काठमाडौं, २६ कात्तिक । राष्ट्रपति डा. रामवरण यादवले जनआन्दोलनका संवाहक शक्तिलाई एकजुट भएर अगाडि बढ्न आग्रह गरेका छन् ।
संविधानसभा विघटनसँगै राजनीतिक दलहरूबीच दूरी बढ्दै गएका बेला मिल्न आग्रह गर्दै आएका राष्ट्रपति डा. यादवले जनआन्दोलनका संवाहक शक्ति भन्दै एकजुट भई अगाडि बढ्न आग्रह गरेका हुन् । गणेशमान सिंहको ९७औँ जन्मजयन्तीका अवसरमा राजधानीमा शनिबार भएको कार्यक्रममा राष्ट्रपतिले चुनाव नै निकासको विकल्प भएको दोहोर्याउँदै जनआन्दोलनका संवाहक दलहरू एकजुट भएर अगाडि बढ्नुको विकल्प नभएको बताए । दलहरू अझै सहमतिमा पुग्न नसकेकोमा राष्ट्रपतिले चिन्ता व्यक्त गरे ।
कांग्रेस सभापति सुशील कोइरालाले दलहरू संकट समाधान गर्ने बाटोमा उन्मुख नभए ०६२/६३ को जनआन्दोलनका उपलब्धि गुम्नसक्ने चेतावनी दिए । दलहरूबीच विश्वासको संकट चुलिनुमा वर्तमान सरकार बाधक रहेको कोइरालाको भनाइ थियो । एमाले अध्यक्ष झलनाथ खनालले ठूलो दलका नाताले पनि एमाओवादीले संविधान निर्माणमा प्रभावकारी भूमिका निर्वाह नगरेको आरोप लगाए । राजनीतिक संकट समाधानमा मुख्य दोषी एमाओवादी रहेको आरोप लगाउँदै अध्यक्ष खनालले उनीहरूलाई आन्दोलनको बलले मात्र सहमतिमा ल्याउनुपर्ने धारणा
व्यक्त गरे ।
मथुरा श्रेष्ठ सम्मानित
नागरिक आन्दोलनका अगुवा डा. मथुराप्रसाद श्रेष्ठ ‘जनआन्दोलन स्वर्ण पदक– २०६९’ बाट सम्मानित भएका छन् । रत्नपार्कस्थित शान्तिबाटिकामा आयोजित विशेष समारोहमा राष्ट्रपतिले श्रेष्ठलाई सम्मान गरेका हुन् । गणेशमान सिंह तथा जनआन्दोलन सहिद स्मृति शान्ति प्रतिष्ठानले २००७ र ०६२/६३ को आन्दोलनमा उल्लेखनीय योगदान पुर्याएको भन्दै श्रेष्ठलाई सम्मान गरेको हो । श्रेष्ठ २०४६ को जनआन्दोलनपछि गठन भएको अन्तरिम सरकारमा स्वास्थ्यमन्त्री थिए ।
राष्ट्रपतिले जनआन्दोलनका कमान्डरको स्मृतिमा स्थापना भएको पुरस्कार नागरिक अगुवा श्रेष्ठले पाउनु सराहनीय भएको बताए । यस्तो कार्यले लोकतन्त्रप्रतिको आस्था अझै बढ्ने उनको भनाइ थियो ।
प्रतिक्रिया