“१ करोड ८ लाखमा गाडी किनें”

२०४८ सालमा मैले पहिलोपटक गाडी देखेँ, तेह्रथुमको वसन्तपुर भन्ने ठाउँमा ।  त्यति बेला म काठमाडौं आउँदै थिएँ । जन्मथलो ताप्लेजुङबाट ११ घण्टा हिँडेर वसन्तपुर आइपुगेको थिएँ । पहिलोचोटि गाडीका पाङ्ग्रा गुडेको देख्दा अचम्म लागेको थियो । सोचें– यस्तो पनि हुँदो रै’छ ।
विराटनगर बसेर क्याम्पस पढ्दा निलो रंगको फोनिक्स साइकल चलाउन सिकेको थिएँ । कलेज पढुन्जेल दुई वर्ष साइकलमा सरर गुडें । काठमाडौंमा आएर छ महिना साथीको माउन्टेन बाइक चढेँ  । जब जागिर सुरु गरें, रातो रंगको आरएक्स बाइक किनेर काठमाडौंका सडकमा गुडाउन थालें । ६२ हजार रुपियाँ ऋण खोजेर २०५१ सालमा किनेको आरएक्स मोटरसाइकल चार वर्षसम्म मेरो यात्राको साथी बन्यो । त्यति बेलाको आर्थिक हैसियतमा त्यही बाइक पनि ठूलो कुरो थियो ।
काठमाडौंको वातावरणमा घुलमिल हुने क्रममा विस्तारै आफ्नै व्यवसाय सुरु गरें । वैदेशिक रोजगारसँग सम्बन्धित व्यवसाय भएकोले विदेशी पाहुनाको स्वागतको लागि पनि मैले गाडी किन्नैपर्ने बाध्यता भयो  । २०५६ सालमा २७ लाख ९० हजार रुपियाँमा स्पोटेज किया कार किनेँ । त्यो पैसा पनि ऋण नै गरेको थिएँ । तर म भाग्यमानी साबित भएँ, चाँडै त्यो ऋण चुक्ता गर्न सकें ।
विदेशीहरु नयाँ मोडलका गाडी रुचाउँछन् । वैदेशिक रोजगारसम्बन्धी तालिमका लागि पनि उनीहरूलाई यहाँ आमन्त्रण गरिरहनुपर्छ । विशेष गरी अरेबियनहरू नयाँ मोडलका गाडी रुचाउँछन् । व्यवसाय प्रवद्र्धनका लागि पनि आधुनिक मोडलका गाडी साथमा राख्नुपर्ने बाध्यता छ । यतिखेर मसँग तीनवटा निजी गाडी छन् । टोयोटा कम्पनीका दुईवटा कार छन् । भक्सवागन ब्रान्डको कोरियन कार छ महिनाअघि एक करोड ८ लाख रुपियाँमा किनेको छु । दुईवटा गाडीको लोन तिर्न बाँकी छैन । कोरियन गाडीको भने अटो लोन चुक्ता गर्दै छु ।
दिनमा करिब १० किलोमिटर औसतमा गुड्छन् मेरा गाडी । सामान्यतया गाडीलाई मान्छेको प्रतिष्ठासँग पनि जोडिन्छ  । तर, मैले चढ्ने गाडिको प्रसंगचाहिँ प्रतिष्ठा  र विलासिताभन्दा पनि व्यवसायको प्रवद्र्धनसँग बढी गाँसिएको छ । विदेशी पाहुना खुसी भए मेरो व्यवसायको सफलता सम्भव हुन्छ । म व्यवसाय प्रवद्र्धनमा कन्जुस्याइँ गर्दिनँ । कम्पनीबाट नै गाडीको खर्च बेहोरिने भएकाले दैनिक हुने खर्च भने मलाई यकिन छैन । पहिले सार्वजनिक गाडीहरूमा झुन्डिएर पनि यात्रा नगरेको हुइनँ । आफ्नै गाडी हुँदा यात्रा सुरक्षित हुँदो रहेछ । न ठेलमठेल, न त घामपानीको चिन्ता † स्वास्थ्यका दृष्टिले पनि सुरक्षित भइन्छ ।
काठमाडौँ हेर्न आउँदा २१ वर्षअघि गाडी देखेको मसँग त्यति बेला सपना थिए–कम्तीमा एउटा गाडी र काठमाडौंमा घर होस् । तर, सोचेभन्दा बढि सुविधा छन् मसँग अहिले । तीनवटामध्ये रोजेर गाडी चढ्ने गर्छु हरेक दिन । तर, मेरो गाउँ ताप्लेजुङको ढुंगेसाँघुमा अझै पनि वसन्तपुरबाट ११ घन्टा हिँडेरै जानुपर्छ । मेरो आफ्नै गाडी चढ्ने रहर त पूरा भएको छ तर त्यो गाडीमा जन्मस्थलो पुग्ने रहर अझै बाँकी छ  ।
(वार्तामा आधारित)

प्रतिक्रिया