बिहानदेखि दिन समाप्त हुन्जेलसम्म
म प्रतीक्षा गर्छु रातलाई
जब हामी दुवै एउटै कुनामा टाँसिएर
एक अर्कालाई
कुकुरले जस्तै चाट्छौँ,
विवाहपछि पनि बाँचिरहनका लागि
जनावर बन्न बहुत जरुरी हुन्छ
कुनैबेला ‘हङ्ग्री जेनेरेसन’मा आबद्ध बंगाली सर्जक मणिकाको कविता हो यो । सभ्यता, समाज, परिवार, विवाह, राज्य सबै अमानवीय संरचना हुन् भन्दै नग्नतालाई मात्र जीवनको सत्य ठान्ने अमेरिकी कवि एलेन गिन्सबर्गबाट प्रभावित मणिकाजस्ता थुप्रै सर्जक ‘हङ्ग्री जेनेरेसन’मा सम्मिलित थिए । उनीहरूका जीवनदेखि सत्यनिकट कविताले मथिंगल रन्काइरहेका बेला इलामस्थित कुइभिर फेदीमा लिङ्गेपिङ मच्चिइरहेको छ । जाँदो दसैँ, आउँदो तिहारको उपलक्ष्यमा उल्लासित नरनारी ‘धर्ती छोड्न’ कस्सिँदै छन् ।
‘वाउ † मान्छेजस्तै पिङ मच्चाइ पनि क्या सेक्सी’ चाक्लो नितम्ब, उठेको वक्ष र मादक मुस्कानयुक्त युवतीले पिङको लठारो समाएर हल्लाउन थालेपछि मैले भने, ‘को होलिन् उनी ?’
‘बहुलाइयो कि क्या हो ?’ छेउमै उभिएका एक कमरेड रिसाएझैँ गरे, ‘पाहुनाबारे यस्तो कुरा गर्न लाज हुँदैन ?’
‘भएको कुरा गर्न के को लाज,’ हावाले बत्तिइरहेका कपडाले छेक्न नसकेका युवतीका लाजका गहना नियाल्दै मैले सोधेँ, ‘के उनी सेक्सी छैनन् र ?’
कमरेड अवाक भए क्यार, बोलेनन् । ती युवती मावली आएकी रहिछन् । पछाडीबाट हेर्दा हृष्ठपुष्ठ अरबी घोडाजस्तै देखिन्थिन् । हिँडाइको चाल सुकुमारी हस्तिनीको जस्तै लाग्थ्यो ।
‘महिलाबारे यस्ता कुरा गर्दा चुटाइको वर्षा पो हुन्छ नि,’ टम्म परेको शरीरवाली ती युवती पिङबाट ओर्लिंदा कमरेड जंगिए, ‘सुनिन् भने चप्पलले चड्कन देलिन नि †’
त्यसपछि म मौन रहेँ । आँखाचाहिँ युवतीतिरै सोझिइरहे । मन भने कमरेडको सेक्सप्रतिको पाखन्ड देखेर बेचैन भयो । प्रचण्डबाट कुम हल्लाउँदै बोल्न सिके पनि यिनलाई बहुविवाह गर्न प्रचण्डपुत्र प्रकाशले तीनटा विवाह गरिरहनु परेन । द्वन्द्वकालमा बहुविवाह गर्नेलाई झम्टीझम्टी भाटा हान्ने उनी पहिल्यै दुईटी श्रीमतीको जोइ भएर आफू उभिएको धरातल बिर्सिसकेका छन् । खासखुस सुनिन्छ– कमरेड मौका परे अन्त पनि ‘चर्न’ पल्केका छन् । विश्वामित्रजस्ता महान् ऋषि त मेनकाको सौन्दर्यमा चिप्लिएका थिए भने यी बबुरा कमरेडको के कुरा †
तर, मलाई चित्त नबुझेको कुरा यथार्थ बोल्दा ‘बौलाहा’ बनिने र झुटको ललिपप खुवाउँदा असल भइने यो कस्तो समाज हो ? कामुकतासँगै सौन्दर्य छचल्काउँदै हिँड्ने ती युवतीलाई त लङ्गुरबुर्जा खेल्ने अधबैँसेदेखि घोडा डोहोर्याउने किसानसम्मले फर्की–फर्की हेरेकै थिए । भर्तृहरिले त्यत्तिकै भनेका रहेनछन्– ‘सत्य कुरो तीतो हुन्छ ।’
०००
अस्ति सदरमुकाममा परममित्र केशवसँग साक्षात्कार भयो । यसपल्ट पनि उनलाई थर सोध्ने आँट गरिनँ । सहरमा उनी वर्षौंदेखि गुमनाम छन् । नामै चलेकालाई त बिर्सने इलामले थर नभएको केशवलाई कताबाट चिनोस् † श्रममा विश्वास गर्दै अविराम पसिना चुहाउने विचरा उनी कसैसँग चिनिन पनि चाहँदैनन् । राम्ररी बोल्नसमेत नजान्ने ‘विद्वान’हरू बग्रेल्ती भएको सहरमा गज्जब अभिव्यक्ति शैली, उत्तिकै ज्ञानगुन र सुझबुझका धनी केशव भने सडकमा भौँतारिइरहेछन् । उनी पहिले घुम्ती थापेर चटपटे र पान बेच्थे । श्रीमतीले आत्महत्या गरिछन् । त्यसपछि बिरक्तिएका उनी घर रंग्याउने काममा लागेछन् । रक्सीमा रङमङ्गिइरहँदा उनले मलाई अचानक शिरदेखि पाउसम्म नियाले ।
‘तपाईंको ठाउँमा म भए सुनले पहेँलपुर भएर हिँड्थेँ,’ रित्तो गिलासमा जलजन्य राँको थप्दै उनले मलाई भने ।
‘किन सुन लगाउँदैमा ठूलो भइन्छ र ?’ अनायास आएको प्रश्नले रन्थनिएको मैले आफ्नो बचाउ गर्न खोजेँ, ‘सुनले भोक तिर्खा मर्दैन क्यारे †’
‘तपाईं पत्रिकामा लेख्ने, नाम र दाम कमाएको मान्छे,’ उनले मेरो रित्तो गिलासतिर नजर दौडाउँदै भने, ‘इज्जत जोगाउनलाई सुनजस्तै देखिने ग्यारेन्टेड गहना भए पनि लगाउनुपर्छ, बुझ्नुभो ।’
केशवको कुरा त बुझेँ तर चित्त बुझेन । सुन टल्काउँदा इज्जत बढ्छ भन्ने भ्रम पालेको जमातबाट पहिल्यैदेखि सिकार हुँदै आएकाले उनको कुरालाई गम्भीरतापूर्वक लिइनँ । चाडबाडमा आफन्तको घरमा जाँदा उनीहरूका नजरमा मेरो हैसियतको मानक सुन हो भन्ने बुझिसकेको थिएँ । कत्रो सिक्री झुन्ड्याएछ भनेर कतिले सर्टको कलर मिलाइदिने निहुँले गला नहेरेका होइनन् । कत्रो ब्रास्लेट भिरेछ भनेर ज्याकेटको बाउलामाथि सार्दै नाडी छाम्ने पनि नभेटिएका होइनन् ।
‘मेरा लागि सुन वाहियात हो,’ कुरो टुंग्याउन केशवतिर कड्किएँ ।
‘तपाईं बौलाहा कुरा नगर्नुस्, समाजका लागि सुन इज्जत हो,’ उनी झन् खरो उत्रिए ।
सुनको आतंकबाट समाज जसरी आक्रान्त छ त्यसको झिल्को उनमा पनि परेको रहेछ । सफा लुगा लगाएर घुम्ती चलाउँदा ‘कमाएको’ इज्जत ‘पेन्टर’ भएपछि खल्र्यामखुर्लुम गयो रे † त्यस्तो नहोस् भनेर उनी मेरो इज्जतप्रति सचेत देखिँदै सुन पहिर्याउन लागिपरेका रहेछन् । तर, म सहमत भइनँ । अचेल नेपाली कर्पोरेट हाउसहरू सुनको सिक्कादेखि ढिक्कासम्म उपहार दिन ताहुरमाहुर गरिरहेछन् । बढ्दै गएको बम्पर उपहारको यस्तो योजनाले अति भौतिक लोभी मानसिकतालाई दर्शाएको छ । यो भ्रम हो । सुन नलाउँदैमा केशवका अघि ‘बौलाहा’ ठहरिन्छु भने तयार छु । सुनमा नसजिँदा ‘बौलाहा’ भन्ने ढोँगी समाजसामु भन्नु केही छैन । आखिर कान र पुच्छर काटे पनि कुकुर कुकुर नै रहन्छ, गधा बन्दैन ।
०००
कसैले प्रेमलाई धर्म मानेका छन् त कसैले जीव सेवालाई । म चाहिँ धर्मको सम्बन्ध अन्तस्करणसँग हुन्छ भन्ने मान्यता राख्छु । चोर्नु, लुट्नु, ठग्नु मेरा लागि अधर्म हुन् भने सत्य बोल्नु, कुभलो नगर्नु र दु:खीको सेवा गर्नु धर्म हुन् । दसैँमा एकजना छिमेकी, जो ‘जात’ले दमाई हुन्, घरमै गएर उनको हातबाट टीका र जमरा लगाएँ । स्नेहपूर्वक टक्र्याएको भर्भराउँदो ‘सगुन’ पनि घुट्क्याइदिएँ । यो कुराले कथित उपल्लो जातका गोडाचारेक व्यक्तिको चित्त बाउँडिएछ ।
‘फलानो बौलाएछ, दमाईका हातबाट टीका लगाएर गति छोड्यो’ उनीहरूको निजात्मक रोइलो थियो, ‘उसकै हातबाट गन्हाउने झोल पिएर झनै धर्म छोड्यो ।’
सामुन्नेमा बोलेका भए प्रतिवाद हुन्थ्यो । पर्दापछाडि गनगनाएकाले बरु ‘बौलाहा’ नै सही, उनीहरूलाई स्पष्टीकरण दिनु जरुरी ठानिनँ । पाँच हजार वर्ष पुरानो हिन्दु संस्कृतिको विधि–विधान आज थोत्रो भइसकेको अवस्थामा मैले दमाईका हातबाट टीका–जमरा लाउनु र ‘सगुन’ खानुलाई कति पनि नहिच्किचाई स्वीकारेको थिएँ । संसार कति अदलबदल भइसक्यो, दुनियाँ कहाँ पुगिसक्यो, अझै धर्मका नाममा छुवाछूत र जातपातको कुरा जीवितै हुँ मन कुँडिनसम्म कुँडियो ।
‘धर्म छोडेर बौलाहा बनिहालेँ, अब के को डर’ दसैँ सकिनै लाग्दा घरमा घुक्र्याएँ, ‘अब राईकाँ गएर बंगुर र नेवारकामा गएर राँगाको मासु हसुर्छु ।’
मेरो जिद्दीप्रति हायलकायल परिवारले नाइनास्ती गर्ने कुरै थिएन । भनेअनुसारै होयाङ्मा खोलातिर हान्निएँ । वर्षौंपछि भेटिँदा त्यताका चिनारु पनि रौसिए । ‘दमाई काण्ड’ भुसको आगोझैँ फैलिए पनि ‘मासु काण्ड’को गाइँगुइँ सुनिएन ।
पाठ्यक्रम जतिसुकै राम्रो बने पनि समयानुकूल निर्माण र व्याख्या भएन भने समाजको आवश्यकता पूरा गर्दैन । त्यस्तै हिन्दु धर्मका विधि–विधान पनि परिमार्जन हुनु आवश्यक छ । यसमा असहमत धर्मका ‘ठेकेदार’हरूले स्वर्गको टिकट ठेक्कामै बेचे हुन्छ । म चाहिँ स्वामी विवेकानन्दलाई पछ्याइरहन्छु– ‘भोको पेटले धर्म हुँदैन ।’
०००
कोजाग्रत पूर्णिमा सकिँदै गर्दा मेरो मन घरी कल्पनामा त घरी सपनामा पिङ खेलिरहेको छ । ‘इज्जत’ गएको र ‘बौलाहा’ बनाइएकाले नियमित काममा मग्न हुन सकिरहेको छैन । दसैँलाई मान्यजनका हातबाट टीका र जमरासँगै आशीर्वाद थाप्ने पर्वका रूपमा लिइए पनि तास जुवाको बाहुल्य रह्यो गाउँमा । घरायसी लनतन सकेपछि तन्नेरीहरू जम्दै हार र मारको लडाईंमा उत्रिए । मनोरञ्जनभन्दा पनि ‘जित्नैपर्छ’ मान्यताले ग्रस्त भएकाहरू अहिलेसम्म ‘मैले २१ हजार हारेँ’, ‘मेरो महिना दिनको कमाइ चट्’, ‘सय लिटर दूधको पैसा एकै छाक’ भन्दै पछुताइरहेछन् । लिङ्गेपिङ नजिकै लङ्गुरबुर्जाको खाल थियो । तास, जुवामा दिलचस्पी नभएकाले मेरो खल्ती गरम थिएन ।
‘खोइ एक सय दिनुस् त, खेलिहेरौँ,’ गाउँकै साथीभाइसँग आग्रह गरिरहेँ, ‘जितेँ भने तुरुन्त फिर्ता गरिहाल्छु ।’
त्यसरी मागेमध्ये अधिकांशले नाइँनास्ती गरेनन् । फटाफट दिए । मलाई थाहा थियो, गोजीभरी ‘गाँठ’ नभई लङ्गुरबुर्जा जितिँदैन । अरूसँग मागेर खेल्नेले जित्नुको त आसै नगरौँ, साथीभाइ तथा अग्रजहरूले मागेअनुसार पैसा त दिए तर त्यो सामान्य कुरालाई प्रचारवाजी गर्दै हिँडेछन् ।
‘फलानो साँच्चै बौलाएकै हो, अब त के नै इज्जत बाँकी राख्यो र’ को अघोषित नारा भएछ, ‘हुँदा हुँदा पैसा मागेर लङ्गुरबुर्जाको खालमा पनि बस्न थाल्यो ।’
रमाइलाका रूपमा खेल्न मन जितेका साथीभाइसँग पैसा माग्दा यसरी थाहै नपाई ‘इज्जत’ जाँदो रहेछ, ‘बौलाहा’ बन्नु पर्दोरहेछ । उनीहरूजस्तो साँच्चिकै पैसा बोकेर खालमा अड्डा जमाएको भए मेरो के के जान्थ्यो कुन्नि † मेरा लागि कसैसँगको सम्बन्ध भनेको बिग्रिएको चाइनिज रेडियोझैँ बनाउन सकिन्छ भन्ने थियो । तर, मन लागेको काम गर्दा गइहाल्ने इज्जत ‘सकिएकाले’ अब यो फर्मुला पनि धर्मका विधि–विधानजस्तै थोत्रिएको र पुरानो लाग्दै छ ।
आखिर सत्य बोल्दा, यथार्थमा जिउन खोज्दा, हितचित मिलेकासँग टीका थाप्दा, रुचिअनुसार बसोबासथलो रोज्दा र पैसा मागेरै पनि लङ्गुरबुर्जा खेल्दा इज्जत जान्छ र ‘बौलाहा’ बनाइन्छ भने अब सद्दे हुनुको अर्थ देख्दिनँ । सद्दे हुँदा ‘बौलाहा’को पगरी गुथ्नुपर्ने समाजमा अब साँच्चिकै बहुलाएर विकृतिविरुद्ध खुलेआम बोल्दै हिँड्न मन लागेको छ । त्यसका लागि ‘इन्द्रजाल’ पढ्नुछ । त्यो पढ्दा दिमाग खुस्किन्छ रे † कोहीसँग छ भने कृपया उपलब्ध गराइदिनुहोला । समाजलाई सद्दे मान्छेका सद्दे कुरा नपचेपछि बहुलाउनु नै निको होला । किनकि, मेरो चाहनामा मेल खानेगरी प्रसिद्ध उर्दू कवि साहिरले लेखेकै छन्–
इज्जतें, शोहरतें, चाहते, उल्फतें
कोइ भी चीज दुनियाँ मे रहते नहीं
आज मै जहाँ हुँ कल कोइ और था
यही भी एक दौर है वह भी एक दौर था ।
प्रतिक्रिया