सात वर्षअघिको त्यो दिन सायद भोगेसम्मकै सबैभन्दा अँध्यारो थियो, साहित्यकार जगदीश घिमिरेलाई । नजिकै आएर मृत्युले जिस्क्यायो । ठूलो हुरीले निमोठनामठ पारेको शिथिल पालुवाजस्तै भएँ । हुन पनि एकदमै नजिकबाट मृत्युत्रासले हल्लाएर गयो घिमिरेको जिन्दगी । त्यसो त जिन्दगीको निश्चितप्राय: नियमसँग अज्ञात कोही पनि छैन । तर, बोनम्यारो परीक्षणपश्चात् आफूलाई मल्टिपल माइलोमाले गाँजेको पत्तो लाग्नु, भोग्नुअगावै दु:खद भविष्य थाहा पाउनु र आफ्नै जीवनान्तका सबल सम्भावनाहरूलाई निरीह रमिते मात्र बनी हेरेर बस्नुपर्नेजस्तो बाध्यकारी पीडा सायदै अर्को नहोला । जीवन–मृत्युबीचका तिनै भोगाइ अनि अनुभूतिहरूको भावगंगामा डुबेर उनले आत्मालाप (अन्तर्मनको यात्रा) पनि लेखे । अहिले मृत्युलाई पयठ लगाएर सिर्जनाका जीवनदायिनी काममा तल्लीन छन् । यसको कारण उही हो– उनले बोध गरेको मृत्युत्रास र जीवनप्रेम ।
चोटको दर्द सहेर आँसु लुकाउनु कठोर तपस्या गरे बराबर हो । कति अवस्थामा अझ ठूलो दु:खको आमन्त्रण पनि हुन सक्छ । उनले पनि आफ्ना आँसुहरू पत्नीलाई सकेसम्म नदेखाउन प्रयास गरे । पत्नी दुर्गालाई निकै प्रेम गर्छन् घिमिरे तर त्यो प्रेम बढीजसो अन्तर्मनभित्र रहन्छ । शब्द होइन भावनाबाट अभिव्यक्त हुन्छ । उनले पत्नीलाई दुखाउन चाहेनन्, त्यसैले त सकेसम्म पीडा लुकाउने प्रयास गरे । वाणी वा भाषावाट प्रकट हुने प्रेम र हृदयबाट प्रवाहित हुने भाषाहीन प्रेमको भेद पनि यही हो सायद । जगदीश र दुर्गाको प्रेम सहृदयी बढी छ, त्यसले शब्दमार्फत प्रकट हुने रूखो औपचारिकतालाई ठूलो मान्दैन । एउटा भावसर्जक, जसको घाउ मस्तिष्कमा हुन्छ र चाहिएका बेला पाप्रा उप्काएर अनुभूतिलाई शब्दमा ब्यक्त गरिरहेको हुन्छ । आफ्नो मस्तिष्कउपर लागेको चोटका पाप्रा उप्काएर जगदीशले ‘अन्तर्मनको यात्रा’ लेखे । उनकी जीवनसंगिनी दुर्गाले भनेकी छिन्– ‘जगदीशको अन्तर्मनको यात्रा मेरो आँसुको मसीले लेखिएको हो ।’
एउटै चोटले दुई मानिसलाई बराबरी दर्द होला ? लुकाए पनि वा देखाए पनि दुवैले बराबरी आँसु बगाउन सक्लान् ? हृदयभित्रको प्रेमको वस्तुगत नापतौल सम्भव छैन, त्यसैले यसको जवाफ पनि छैन । तर, मल्टिपल माइलोमाको एउटै चोट, एउटै घाउ र एउटै प्रहारका साझा निसाना भए जगदीश र दुर्गा । सायद, उनीहरूको प्रेमको मिलनस्थल यही हो, जहाँ प्रेमिल शब्दको सिरानी हालिएको छैन । नबोलेरै आपसी पीडा र वेदना एकअर्काले बुझेका छन् । एकअर्कालाई पीडा नदिनकै लागि आँसु लुकाए । तर, जगदीशले अन्तर्मनको यात्रामा दुर्गासँग भनेका छन्, ‘म तिमीलाई प्रेम गर्छु त भन्न सक्दिनँ तर आफ्नो कर्तव्य अवश्य पूरा गर्छु ।’
जगदीश घिमिरेको जीवन पढ्दा लाग्छ– उनले आँसुलाई मानिसलाई कमजोर देखाउने तत्त्व बुझेका छन् । त्यसैले जीवनको कठिन घडीमा प्रेयसीबाट पनि आँसु लुकाएर आफूभित्रै बाँच्ने शक्ति पैदा गरे । ‘दुर्गाको अघि कहिल्यै रोइनँ’, उनले सुनाए । मल्टिपल माइलोमालाई बुझिसकेपछि पनि बाहिर देख्दा उनका आँखा ओभानै रहे । डाक्टरले नै आयु नै तोकिदिँदा पनि आँखाले पीडाको भाव खोलेन । दुर्गाको आँसुले भने जगदीशलाई घोचिरह्यो । क्यान्सरले भन्दा दुर्गाका आँसुमा बढी दुख्थे । त्यसो त दुर्गा पनि रुन्थिन् त जगदीशकै पीडाले दुखेर । दुर्गाका आँसु रोक्न उनले आफूलाई सकेजति तन्दुरुस्त भएको देखाउनु थियो । प्रयास गर्थे पनि त्यस्तै । त्यहाँ नबोलीनबोली मायाको भावगंगा विस्तार हुन्थ्यो, मायाले मनको स्फूर्ति बढाउँथ्यो । निरीह बनेर अस्पतालको शय्यामा लडिरहँदा पत्नीको मुहारभाव पढिरहन्थे । अनि सोच्थे– ‘यिनको मायाले नै मलाई बचाउँछ ।’ लामो श्वास तानेर मनमनै गुन्थे– ‘माया गर्ने मान्छे भएपछि रोगलाई पनि जित्ने मानसिक शक्ति मिल्ने रहेछ ।’ लाग्छ– जुनको उज्यालो छरिएको पहाडमा देखिने डरलाग्दो पाश्र्वचित्र प्रभाती किरणले मेटेजस्तै दुर्गाको माया र उनीसँगको दाम्पत्य जगदीशका लागि लालित्यपूर्ण बिहानी हो ।
‘वैवाहिक जीवनको वास्तविकता सिनेमा स्टाइलको हुँदैन’, दाम्पत्य सम्बन्धबारे आफ्नै टिप्पणी छ जगदीशको । त्यसैले होला, पत्नी दुर्गासँग गरिएको प्रेमलाई ‘निरस’ को उपमा दिन्छन् । यसमा पनि तर्क छ उनको, ‘पतिपत्नीको प्रेमसम्बन्ध विज्ञापन गर्ने चिज होइन ।’
तीन वर्षको प्रेमलाई विवाहसूत्रमा बाँधेपछि ३८ वर्ष कटाइसके यी घिमिरेदम्पतीले । तर, उनको सम्बन्धमा केटाकेटीपन कहिल्यै आएन रे † न त सम्बन्धलाई ग्ल्यामर नै बन्न दिए । दुर्गाको दयालु, मायालु अनि केयरलेस स्वभावलाई आत्मीय ठान्छन् जगदीश । त्यसो त जगदीशको कचकचे स्वभावमा आफ्नोपन पाउँछिन् दुर्गा पनि । कहिले जगदीश, कहिले ए हजुर, कहिले बुबा त कहिले राजाको नामले सम्बोधन गर्छिन् पतिदेवलाई ।
दैनन्दिनका व्यवहारमा माया र गाली दुवै गर्दी रहिछन दुर्गा जगदीशलाई । उनीहरू दुवैलाई यो पनि त थाहा रहेछ नि– माया र गाली दुवैको योगफल हो फेरि पनि माया । । ‘जहिल्यै कचकचे भनेर गाली पाउँछु’, आफूप्रति दुर्गाको टिप्पणी सम्झँदै आफूलाई जोगाए जगदीशले, ‘मलाईचाहिँ म कचकचे छु जस्तो लाग्दैन, भनेको समय र ठाउँमा चिज पाइएन भने अलि चित्त बुझ्दैन र मात्रै ।’
०२७ सालताका दुर्गा विद्यार्थी राजनीतिमा थिइन्, नेपाल विद्यार्थी संघको पहिलो महिला कोषाध्यक्ष । आन्दोलनका क्रममा पटकपटक जेल परेकी । जगदीश पनि साहित्यिक वृत्तमा चर्चितै थिए । सार्वजनिक जीवनमा नै उनीहरूको चिनजान भयो । नामबाट परिचय घनिष्ट हुँदै गएका यी दुईबीच दोस्ती बढ्यो । अनि, आँखाआँखाले प्रेमप्रस्ताव राखे, आत्माले स्विकारे । बिहेअघिका दिन सम्झँदै छन् जगदिश– ‘मिटिङ, गोष्ठीको देखभेटले पुगेन, अनि चिया–खाजा खान रेस्टुरेन्ट जान थाल्यौँ ।’ तीन वर्ष प्रेममय भेटघाट र वार्तालापपछि घरको स्वीकृतिमा उनीहरू पतिपत्नी भए । भान्छाका सामान्य परिकार मात्रै जानेकी दुर्गालाई आपैँmले सिकाएर भातभान्छामा पोख्त बनाएको जगदीश बताउँछन् ।
अलि खरो स्वभावका लाग्छन् जगदीश । जीवनका अन्य पक्षमा भैँm भान्छामा पनि त्यो खरोपना देखाइहाल्दा रहेछन् । ‘मैले थालेको काम सघाउन आएको मन पर्दैन, उनले गरेको काममा पनि सघाउने बानी भएन,’ भान्छामा काम गर्दाको उनको स्वभाव । आफ्नो काम आपैँmले गर्ने बानी परेका जगदीशले पछिल्लो पाँच वर्षयता स्वास्थ्यका कारण भान्छाका काम गर्न सकेका रहेनछन् ।
साहित्यमा जम्ने सुरले जनकपुरवाट काठमाडौं हान्निएका जगदीशले दुई सय रुपियाँबाट जागिर थालेका थिए । नेपालमा धेरै कमाउनेको सूचीमा पनि थियो एकताका उनको नाम । ‘तर, जीवनमा कमाएर सुखी हुने होइन रहेछ’, जीवनको सार्थकता बोध गर्छन् । राजनीतिबाट टाढिँदै दुर्गा चेलीबेटी बेचविखन रोकथाम अभियानमा लागिन्, जगदीश साहित्यकारसहित जागिरे पनि भइराखे । ‘हाम्रो त्यस्तो झगडा परेको छैन, धेरै व्यस्त भएर पनि दुवैलाई झगडा गर्ने समय नपुगेको हो कि †’, जगदीशले नहाँसीकनै ठट्टा गरे ।
दुर्गाको स्वभावचाहिँ जगदीशको भैँm ‘निरस’ छैन । दुर्गा गायनमा पनि पोख्त छिन्, राम्रो त लेख्छिन् नै । तर, दुर्गाको गायनले अहिलेसम्म जगदीशलाई लठ्याउन सकेको रहेनछ । त्यसैले गीतसंगीतमा अघि बढ्न कहिल्यै हौस्याएनन्, बरु लेखनतिरै प्रेरित गरे । त्यसभन्दा बढी दुर्गालाई आफ्नो गतिलो पाठकका रूपमा गर्व गरे । मानव बेचविखनविरुद्ध काम गरेकाले दुर्गाको लेखनीमा सशक्तता आउने उनले देखेका छन् । ‘उनको जति अनुभव मेरो भए लेखाइमा कति निखार आउँथ्यो होला’ –उनी भन्छन् । लोग्नेबाट बेचिएकी स्वास्नीले सतित्व जोगाउँदै उनैलाई जीवनभर कुर्दै बसेको, आमा–बुबाले छोरी बेचेका दर्दनाक कहानी दुर्गाको मुुखबाट पटकपटक सुन्दा आपैँm जुरुक्क उठेर त्यही अभियानको सहयात्री बनौँ भन्ने पनि लाग्छ जगदीशलाई । फेरि सोच्छन्, ‘म एक महिलाको अनुभूति गर्न कहाँ सक्छु र †’ त्यसैले ‘फालिएका’ महिलाको जीवनकहानी लेख्न दुर्गालाई प्रेरित गर्छन् उनी । स्वास्नीमान्छेलाई बिहेपछि घरभित्र खुम्च्याएर राख्नु हुँदैन भन्ने मान्यताले प्रशिक्षित छन् उनी । त्यसैले दुर्गालाई काममा कहिल्यै रोकेनन् ।
तर, दाम्पत्य जीवनका रोमान्टिक पलहरू जगदीशको साहित्यलेखनका विषय कहिल्यै बनेनन् । ‘जीवनका रमाइलो खोल्नुपरे त आपैँm रोमान्टिक उपन्यास लेख्थेँ’, रुखो जवाफ फर्काए उनले । तैपनि, उनीसँग श्रीमतीको प्रेमानुभूति खुल्ने केही क्षण पक्कै छन् । रिसमा पनि दुर्गा मुस्कुराइदिन्छिन् । जगदीशको रुखो व्यवहारलाई उनको हँसिलो व्यवहारले जितिदिन्छ । त्यही व्यवहारमा जिउने दरिलो साथ भेट्टाउँछन् उनी । अनि फिस्स हाँसिदिन करै लाग्छ जगदीशलाई । तैपनि, आफ्नो दाम्पत्यजीवनलाई संघर्षको बाटोको उपमा दिएर टुंग्याउँछन्, ‘हाम्रो सम्बन्ध कहिल्यै ग्ल्यामर बनेन ।’
प्रतिक्रिया