मुम्बई : ८६ वर्षको उमेरमा शनिबार अपराह्न मुम्बईमा निधन भएका भाषिक एवं धार्मिक अतिवादी पार्टी शिवसेनाका संस्थापक अध्यक्ष बाल ठाकरेको राजकीय सम्मानका साथ दाहसंस्कार गरिएको छ । पुने, नासिक, ठाडेसहित महाराष्ट्रका धेरै इलाकाबाट मुम्बई आइपुगेका समर्थकसामु गरिएको ठाकरेको दाहसंस्कारमा भारतीय राजनीतिमा क्षेत्रीय तथा केन्द्रीय रूपमा पकड राख्ने नेतासहित कलाकार, खेलाडीको समेत उपस्थिति थियो । दाहसंस्कारमा ठाकरेका छोरा तथा शिवसेनाका कार्यकारी अध्यक्ष उद्धव र ठाकरेका भतिजा राजको पनि उपस्थिति थियो ।
नीतिन गणकरी, अरुण जेट्ली, सुस्मा स्वराज, गोपीनाथ मुण्डे, लालकृष्ण आणवाडी, मेनका गान्धीसहित भारतीय जनता पार्टीका शीर्षस्थ नेतासहित राजीव शुक्ला, अमिताभ वच्चन र शरद पवार पनि उक्त समारोहमा उपस्थित थिए । सम्भावित घटनालाई ध्यानमा राख्दै मुम्बईमा आइतबार ४८ हजार प्रहरी परिचालन गरिएको थियो भने अटो रिक्सा र ट्याक्सी चलाउन रोक लगाइएको थियो ।
दाहसंस्कार गरिनुअघि ठाकरेको पार्थिव शरीरलाई उनको निवास मातोश्रीबाट बिहान आठ बजे निकालेर ट्रकमा राखी सहर परिक्रमा गराउँदै शिवजी पार्कमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको थियो । यस क्रममा तीन तहको सुरक्षा व्यवस्था मिलाइएको थियो ।
करिब पाँच दशक लामो ठाकरेको राजनीतिक जीवनमा उनी प्राय: विवादको घेरामा रहे । सन् १९९३ को बाबरी मस्जिद आक्रमण र यसपछिको हिन्दू–मुसलमान हिंसामा शिवसेनाको हात रहेको आरोप थियो । यसका अतिरिक्त मराठी भाषालाई रोजागरमा प्राथमिकता दिनुपर्ने र धार्मिक रूपमा हिन्दू अतिवादीका रूपमा उनको राजनीतिक परिचय पनि निकै विवादमा रह्यो । यद्यपि उनी राजनीतिक जीवनमा कहिले पनि निर्वाचनमा उत्रिएनन् न त उनले कुनै सार्वजनिक पद नै सम्हाले । महाराष्ट्र र यसमा पनि यसको केन्द्र मानिने मुम्बईका हरेक क्षेत्रमा शिवसेनाको पकड रहेको छ ।
सन् २००९ मा क्रिकेटर सचिन तेन्दुलकरलाई दिएको मार्ने चेतावनी, सन् २०१० मा पाकिस्तानी क्रिकेटर सोहेब मलिकसँग विवाह गर्न लाग्दा भारतीय टेनिस खेलाडी सानिया मिर्जाविरुद्ध भएको मार्ने चेतावनी, मुम्बईमा बाहिरका मानिसलाई बस्नका लागि गरिएको परमिट सिस्टमको अवधारणा, इन्डियन प्रिमियर लिग(आइपिएल) क्रिकेटमा पाकिस्तानी खेलाडीलाई समेट्नुपर्ने गरिदिएको धारणाप्रति अभिनेता शाहरुख खानविरुद्ध भएको मार्ने चेतावनी र आइपिएल प्रतिबन्ध गर्नुपर्नेलगायत विषयमा पनि शिवसेना र यसका प्रमुख ठाकरे विवादको चुलीमा रहेका थिए । (एजेन्सी)
प्रतिक्रिया