तरकारी खेतीबाट लाखौँ आम्दानी

जाजरकोट, २७ कात्तिक । चार/पाँच वर्ष अघिसम्म जाजरकोट जगतिपुर–१, मटेलाकी ३५ वर्षीया कालुदेवी पुन मगरको परिवारलाई दुई छाक टार्न पनि धौ–धौ थियो । न अन्न उत्पादन राम्रो हुन्थ्यो न त आम्दानीको अर्काे कुनै स्रोत नै थियो । तर, अहिले उनीहरूको जीवनशैली फेरिएको छ ।
व्यावसायिक रूपले तरकारी खेती गर्न थालेपछि उनीहरूको जीवनमा ठूलो परिवर्तन आएको हो । विद्यालयस्तरको कुनै पनि औपचारिक शिक्षा नलिएकी पुनले हाल तरकारी खेतीकै आम्दानीबाट छोरालाई पोखरामा ओभरसियर पढाइरहेकी छन् भने छोरीलाई छिमेकी जिल्ला रुकुमको चौरजहारीस्थित उच्च माविमा पढाइरहेकी छन् ।
वार्षिक एक लाखदेखि डेढ लाखसम्म आम्दानी गर्न सफल कालुदेवीलाई उनको काममा उनका पतिले पनि सहयोग गरेका छन् । बारीमा लटरम्म फलेको तरकारीलाई झिसमिसेमै सदरमुकामसम्म पुर्‍याउन उनका पति पनि सक्रिय छन् । महिलाहरूको सक्रियतामा जयलक्ष्मी कृषि सहकारी संस्था लिमिटेड गठन गरी त्यसमा आबद्ध भएर तरकारी खेतीबारे जानकारी लिएपछि यसमा हात हालेको कालुदेवी बताउँछिन् । महिला सक्रिय भएर तरकारी खेतीबाट राम्रो आम्दानी गर्न सफल भएपछि घरका पुरुषहरू पनि तरकारी खेतीतर्फ आर्कषित हुन थालेका छन् ।
यसैगरी स्थानीय धनवीर घर्ती पनि तरकारी खेतीबाट राम्रो आम्दानी गर्ने कृषकमध्ये एक हुन् । विद्यालयस्तरको कुनै पनि औपचारिक शिक्षा नलिएका घर्तीले पनि तरकारी खेतीबाट भएको आम्दानीबाट एक छोरीलाई स्टाफ नर्स, एक छोरीलाई ल्याब असिस्टेन्ट र छोरालाई एक सरकारी विद्यालयमा पढाइरहेका छन् । वार्षिक डेढ लाख आम्दानी गरिरहेका घर्ती घरमै बसीबसी राम्रो आम्दानी गर्न सकिन्छ भन्ने धारणा राख्छन् ।
केही वर्ष पहिले खेतीबालीको काम सकेर कामको खोजीमा भारत जाने गरेका उनी भन्छन्, ‘त्यतिबेलै भारतमा स्याउका पेटी बोक्न छोडेर यही पेसामा लागेको भए अहिले लखपति बनिँदोरहेछ तर के गर्ने बुद्धि अहिले आयो ?’ धान, मकै, गहुँजस्ता अन्नबाली लगाउने खेतबारीमा अहिले मौसमी तथा बेमौसमी तरकारी खेती गर्ने गरेको र अन्य खाद्यबालीभन्दा तरकारी खेतीबाट राम्रो आम्दानी हुन थालेपछि यसमै लागिपरेको जयलक्ष्मी कृषि सहकारी संस्था लिमिटेडकी सचिव सीता घर्तीले बताइन् । ‘हामी महिलाहरूका लागि झन् सहज छ,’ घर्तीले भनिन्, ‘घरको काम पनि हुन्छ, आम्दानी पनि हुन्छ ।’ घर्तीले पनि हाल तरकारी खेतीबाटै वार्षिक एक/डेढ लाख आम्दानी गरिरहेकी छन् भने छोरालाई दाङको एक निजी विद्यालयमा पढाइरहेकी छन् ।
स्वदेशमा रोजगारीको राम्रो प्रबन्ध नभएको भन्दै दिनहुँ युवाहरु बिदेसिइरहेका बेला घरमै बसेर राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बन्न सफल भएका उनीहरू युवालाई विदेश नजान सल्लाह दिन्छन् । मटेलाका कृषकले उत्पादन गरेको तरकारी सदरमुकाम खलंगा र छिमेकी जिल्ला रुकुमको पश्चिम क्षेत्रको प्रमुख व्यापारिक केन्द्र चौरजहारीमा खपत हुने गरेको छ ।

प्रतिक्रिया