उहाँसित भेटेरै कुरा गर्न मन छ

गत असोज १३ गते काठमाडौं क्षेत्र नम्बर ४ को क्षेत्रीय भेला उद्घाटनका क्रममा प्रवेश बस्नेतले मञ्चमै कांग्रेस सभापति सुशील कोइरालामाथि आक्रमण गरे । त्यसपछि बस्नेतलाई कांग्रेस कार्यकर्ताले मञ्चबाट तल झारेर कुटे । दुई हप्ता प्रहरीको नियन्त्रणमा रहेर घटस्थापनाको अघिल्लो दिन रिहा भएका उनी अहिले पनि एक–एक महिनाको अन्तरमा तारेख खेपिरहेका छन् । कोइराला परिवारसँग निकटतम सम्बन्ध रहेको बस्नेत परिवारका उनी काठमाडौं नेविसंघका सह–सचिव र क्षेत्र नम्बर ४ का क्षेत्रीय सभापतिसमेत थिए । हाल उनी यी सबै जिम्मेवारीबाट दुई वर्षलाई निलम्बित भएका छन् । उनी सम्झन्छन्, ‘मलाई अपमान गरियो, त्यसैले आक्रमण गरेँ ।’

हाम्रो परिवार ०२२ सालमा काठमाडौं आयो । त्यसअघि पनि सोलुखुम्बु र रामेछापमा कांग्रेसका तर्फबाट राजनीति गथ्र्यो । म नेविसंघमा आबद्ध छु । असोज १३ बिहानैदेखि म क्षेत्रीय भेलाको तयारीमा व्यस्त थिएँ । तर, कार्यक्रममा कनिष्ठलाई आसनग्रहण गराइयो, मलाई वास्तै गरिएन । कांग्रेसको ठूलो भ्रातृ संस्था नेविसंघको स्थानीय प्रतिनिधि मलाई मञ्चमा बोलाइएन । जबकि कांग्रेस–एमालेका स्थानीय नेताचाहिँ मञ्चमा बसे । मलाई अपमान महसुस भयो ।
कार्यक्रम सञ्चालक श्याम संगतलाई आफूलाई नबोलाउनुको कारण सोधेँ । तर, उनले मलाई उल्टै उता जाउ भनेर धकेले । आफ्नो परिवारको त्याग र योगदान अनि आफूमाथि भएको अपमान झलझली आँखामा घुमिरहेपछि सहनै सकिनँ । गिल्टी फिल भयो । एक्कासि आक्रोश बढ्यो, बिपीको फोटो हाल्ने फ्रेमले कार्यक्रम सञ्चालकसहितलाई प्रहार गरेँ । तनाबका कारण अगाडि को छ, दिमागमै आइरहेको थिएन । सुशील कोइरालालाई पनि लागेछ । उहाँलाई व्यक्तिगत रूपमा आक्रमण गर्नु जरुरी थिएन, नियत पनि थिएन । झगडा गर्ने योजना हुँदो हो त एक्लै पक्कै जाँदैनथेँ, साथीहरू लैजाँदो हुँ । तर, हल्ला गर्नेहरूले जे पनि भन्दा रहेछन् ।
अहिले पार्टी एक छ तर त्यो कार्यक्रमको आयोजनाचाहिँ पहिले प्रजातान्त्रिक कांग्रेसमा रहेकाहरूले गरेका हुन् । हामीले चाहिँ गिरिजाबाबुलाई कहिल्यै पनि छोडेनौँ । उहाँसँग बस्नेत परिवारको नजिकको सम्बन्ध थियो । उहाँ सांसद्को टिकट बाँड्दा र पार्टीका तर्फबाट मन्त्री बनाउँदा यही सिफल हाइटको हाम्रो घरलाई छलफलको केन्द्र बनाउनुहुथ्यो । बाहिर यस्ता बैठकलाई ‘कोठे बैठक’को उपमा दिइन्थ्यो । हाम्रो तीनै पुस्ताले इमानदारिता र त्यागको परिचय देखाउँदै आएको थियो ।
म अनि मेरो परिवारलाई नचिन्नेहरूले त्यो घटनालगत्तै ममाथि आक्रमण गरे । लगभग मरिसकेको थिएँ, दिदी अनार बस्नेत र गगन थापाले बचाउनुभयो । कोइराला खानदानसँग नजिक भएको डाहामा देउवापक्ष (पहिलेका प्रजातान्त्रिक) हरूमा रिस थियो, । त्यसैले मलाई अपमान गरे, आक्रमण गरे । नराम्रो हल्ला पनि चलाए । चर्चामा आउन प्रवेश बस्नेतले सभापतिमाथि आक्रमण गर्‍यो पनि भने । तर, उनीहरूले सिर्जना गरेको वातावरणले नै त्यो घटना गराइदिएको हो । सभापति पनि आक्रमणमा परेपछि अलिकति गिल्टी फिल भयो । फेरि मिडियाले पनि सुशील कोइरालालाई लक्षित गरिएजसरी प्रचार गरे । यो कुराले चाहिँ निकै तनाब भयो । अरू त राजनीतिमा तलमाथि भइहाल्छ नै ।
राष्ट्रिय राजनीतिमा कांग्रेसको भूमिका सन्तोषजनक नभएकाले आक्रमण गरेको भन्ने हल्ला पनि चलेछ । नेपाली कांग्रेसमा चाकडीको ठूलै प्रवृत्ति छ । धेरै पछि राजनीतिमा आउनेले पनि छोटो समयमै भ्रष्टाचारको कीर्तिमान बनाइसके । तर, हाम्रो परिवारले लाभदायी पद चाहियो भन्दै कहिल्यै नेताको दैलो चहारेन ।
घटनालगत्तै पुलिसले मलाई नियन्त्रणमा लियो । सुशील कोइरालाले नै ममाथि आक्रमण रोक्न अपिल गरेका थिए । मुखमा धेरै नै चोट लागेको थियो । बौद्ध प्रहरीकोमा पुर्‍याइयो । बौद्धस्थित स्तुपा हस्पिटलमा सामान्य उपचार गरी बौद्ध प्रहरीकै नियन्त्रणमा बसे । घटस्थापनाको अघिल्लो दिन २० हजार धरौटीमा रिहा भएको छु । सार्वजनिक मुद्दा लगाइएको थियो । महिना–महिना तारिख धाइरहेछु ।
पार्टीका तर्फबाट तीनवटा छानबिन समिति बनेकाले दुई हप्ताजति जेलमा बस्नुपर्‍यो । विवादमा आइन्छ भनेर होला, कुनै पनि नाम चलेका नेता जेलमा भेट्न आएनन् । घटनाको छानबिनका लागि समितिका सदस्यहरू त आउनै परिगो । पारिवारिक पृष्ठभूमिलाई हेरेर प्रहरी प्रशासन र समितिले उति धेरै सोधखोज गरेनन् । ममाथि गम्भीर प्रकृतिको मुद्दा लगाउने चर्चा भए पनि सभापति सुशीलदाले नै रोक्नुभएको सुनेको छु । घटनापछि सुशीलदाले ठूलोबुबा पुरुषोत्तम बस्नेतसँग सोध्नुभएछ– ‘उसले रक्सी आएर आक्रमण गरेको हो ?’ तर, म बिरामी परेकाले रक्सी नै खान्नँ । सभापति कोइरालासँग भेटेरै कुरा गर्न मन छ । केही दिनमै भेट्छु । भन्छु– ‘आफूहरूलाई बाइपास गर्न खोजियो ।’
विद्यार्थीकालदेखि नै यो पार्टीमा आबद्ध छु । हल्ला फैलाइएजसरी पार्टी राजनीतिबाट दिक्क भएको छुइनँ । अझै सशक्त रूपले लागिपर्ने गर्ने सोच छ । कांग्रेसबाट अन्य पार्टीमा गइँदैन पनि ।
प्रस्तुति : रमेश सापकोटा

प्रतिक्रिया