यौनव्यवसायी महिला बढ्दै

 

सिरहा, २६  कात्तिक । यौनव्यवसायी महिलाको संख्या बढ्दै गएको पाइएको छ । बढीजसो आर्थिक अवस्था कमजोर भएका महिला यौनकार्यमा लागेका छन् ।
इन्द्रेणी सेवा समाजले सार्वजनिक गरेको तथ्यांकअनुसार पूर्वाञ्चल क्षेत्रमा ३२ हजार र सिरहामा दुई सय आठ महिला यौनकर्मी छन् । संस्थाले लहानमा पत्रकार सम्मेलन गरेर तथ्यांक सार्वजनिक गरेको हो । सिरहाको लहान, गोलबजार, मिर्चैया, ठाडी, माडर, सदरमुकामलगायतका बजारमा अत्यधिक संख्यामा यौनकर्मी महिला रहेको समाजका एचआइभी एड्स रोकथाम कार्यक्रम संयोजक निरञ्जन शाक्य कुशवाहाले जानकारी दिए । उनका अनुसार फेला परेका दुई सय आठ यौनकर्मी महिलामध्ये तीन एचआइभी संक्रमित छन् ।
यौन पेसामा संलग्न महिला बढीजसो १६ देखि ३५ वर्ष उमेरसमूहका छन् । अधिकांश यौनकर्मी महिलाले चेतनाका अभावमा एचआइभी संक्रमणबाट बच्न कन्डमको प्रयोग नगरेको अध्ययनले देखाएको छ । सिरहामा महिला र पुरुष गरी एक सय २० एचआइभी संक्रमित रहेको अनुमान गरिएको छ । तीमध्ये नौ महिला र नौ पुरुषमा एचआइभी पोजेटिभ देखिएको छ । यस्तै, ब्लु डायमन्ड सोसाइटी लहानका अनुसार सिरहामा ६ तेस्रो लिंगी पनि एचआइभी संक्रमित छन् ।

प्रतिक्रिया