अर्थविद् भन्छन्, ‘यो बजेट नै होइन’

काठमाडौं, ६ मंसिर । सरकारले ल्याएको दुईतिहाई अध्यादेश बजेटले मुलुकुलाई बर्बादीतिर धकेलेको पूर्वअर्थमन्त्री र अर्थविद्हरूले बताएका छन् । कामचलाउ सरकराले आफूखुसी ल्याएको यसलाई बजेटसमेत भन्न नमिल्ने संज्ञा अर्थविद्ले दिएका छन् ।

पूर्वअर्थमन्त्री भरत मोहन अधिकारीले अध्यादेश बजेटले देशलाई ठूलो संकटमा पार्ने बताए । उनले बाबुराम सरकारलाई बजेट ल्याउने कुनै आधारसमेत नभएको भन्दै सहमति बेगरको
कागजको संज्ञा दिए ।
बजेट भनेको राजनीतिक दस्तावेज भएको भन्दै पूर्वअर्थमन्त्री अधिकारीले सहमतिविना आउने जुनसुकै कुराले पनि मुलुकलाई हित भन्दा अहित गर्ने बताए । उनले देशमा अनीष्टको सुरुवात भएको भन्दै मुलुक थप बर्बादीतिर जानसक्ने बताए ।
देशमा संवैधानिक रिक्तता बढ्दै जाने र बाबुराम सरकारले विधिको शासनाको परिहास गरेको भन्दै अधिकारीले भने, ‘यस्तै अवस्था रहेमा मुलुकका ठूलो दुर्घटना निम्तिन सक्छ ।’
त्यसैगरी, अर्थविद् डा.चन्द्रमणि अधिकारीले प्रतिपक्षमा बस्ने दललाई बेवास्ता गरेको ल्याइएको अध्यादेश बजेटले कर्मचारीलाई तलब भत्ताबाहेक अरू केही दिन नसक्ने बताए । उनले भने, ‘योजनाविहीन र नयाँ भिजन नभएको यस्तो बजेटले मुलुकको आर्थिक विकास गर्न सक्दैन ।’ सरकारले ल्याएको दुईतिहाइ बजेटमा नयाँ नीति तथा कार्यक्रम नभएका कारण यसले सर्वत्र निराशा थपेको छ ।
त्यसैगरी, अर्का अर्थविद् डा. चिरञ्जीवी नेपालले भने यसलाई बजेटसमेत भन्न नमिल्ने दाबी गरे । पाँच लाख कर्मचारीलाई खुसी पार्न २ करोड ९५ लाख जनतालाई उपेक्षा गरेर ल्याएको सरकारको लिखित वक्तव्यले मुलुकको विकास हुन नसक्ने ठोकुवा डा. नेपालको छ । सरकारको अहिलेको रवैयाले मुलुकमा बेरोजगरी र मूल्यवृद्धि आमनागरिकको पहुँचभन्दा बाहिर जाने भन्दै उनले समग्र देशको हितविपरीत अहिलेको सरकारले बजेटको नाममा आफूखुसी काम गरेको आरोप लगाए । उनले कमचलाउ सरकारले अध्याधेशबाट ल्याएको बजेटले मुलुकलाई थप धराशयी बनाउनेबाहेक कुनै काम गर्नै नसक्ने ठोकुवा गरे । औद्योगिक संकटसँगै बेरोजगारी थप्नेबाहेक बजेटको अर्को कुनै औचित्य नभएको उनको टिप्पणी छ । सरकारले मंंगलबार ल्याएको बजेटमा ३ खर्ब ५१ अर्ब ९३ करोड ६७ लाख रुपियाँ बराबरको खर्च गर्ने अधिकार रहेको छ ।

प्रतिक्रिया