‘सहकारी अनुगमन अपर्याप्त’

काठमाडौं, ७ मंसिर । सहकारी संस्थाको अनुगमन पर्याप्त नभएको सहकारी तथा गरिबी निवारण मन्त्री एकनाथ ढकालले बताएका छन् । मुलुकभर २६ हजार सहकारी संघसंस्था स्थापना भए पनि त्यसको अनुगमन हुन नसकेको उनले बताए । सहकारी तथा गरिबी निवारण मन्त्रालय र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेºस्कुन) को संयुक्त आयोजनामा सुरु भएको दुईदिने ‘वित्तीय सहकारीमा नियमन तथा सुशासनका सवाल’ विषयक राष्ट्रिय कार्याशाला गोष्ठी उद्घाटन गर्दै ढकालले सो कुरा बताएका हुन् । ‘सहकारीको संख्यात्मक विकास राम्रा कुरा हुन्,’ मन्त्री ढकालले भने, ‘नियमन र सुशासनकमा चुनौती रहेको छ ।’ मन्त्रालयको कार्यभार सम्हालेपछि २५ जिल्लाका सहकारीको भ्रमण गरेको र ती स्थानमा गुणात्मक विकास नदेखेको बताए ।
‘कतिपय स्थानमा सहकारीलाई राजनीतिक दलको भ्रातृसंगठनका रूपमा सञ्चालन गरेको समेत भेटिएको छ,’ उनले भने, ‘त्यस्ता सहकारीलाई कारबाही गर्नेछौँ ।’ देशभरका अधिकांश सहकारीले सिद्वान्तविपरीत कारोबार गर्ने गरेकाले सहकारी शिक्षाको अपरिहार्यता भएको उनको जोड थियो । थप २० जिल्लामा डिभिजन सहकारी कार्यालय स्थापना गर्ने सवालमा मन्त्रालय अघि बढेको ढकालले बताए ।
नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर महाप्रसाद अधिकारीले सहकारी स्वनियमनमा चल्ने संस्था भए पनि सोहीअनुरूप सञ्चालन नभएको बताए । ‘संस्था स्वनियमनमा चलेका छैनन्,’ अधिकारीले भने, ‘त्यसैले अनुगमनमा कडाइ गर्न आवश्यक छ ।’ वित्तीय कारोबार गर्ने सहकारीको राष्ट्र बैंकको पनि सहयोग रहने उनले बताए । नगर क्षेत्रका सम्पूर्ण सहकारीलाई करको दायरामा ल्याउने तयारी भइरहेको आन्तरिक राजस्व विभागका महानिर्देशक टंकमणि शर्माले बताए । चालु आर्थिक वर्षलाई कर प्रणाली सुधार अभियान सञ्चालन गरेको बताउँदै उनले सहकारीलाई व्यवस्थित ढंगले कर तिराउन सके सहकारीकर्मीको समस्या पनि समाधान हुनेमा जोड दिए ।
कार्यक्रममा स्वरोजगार कोषका उपाध्यक्ष डा. पुण्यप्रसाद रेग्मी गरिबी र बेरोजगारी देशको शत्रु रहेको बताउँदै उनले यसलाई पूर्णरूपले निर्मूल गर्नुपर्ने बताए । कोषबाट रकम लिन १३ सय ११ सहकारीको आवेदन परेको र केही दिनमै छनोट गरी करिब ६ सय सहकारीलाई रकम वितरण गरिने उनले बताए । ‘रकम लैजाने सहकारीको बेला–बेलामा अनुगमन गर्नेछौँ,’ उनले भने, ‘रकम लिएका सददस्यहरू कत्तिको लाभान्वित हुनेछन् त्यसतर्फ हाम्रो निगरानी हुनेछ ।’ एक सहकारी एक मुख्य चिनारी नारा तय गरी यसतर्फ जोड दिन सके देशको अर्थतन्त्र विकासमा टेवा पुग्ने उनको दाबी छ ।
दुई दिनसम्म सञ्चालन हुने कार्यशाला गोष्ठीमा विभिन्न कार्यपत्र प्रस्तुत हुनेछ । गोष्ठीको पहिलो दिनमा मन्त्रालयका सहसचिव सुदर्शनप्रसाद ढकालले ‘वित्तीय कारोबार गर्ने सहकारीको व्यवस्थापन’ एसियाली ऋण महासंघका प्रमुख कार्यकारी अधिकृत रञ्जित हितराचीले ‘बचत तथा ऋण सहकारीमा जोखिम व्यवस्थापन’ नेºस्कुनका वरिष्ठ कार्यक्रम अधिकृत बाबुराम न्यौपानेले ‘वित्तीय कारोबार गर्ने सहकारीका करका सवालहरू’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । त्यस्तै, बिहीबार राष्ट्र बैंकका सहायक निर्देशक रमेशप्रसाद चौलागाईंले ‘वित्तीय सहकारीमा सुपरिवेक्षणको अभ्यास’ सहकारी तथा गरिबी निवारण मन्त्रालयका उपसचिव बाबुराम भुसालले ‘वित्तीय कारोबार गर्ने सहकारीको अनुगमन तथा नियमनसम्बन्धी प्रस्तावित कार्यविधि’ विषयक कार्यपत्र प्रस्तुत गर्नेछन् ।
सहकारी आकर्षण बढ्दो

चितवन : सहकारीमार्फत आय–आर्जन तथा अन्य योजना सम्पन्न गर्न सहज हुने भएपछि पछिल्लो समयमा यसको आकर्षण बढेको छ ।
सहरी क्षेत्रको तुलनामा चितवनका ग्रामीण क्षेत्रका सर्वसाधारण सहकारीतर्फ आकर्षित भएको सहकारी प्रशिक्षण डिभिजन कार्यालय चितवनले जनाएको छ । घरायसी गर्जो टार्न चर्को ब्याजदरमा ऋण लिनुपर्ने बाध्यतालाई हटाउन सहकारीमार्फत सम्भव भएपछि मात्रै यसतर्फ आकर्षण बढेको हो ।
सहकारीले स्थानीय स्तरमा रोजगारीको अवसर सिर्जना गर्ने सहकारी प्रशिक्षण डिभिजन कार्यालयका सहकारी प्रशिक्षक श्रीकृष्ण नेपालले बताए । नेपालमै सहकारीका लागि चितवन अग्रणी स्थानमा रहेको उनको दाबी छ । चितवनमा हालसम्म ६ सय ४४ वटा सहकारी संस्था दर्ता भएका छन् । यहाँ महिलाले सञ्चालन गरेका सहकारीको संख्या ७९ छ । साउनयता मात्रै चितवनमा २३ वटा नयाँ सहकारी दर्ता भएका छन् । सबैभन्दा बढी गुञ्जनगरमा २८ वटा र सबैभन्दा कम लोथर, काउले र दाहखानिमा एक/एक  सहकारी दर्ता भएका छन् । यस्तै, माडीको ४ गाविसमा भने ३३ वटा सहकारी दर्ता भएका छन् । चालु आर्थिक वर्षमा जिल्लामा सहकारी नीतिविपरीत काम गर्ने ७ वटा सहकारीको दर्ता खारेजी गरिएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया