मंसिर एक गते बजेट आउने सम्भावना

काठमाडौं, २८ कात्तिक । मुलुकको राजनीतिक गतिरोध अन्त्य र बजेटका विषयमा राष्ट्रपति डा.रामवरण यादवले प्रमुख दलका शीर्ष नेताहरुसँग परामर्श गरेका छन् ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आज भएको छलफलमा राजनीतिक सहमतिमा बजेट ल्याउन डा.यादवले शीर्ष नेताहरुसँग पुनः आग्रह गरेका हुन् । उनले दलहरुलाई मंसिर एक गते सम्म सहमतिमा बजेट पेश गर्न सुझाव दिए ।
विपक्षी दलहरुको विरोधका कारण सरकारले पूर्ण बजेट ल्याउन नसकि रहेका समयमा डा.यादवले मंसिर एक गते भित्रै सहमति गर्न दवाव दिएका हुन् ।
छलफल पछि सञ्चारकर्मीसँग कुरागर्दै मधेसी मोर्चाका नेता तथा उपप्रधानमन्त्री विजय गच्छेदारले सहमतिमा बजेट ल्याउन सुझाव दिएको बताए । उनले राजनीतिक गतिरोध अन्त्य गर्न पनि डा.यादवले शीर्ष नेताहरुलाई पुनः आग्रह गरेको बताए ।
मोर्चाका नेता गच्छेदारले मंसिरको पहिलो साता बजेट ल्याउने बताए । उनले त्यसका लागि सरकारले सहमतिका साथै तयारी गर्ने बताए ।
राष्ट्रपति डा.यादवसँगको छलफलका लागि एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष झलनाथ खनाल तथा मधेसी मोर्चाका नेता गच्छेदार शीतल निवास पुगेका थिए । दाहाल, कोइराला र खनालले भने आज कुनै प्रतिक्रिया दिन मानेन् ।

प्रतिक्रिया