विदेशीले ल्याए नेपाली एल्बम

काठमाडौं : मोरेसियन लेखक देव राखले गाएका नेपाली गीतको भिडियो संग्रह ‘जिन्दगीका झलकहरू’ सार्वजनिक भएको छ । आइतबार पाटनको यलमाया केन्द्रमा संस्कृतिविद् सत्यमोहन जोशीले एल्बम सार्वजनिक गरे ।
विदेशीले नेपाली गीत गाउनु सकारात्मक भए पनि ती गीतमा नेपाली संस्कृति झल्काउने बाजा प्रयोग नभएकोमा जोशीले असन्तुष्टि व्यक्त गरे । ‘दश वर्षदेखि नेपाल आउने/जाने गरे पनि नेपाली भाषा नसिक्नु गायकको मुख्य कमजोरी हो,’ जोशीले भने ।
संगीतकार सन्तोष श्रेष्ठले विमोचित एल्बमका गीतमा नेपाली मौलिक संगीत हुन नसक्नुमा गायक स्वयंकै चाहना भएको बताए । उनले भने, ‘गायकले जेजे भने हामीले त्यही गरेका हौँ ।’
गायक राखले पछिल्लो समय नेपाली दर्शक तथा श्रोताको म्युजिक भिडियोमा आकर्षण बढेकाले आफूले पनि म्युजिक भिडियो एल्बम ल्याएको बताए । एल्बमका सबै गीतमा राखकै स्वर छ । कवि मन्जुल, मिठु रावल र माधव निर्दाेषका शब्दमा ६ वटा गीत संगृहीत एल्बमका सबै गीतका संगीतकार सन्तोष हुन् । म्युजिक भिडियोको निर्देशन श्रीराम पुडासैनी, रवीन्द्र बराल, अर्जुन अधिकारी, पिएन शेर्पालगायतले गरेका छन् । राख मोरेसियसका चर्चित लेखक पनि हुन् । (सौस)

प्रतिक्रिया