इन्स्पेक्टरले ८० हजारको पटाका बाँडे

वीरगन्ज, २८ कात्तिक । गृह मन्त्रालयले तिहारमा पटाकाको ओसार–पसार, बिक्री र प्रयोग गर्न रोक लगाएको छ । तर, वीरगन्जको वडा प्रहरी कार्यालय विर्ताका इन्स्पेक्टर सुजन जोशीले तिहारको उपहार भन्दै आफ्ना नातागोता, दलका नेता र सञ्चारकर्मीसमेतलाई पटाका बाँडेका छन् ।

पोके तस्कर, व्यापारी र सर्वसाधारणबाट प्रहरीले खोसेर लिएको पटाका इन्स्पेक्टर जोशीले आºना हितैषीहरूलाई दीपावलीको उपहारस्वरूप बाँडेका हुन् । तीन–चार दिनको अवधिमा प्रहरीले विभिन्न स्थानबाट बरामद गरेकोमध्ये इन्स्पेक्टर जोशीले करिब ८० हजार मूल्यबराबरको पटाका बाँडिसकेको स्रोतले बतायो । इन्स्पेक्टर जोशीले आइतबार र सोमबार पटाका बाँडेका हुन् । सोमबार बिहान वडा प्रहरी कार्यालय विर्तामा छिरेका वीरगन्जको एक दैनिक पत्रिकाका प्रकाशक तथा सम्पादक पटाकासहितको झोला लिएर निस्किँदै थिए । इन्स्पेक्टर जोशीले सोमबार मात्रै करिब १२ जना पत्रकार र आºना चिनजानका व्यक्तिलाई उपहारस्वरूप पटाका बाँडेको कार्यालयकै एक प्रहरी जवानले नाम नबताउने सर्तमा सौर्यलाई बताए ।
इन्स्पेक्टर जोशीले पटाका नभई केही व्यक्तिलाई झिरझिेर बाँडेको दाबी गरे । उनले भने, ‘मैले पटाका बाँडेको होइन, केही अभिभावकले केटाकेटीले जिद्दी गरे गरेको भन्दै अनुरोध गरेपछि दुई/चार प्याकेट झिरझिरे मात्र दिएर पठाएको हँु ।’ आफूसँग थुप्रै व्यक्तिले पटाका मागे पनि कसैलाई नदिएको उनको भनाइ छ । ‘पटाका माग्न आउनेमध्ये ९९ प्रतिशत व्यक्ति पत्रकार नै थिए,’ उनले थपे ।
जिल्ला प्रहरी कार्यालय पर्साले गृह मन्त्रालयको निर्देशनअनुसार पटाका ओसारपसार, बिक्री–वितरण तथा पड्काउनेलाई नियन्त्रणमा लिएर सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा चलाउने कारबाही गर्ने चेतावनी दिँदै आएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं डिएसपी राजेन्द्र विष्टले प्रहरीले बरामद गरेको सामान कसैलाई दिन नमिल्ने बताए । ‘यदि त्यस्तो केही भएको रहेछ भने हामी अनुसन्धान गर्छौं,’ उनले सौर्यसँग भने, ‘दोषी पाइए जोसुकै भए पनि कारबाही हुन्छ ।’
इन्स्पेक्टर जोशीले भन्सार राजस्व छलेर सीमावर्ती भारतीय बजारबाट अवैध रूपमा भित्र्याइएको मालसामानमा नियन्त्रणमा लिएर आºनो व्यक्तिगत प्रयोगमा ल्याउने गरेको समाचार सौर्यमा केही समयअघि प्रकाशन भएको थियो । २ असोजमा वडा प्रहरी कार्यालय विर्ताले बरामद गरेको अवैध भारतीय चारवटा टेलिभिजन इन्स्पेक्टर जोशीले भन्सार कार्यालयमा नबुझाईकन आफू र आºना कर्मचारीबीच भागबन्डा लगाएका थिए । यसैबीच, जिल्ला प्रहरी कार्यालय पर्साले विभिन्न समयमा बरामद गरिएको करिब पाँच लाख रुपियाँ मूल्य बराबरको पटाका सोमबार पानीमा खन्याएर नष्ट गरेको छ ।

प्रतिक्रिया