीकिनारमा अम्रेलामुनि टाँस्सिएर बस्छन् । लाग्छ, माया इन्टरनेटभित्रैका तारहरूमा जेलिएको छ । यहाँ माया गरिन्छ, चिसा–चिसा सम्बन्धहरू च्याटरुममै स्थापित हुन्छन् र छिट्टै विस्थापित पनि । एकआपसमा ढाड जोडेर डेटिङस्पटमा नबसुन्जेलसम्म नयाँ पुस्ताको धित मर्दैन । भारतको चेन्नईमा रहेको संसारकै दोस्रो लामो समुद्रीतट मेरीना विचमा पनि यस्तै डेटिङमा आएका तमिल जोडिहरूको बाक्लो उपस्थिति छ ।
तातो घामले डामेको मेरीना विचको बालुवामा टेकेपछि २१ वर्षीया आराजुले आफ्नो ब्यागबाट पर्पल कलरको अम्ब्रेला झिकिन् । उनको २३ वर्षे प्रेमी चैरलेथन त्यहीँ अम्ब्रेलामा घुस्रिन पुगे । उनीहरूको शान्त प्रेमभावलाई परबाट हुत्तिँदै आएको समुद्री छालले छपक्कै छोपिदिएपछि चैरलेथनले आराजुलाई अँगालोमा कसे । र, लाजको मधुरो वाष्पलाई अम्ब्रेलाले छोपिदियो । अघिदेखि त्यही दृश्य हेरेर बसिरहेकी एउटी स्पेनीस ठिटीको मुखबाट फुत्कियो ‘वाह, ह्वाट अ अम्ब्रेला कल्चर π’
पश्चिमा संस्कृतीमा हुर्किएका र त्यहीँको जीवनशैली अपनाइरहेका अधबैँसे (नयाँ पुस्ताको त कुरै छोडौँ) जमातका लागि ‘विच डेटिङ’ कुनै नौलो विषय होइन । तर, बिस्तारै प्रेमलाई आधुनिक ढंगबाट बुझ्न थालेका दक्षिण एसियाली पुस्ताका लागि भने समुद्री तटको अम्ब्रेला डेटिङ नयाँ विषय बनेको छ । समुद्रमा छालको देखावटी तरंग उठ्दै र सेलाउँदै गर्दा अंगालोको ऐठन कस्सिँदै गएसँगै प्रेमजोडीहरूको मनमा उठेको छाल भने उत्कर्षतिर पुगेभैँm लाग्छ । किनार छेवैमा बनेका आधुनिक गगनचुम्बी ट्रेड सेन्टरको सिसाबाट प्रष्ट देखिने समुद्री छालहरूले जोसुकै युवा जोडीको मनमा काउकुती छेडिदिन्छ र, उनीहरूका लागि अम्ब्रेला डेटिङ स्वाभाविक बनिदिन्छ । समुद्रसँगै मायालु जोडीका छातीमा उठ्ने छालका उभारले वातावरणलाई प्रेमिल बनाइदिन्छ ।
उपभोक्तावादी जीवनशैलीले विश्वका कुन कुनालाई नछोएको होला र ? र, बजारमा झाँगिदो खुल्ला प्रेम पनि उपभोक्तावादी कल्चरबाट अछुतो छैन । बंगलादेशको कोक्स बजार नजिकको समुद्री तट होस् या भारतस्थित चेन्नईको मेरिना विच, अथवा कोलम्बो छेउको गले विच किन नहोस् । त्यहाँ नजिकैका सहरमा बहुराष्ट्रिय कम्पनीका ब्रान्चहरू प्रेमील जोडीलाई कुरेर बसिरहेका हुन्छन् । म्याकडोनाल्डस देखि केएफसीसम्म जोडीहरूको भिड उतिकै हुन्छ । युगलहरूको प्रेमको सफलतासँगै बहुराष्ट्रिय कम्पनीहरूको पनि विस्तार र प्रगति हुन्छ । आफ्नो ‘स्विट हर्ट’लाई अँगालोमा कसेर म्याकडोनाल्डसमा तात्तातो बर्गर चपाएका युवक केहीछिनमै समुद्री किनार पुगिहाल्छन् र अम्ब्रेला कल्चरमा समाहित हुन्छन् । विश्वका उत्पादन क्षेत्र र बजारहरू प्रेमीहरूका सफल प्रेमको पुजारी पनि पुँजीवादकै कारण भएका हुन् । युवक र युवतीका मनभित्र प्रेमको अंकुरण नहुँदो हो त समुद्रीकिनारका डस्टविनहरूमा बहुराष्ट्रिय उत्पादनका खोल थुप्रिएका हँुदैनथे सायद । मन्दिरका ईश्वर हुन् वा बयस्कहरूका प्रेमिल मन, बजारले दिएका बहनाले आफ्नो आस्था र प्रेमको डुंगा खियाउँदै त्यहाँ पुगेका हुन्छन् ।
सहरमा जोडीहरूको निर्माण र विनिर्माण भइरहन्छ । जुन पद्धतीबाट काठमाडौँ सहर पनि अछुतो छैन । त्यसर्थ, आधुनिक प्रेमको भाषालाई ‘स्वार्थ’ भन्ने र त्यसलाई पुँजीवादको कलर लगाउनेहरू पनि उत्तिकै छन् र यो उपभोक्तावादले नै बनाएको प्रेमको आधुनिक चरित्र हो । तर, नयाँ पुस्तालाई यी कुराको के बाल π उनीहरू प्रेमलाई न कुनै एक व्यक्तिमा मात्र देख्न सक्छन् न त चल्तीको रंगीन प्रेममा रोमियो जुलियटको सम्बन्धलाई रिफ्रेन्स लिन रुचाउँछन् । केही हप्ताअघि मात्र पिंक कलरको अम्ब्रेलामुनि रहेकी सुन्दरीसँग बसेको प्रेमी अर्को हप्ता ब्लु कलरको अम्ब्रेलामुनि घुस्रन पुगिसकेको हुन्छ । लाग्छ यस विषयमा सबै जोडीहरू पहिले नै जानिफकार छन् । प्रत्येक अम्ब्रेलाभित्रको एउटै समानता भन्नु नै प्रेम हो । कमसेकम अम्ब्रेलाभित्र ओत लागेपछि सहरले सिकाएका स्वार्थ र दुर्भावनाहरू एकाएक लोप हुन्छन्, त्यहीँ बसुन्जेल । त्यहाँ फुल्छ त केबल प्रेम अनि मखमली सपनाहरू । बन्छ त समुद्रको कञ्चन पानी जस्तै मन । केही समयको लागि भए पनि समुद्री छालले दिमागमा अवशेषको रूपमा रहेका छलकपटलाई पखालिदिन्छ । र, सहर फर्कंदा ती प्रेमिल जोडीहरूले आफूसँगै एक/एक मुटु ‘प्रेम’ लिएर जान्छन् ।
प्रेम गर्नलाई शान्त डेटिङ थलोको खोजीमा रहने काठमाडौँका ‘लभ पियर्स’हरू यदाकदा भृकुटीमण्डपको फनपार्कदेखि गोदावरीसम्म पुगिरहेका देखिन्छन् । कंक्रिटको जंगल भैँm लाग्ने काठमाडौंमा शान्त थलो मुस्किलले भेट्टाइन्छ । भेट्टाए पनि ती शान्त थलोलाई सार्वजनिक स्थलको बिल्ला भिराइएको छ । अनि, त्यस थलोमा टाँस्सिएर बसेका जोडी प्रहरी प्रशासनको आँखाको कसिंगर बन्छन् । मानौँ प्रेम गर्नु एक अपराध हो र त्यसका भागिदार हुन् प्रेमी प्रेमिकाहरू । सहर त ‘जसरी हुन्छ कमाउ’को मनोवैज्ञानिक दलदलमा छ । त्यही मनोविज्ञानमा प्रसस्त भेटिन्छन् स्वार्थ, छलकपट र घृणाहरू । अर्थात्, सहरबाट प्रेमलाई लखेटिँदै छ । मानिस पुँजीवादको बलियो उपभोक्ता बन्न नसक्नुको परिणाम काठमाडौं न पुरानो आदर्श प्रेम जोगाउन सक्षम छ न त उपभोक्तावादले सजाइदिएको आधुनिक प्रेमलाई जन्म दिन सक्छ । डेटिङका लागि शान्त र प्राकृतिक सौन्दर्यको थलो खोज्न समुद्री किनारमै पुग्नुपर्ने बाध्यता छैन नेपालीलाई । प्रत्येक कोसमा पृथक प्राकृतिक सौन्दर्यसँग गाँसिन सकिन्छ यहाँ ।
घाम र लाजलाई छेक्न अम्ब्रेलाको विकल्प दिने थरीथरीका रुखहरू यहाँको माटोले उमार्छ । त्यस मनोविज्ञानलाई सम्बोधन गर्न नसक्दा सहरका प्रहरीहरू विभिन्न लज र गेस्ट हाउसमा ‘रेड’ हानिरहन्छन् । मानिसलाई पुँजीवादी उपभोक्ताको बलियो सामथ्र्यमा खडा गर्न नसक्नुको परिणाम प्राकृतिक अम्रेलाहरूमा पनि प्रेम फूल्न सकिरहेको छैन ।

 

प्रतिक्रिया