राष्ट्रिय आन्दोलन आवश्यकः केसी

नुवाकोट, २७ कात्तिक । कांग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले वर्तमान सरकारको वहिर्गमन नै विपक्षी दलहरुको प्रमुख एजेण्डा रहेको बताएका छन् । उनले नयाँ निर्वाचन अपरिहार्य रहेको अवस्थामा कामचलाउको हैसियतमा रहेको सरकार विघठन हुनु पर्ने बताए ।
प्रेस युनियन नुवाकोटले आज सदरमुकाम विदुरमा आयोजना गरेको पत्रकार भेटघाटमा कार्यक्रममा केन्द्रीय सदस्य केसीले वर्तमान सरकारको राजनीतिक, कानूनी र संवैधानिक कुनैपनि हैसियत नरहेको बताए ।
सरकारले सहमति गर्नुको साटो प्रतिपक्षी दलहरुलाई सहमतिका नाममा गलाउने र फकाउने गरिरहेको उनले वताए । स्वच्छ र धाँधलीरहित निर्वाचन गर्न सहमतीय सरकारको विकल्प नरहेकाले सरकारले सहमतिका लागि मार्गप्रसस्त गर्नुपर्ने उनको भनाई थियो ।
शान्ति प्रकृयाको नेतृत्व गरेको कांग्रेसले स्वभाविक रुपमा सरकारको नेतृत्वमा दावी गरेपनि सहमतिका लागि अन्य विकल्प समेत खुला रहेको उनले वताए ।
नेता केसीले सहमतिबाट नयाँ सरकारको बाटो नखोलेकोले सरकारको वहिर्गमनका लागि सशक्त राष्ट्रिय आन्दोलन गर्ने निष्कर्षमा प्रतिपक्षी दलहरु पुग्नु परेको स्पष्ट पारे ।
उनले सहमतिको वातावरण विगारेर जसरी भएपनि पूर्ण बजेट ल्याउने भन्ने एमाओवादी नेतृत्वको सरकारको भनाई गैर जिम्मेवार पूर्ण रहेको बताए ।

प्रतिक्रिया