बलात्कारपछि बालिका विस्थापित

विराटनगर, ८ मंसिर । मोरङ शनिश्चरे–९ महेन्द्रचोककी १६ वर्षीया बालिका सामूहिक बलात्कारपछि विस्थापित भएकी छन् । बलात्कारमा संलग्नले धम्की दिएपछि उनी झापाको दमकस्थित आफन्तकहाँ शरणमा छिन् ।
७ असोजमा सामूहिक बलात्कारको सिकार भएकी राई थरकी उनी घटनाका आरोपीको धम्कीका कारण विस्थापित भएकी हुन् । उनले पीडित परिवारलाई जिल्ला अदालत मोरङमा दर्ता भएको मुद्दा फिर्ता लिन दबाब दिइरहेको पीडितकी दिदीले बताइन् । स्थानीय सिंहवाहिनी उच्च माध्यमिक विद्यालयमा कक्षा–९ मा अध्ययनरत उनी घटनापछि मानसिक रूपमा समेत विक्षिप्त बनेकी छन् ।
बालिकालाई शनिश्चरे–९ का ४६ वर्षीय होटल व्यवसायी रत्नबहादुर धिमाल, सोही ठाउँका राजकुमार ठकुरी र उर्लाबारीका २२ वर्षीय रामबहादुर कार्कीले सामूहिक बलात्कार गरेको पीडितको आरोप छ । सिंहवाहिनी उच्च माविमा छिमेकीलाई खाना पुर्‍याउन गएर फर्किंर्दै गर्दा उनलाई आरोपीहरूले सामूहिक बलात्कार गरेका थिए । उनलाई जबरजस्ती मादक पदार्थ सेवन गराएर धिमालकै होटलमा लगेर सामूहिक बलात्कार गरेको पीडितका परिवारले बताए । बलात्कारपछि बेहोस भएकी पीडितलाई आरोपीले नजिकको चौतारोमा लगेर छाडेका थिए ।
घटना भएको चार दिनपछि पीडितका परिवारले इलाका प्रहरी कार्यालय पथरीमा उजुरी दिएका थिए । तर, प्रहरीले दुई दिनपछि मात्र उजुरी दर्ता गरेको थियो । प्रहरीले घटनाको छानबिन गरी बालिका बलात्कृत भएको निष्कर्षसहित जिल्ला प्रहरी कार्यालय मोरङमा मुद्दा दर्ता गराएको छ । उजुरीपछि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको शारीरिक परीक्षणमा बालिकाको यौनांगमा क्षति पुगेको रिपोर्ट आएको थियो । अदालतले समेत पीडितको नाममा वारेन्ट जारी गरिसकेको छ । घटनालगत्तै उनीहरू फरार छन् ।
एकीकृत माओवादी कार्यकर्ता जेतबहादुर बुढाथोकीले गाउँको समस्या गाउँमै मिलाउनुपर्छ भन्दै पीडितकी दिदीलाई पाँच लाख रुपियाँ लिएर मुद्दा फिर्ता लिन दबाब दिएको पीडित पक्षको भनाइ छ । आरोपीे प्रहरीलाई समेत दुई लाख रुपियाँको आर्थिक प्रलोभन र राजनीतिक दबाब दिएर मुद्दा दर्ता नगर्न दबाब दिएको बताइएको छ । प्रहरीले आरोपीलाई गिरफ्तार गर्न तत्परता नदेखाएर शक्तिको पुजारी बनेको पीडितकी दिदीले आरोप लगाइन् तर इलाका प्रहरी कार्यालय पथरीका इन्चार्ज केशव भट्टराईले फरार अभियुक्तको खोजी भइरहेको बताए ।

प्रतिक्रिया