खप्न सक्नेको भागमा दु:खै दु:ख

व्योमेश शुक्लको स्कुलबाट भाग्ने अनेक कारणहरू कविता पढेर मथेलिएको मस्तिष्क लिएर दीपक सापकोटा र म जीवनका चार दशक शिक्षालाई सुम्पेर अवकाशप्राप्त जीवन बिताइरहेका हेडसर रामप्रसाद अधिकारीको घरमा पुग्दा उनी नातीलाई होमवर्क गराइरहेका थिए । दुई हजार सात सालको मंगलटार । कठिनताको बूढो विम्ब । त्यही विम्बमा सात साल असोज महिनामा जन्मिएको एउटा कविताको नाम हो रामप्रसाद अधिकारी । अवकाशपछि फुर्सदिला भएका रामप्रसाद अधिकारीका मुहारमा उमेरका चिन्ह, थकान तथा निराशाहरू जति लुकाउन खोजे पनि लुक्न मान्दैनन् । सधैँभरि उस्तै मिठासयुक्त हाँसोले छोप्न खोज्छन् ती भावहरूलाई र उस्तै हार्दिकताका साथ मानिसहरूलाई स्वागत गर्छन् उनी । मंसिर महिनाको चिसो बिहान हामी धुलिखेलस्थित सरको घरमा पुग्दा उनी जीवनलाई फुकाउँदै थिए फेरि । पृष्ठभुमीमा हाँसिरहेका हिमालबाट ठिही झरिरहेको थियो । रामप्रसाद गुरुको केशले त्यही हिमालको रङ सापटी लिइरहेभैँm लाग्थ्यो ।
‘म आजभोलि जीवनको समीक्षा गर्दै छु । आत्ममुल्यांकन गर्दै छु । उतिबेलाका केही कमजोरीप्रति आत्मालोचना गर्दै छु र तिनै आत्मालोचनाबाट निस्किएका नयाँ बिचारहरूलाई नयाँ पिढीसँग बाँड्दै छु,’ रामप्रसाद सर आफ्ना दिनहरू कटाउने यत्नहरूका बारेमा बताइरहेथे । उनले यसो भनिरहँदा उमेरको शिखर चढ्दै जाँदा मानिसमा देखिने स्वभावजन्य परिवर्तन स्पष्ट देखिँदै थियो । ‘तत्कालीन समयको समाज र शिक्षालाई अझै राम्रोसँग संयोजन गर्न सकेको भए धेरै शैक्षिक विकास गर्न सकिने रहेछ,’ उनले भनिरहँदा उनको आत्मा बोलिरहेको थियो र त्यहाँबाट इमान्दारीको महक आइरहेथ्यो । दक्षतामा विश्वास गर्ने बेलायती समाजमा गम्भीर रोगले थलिएका बाहेक धेरैजसो बूढाबूढीहरू काम गरिरहेका देख्दा अचम्म लागेको थियो । बेलायतमा बूढाबूढीको कदर हँुदोरहेनछ भन्ने लाग्थ्यो तर तिनीहरूलाई पेन्सन खाऊ र बस मात्रै भन्नु भनेको त तिम्रो अब उपयोगिता सकियो भन्नु जस्तो पो हुनेरहेछ । त्यसैले उनीहरूलाई पनि उपयुक्त काम दिइयो भने उनीहरूको अनुभव राष्ट्रले उपयोग गर्न सक्थ्यो । लाखौँ तन्नेरीहरू देश छाडेर कामको खोजीमा मुग्लान पसिरहेको हाम्रो देशमा यस्तो अपेक्षा राख्नु त अपराध सिद्ध होला भन्ने डर लाग्छ । ‘हामीलाई राष्ट्रले जिम्मेबारी दिने हो भने म विनापारिश्रमिक काम गर्न तयार छु’, रामप्रसाद सरको हिम्मत र जोश बोल्छ । उमेरले त्रिसठ्ठी बर्ष पुगेर पनि पच्चीस बर्षे तन्नेरीसँगसँगै काम गर्न सक्छु भन्छन् उनी ।
‘बाल्यकाल अत्यन्तै दु:खमय थियो’, उनी भावुक हुँदै सम्झन्छन् । वास्तवमा आजसम्म पनि दु:खै छ । कहिले पनि सुखको अनुभव गर्न सकेका छैनन् उनले । उनको लागि सुखद अनुभव भन्नु आफ्ना विद्यार्थी सफल भएर उनको अगाडि आउनु मात्रै हो । अवकाशपछि पनि ऋण तिर्ने उपक्रममै लाग्नुपरेको छ उनले । अत्यन्तै कठिन बाटोमा जीवनलाई हिँडाएका रामप्रसाद सरको भोगाइको परिधि निकै फराकिलो छ । ‘अर्काको घरमा खाना बनाएर पढ्ने खर्च निकाल्नु पथ्र्यो । कहिले मामाघरमा शरण लिन पुग्थेँ । कहिले दिदीको घरमा शरण लिन पुग्थेँ । यसरी दु:ख गरेर संसार चहारेर प्रवेशिका पास गरेपछि उच्च शिक्षाको निम्ति खर्च नहँुदा पढाई छोडेर पहिलोपटक छब्बीस सालमा शिक्षक भएर गाउँ फर्कें । केहीसमय पढाएपछि महिनाको पचहत्तर रुपियाँ छात्रवृत्तिमा कीर्तिपुरबाट आइएड पास गरेँ । पुन: गाउँ फर्केर पढाउन थालेँ । अलिअलि पैसा जम्मा गरेपछि बिएड गर्न काठमाडौं छिरेँ’, उनले आफ्नो संघर्षका दिनहरू सम्झे । यसरी दु:खमा पढेका रामप्रसाद अधिकारीलाई त्यही दु:खले धेरै नै प्रेरणा दियो ।
सुरुवाती दिनमा शिक्षक बन्नु उनका लागि बाध्यात्मक स्थितिको उपज थियो । खर्च धान्नको लागि शिक्षक बनेको उनले स्वीकारे । तर, विस्तारै उनलाई त्यतिबेलाको नेपालको शैक्षिक स्थिति, सामाजिक, राजनीतिक र सांस्कृतिक स्थितिले शिक्षासेवाको भावले शिक्षक हुन बाध्य बनायो । उनले पढाएका विभिन्न स्थानहरूको उतिबेलाको शैक्षिक चेतना र शैक्षिक जागरण सम्झेर टीठ मान्छन् उनी । जातीय विभेदका कारणले तल्ला जात भनिने मानिसहरूमा पढ्ने चेतना नै नभएको स्थितिमा उनले त्यतिबेला शैक्षिक स्तर उकास्नलाई निकै जोखिम मोल्नु परेको थियो । ‘अत्यन्तै जटिल सामाजिक, आर्थिक र सांस्कृतिक अवस्थामा रहेका मानिसलाई शिक्षित पार्नु एकदमै असहज थियो । हजार वर्ष अगाडि विश्वविद्यालयहरू खोलेर समाज सभ्य बन्न थालिसकेको थियो बाहिरी विश्वमा तर हाम्रा मानिसहरू अक्षर चिन्न पनि आनाकानी गरिरहेका थिए । पढेका मानिसहरू जाली हुन्छन् र समाज बिगार्छन् भनेर मानिसहरू पढ्न चाहँदैनथे । अनि समाजका टाठाबाठाहरू अरू मानिसहरूलाई पढ्न पनि दिँदैनथे’, त्यतिबेलाको नेपालको वर्गीय विभेदको सारै नै भद्दा तस्बिर देखाए रामप्रसाद सरले । मात्रै पच्चीस तीस बर्ष अगाडिको नेपाल यस्तो थियो जतिबेला संसार औद्योगिक, वैज्ञानिक विकासमा घोत्लिरहेको थियो । हाम्रो देशमा त सधैँभरि जनताका मुक्तिका लागि आन्दोलन मात्रै भइरह्यो ।
उतिबेलाको समाजमा शिक्षकले निकै अप्ठ्याराहरू भोग्नुपथ्र्यो । आफ्नो काम इमान्दारीका साथ गर्दा विभिन्न किसिमका समस्या र व्यवधानहरू खप्नुपरेको कुरा सुनाउँछन् उनी । देशमा पञ्चायती शासन व्यवस्था थियो । जुन आपैँmमा एउटा विषम परिस्थिति थियो शिक्षकका लागि । अझ शिक्षासँगसँगै सामाजिक जागरण पनि हुनुपर्छ भन्ने उनीजस्तो शिक्षकको लागि परिस्थिति अझै गम्भीर र प्रतिकूल बन्न सक्थ्यो । सधैँभरि प्रशासनको आँखी भइरहनुपथ्र्यो । गाउँका पञ्च, जिम्मावालहरूको सोच, दर्शन, मान्यता र इच्छाअनुसार काम गर्नुपथ्र्यो । इच्छाअनुसार काम नगर्दा धेरैपटक सरुवा हुनु परेको थियो । प्रशासनको विरुद्धमा काम गरेको आरोपमा र राजनीति गरेको आरोपमा कैयौँपटक जेल पनि परेका छन् रामप्रसाद अधिकारी । शैक्षिक चेतना शून्य नै थियो । सांस्कृतिक र भाषिक समस्या पनि उत्तिकै थिए । सबैलाई समस्याहरूलाई चिर्दै निडरतापूर्वक काम गरेकैले आज पनि उनी जनता र विद्यार्थीहरूका प्रिय सर हुन सकेको उनले बताउँदै गर्दा चस्माभित्रबाट उनका आँखा धपक्क बलेका थिए र छाती गर्वले फूलेको थियो । सायद त्यसैको फल उनले पाएका छन् । कोठाभरि सम्मान र प्रशंसा पत्रहरू छरिएका छन् । एक हप्ता मात्रै अगाडि ‘महानन्द सापकोटा वाङ्मय प्रतिष्ठान’ले गरेको सम्मान पत्र सुम्सुम्याउँदै उनी खुसी भए । आफ्ना प्रिय कवि श्यामलले गरेको सम्मान उनी सम्झिरहेका थिए । जीवनका सारा दु:खहरूलाई अचेल उनी यस्तै सम्मान र पुरस्कारहरूमा साट्ने गर्छन् ।
माक्र्सवादी दर्शनबाट प्रभावित उनलाई राजनीति गरेको आरोप पनि लाग्ने गरेको छ । तर, उनी त्यो आरोपको प्रतिकार गर्छन् । आफूले कहिले पनि विद्यार्थीलाई यो पार्टीमा लाग भनेर नभनेको बताउँछन् उनी । दु:खी, पीडित र शोषित जनताको मुक्ति माक्र्सवादले मात्रै गर्न सक्छ भन्ने रामप्रसाद सरको जीवन दु:ख र संघर्षमै बित्यो । थाहा छैन कुन दर्शनले कहिले रामप्रसाद सरलाई दु:खबाट मुक्ति दिने हो । धेरै राजनीतिक अवसरहरू आउँदा पनि लोभमा नपरेका उनी राजनीतिमा लाग्नुभन्दा असल शिक्षक भएर असल राजनीतिज्ञ तयार पार्नुमा खुसी मिलेको उनले बताइरहँदा देशमा भने राजनीतिक स्थिति ज्यादै जर्जर भएको छ । शिक्षकहरू असल र इमान्दार भएर मात्र राजनीति सफा नहुने रहेछ । यो कोणबाट हेर्दा नेपालको शिक्षा असफल भएकोजस्तो लाग्छ । रामप्रसाद अधिकारीजस्ता इमान्दार, असल र त्यागी शिक्षकलाई देख्दा यस्तै तीतो अनुभूती हुन्छ ।
इमान्दारिता, स्वाभिमान, निर्भिकता नै आफ्नो जीवनको अदर्श हो भन्छन् रामप्रसाद अधिकारी । जीवनको सबैभन्दा लामो समय कुशादेवीलाई कर्मथलो बनाएका उनी अवकाशपछि ठाउँ नै छोडेर धुलिखेलमा बसाइँ सरेका छन् । आजभोलि सधैँभरिकी रोगी श्रीमतीसँग बस्छन् जीवनको लेखाजोखा गरेर । अब त आफ्नै पनि रोगहरू थपिएका छन् । मुटुको समस्या छ, सुगर र ब्लड प्रेसरको समस्याले पनि सताइरहेकै छ । कर्ममा विश्वास गर्ने रामप्रसाद सरलाई साँच्चै नै भाग्यले भने सधैँभरि दु:ख नै दिइरह्यो । दु:ख खप्न सक्ने मानिसको भागमा प्रकृतिले पनि सबै दु:ख हालिदिन्छ कि जस्तो लाग्छ रामप्रसाद अधिकारी बाँचेको जीवन हेर्दा ।

प्रतिक्रिया