साँझ परिहालेको थिएन । गोवाको पन्जिम अवस्थित ‘होटल ब्यारेटोन’ नजिकै ‘लक्ष्मी ट्राभल एजेन्सी’को गाडी आएर ठ्याक्कै रोकियो । हामीलाई त्यसदिन माण्डवी नदीको क्रुजमा लगिँदै थियो । हामी निक्कै उत्साहित थियौँ । हाम्रो उत्साह माण्डवी नदी भन्दा पनि विस्तृत हुँदो हो ।
शान्ता मोनिका क्रुज । हाम्रो क्रुजको नाउँ । गाइड शिवाजीले दिएको जानकारी सुन्नासाथ बसमा बसेका हामी सबै त्यो नाउँ सुनेर बेला बेलामा त्यसलाई उच्चारण गरिरहेका थियौँ । ‘नाउँमा ग्ल्यामर छ’ भन्दै । हाम्रो सिटभन्दा पछाडि बसिरहेका दुई मुस्तन्डे व्यक्ति साउथ इन्डियन भाषामा ‘शान्ता मोनिका’ भन्दै आफ्नो कालो अनुहारमा सेतो दाँत देखाउँदै हाँसिरहेका थिए । तिनीहरूको भाषा नबुझिए पनि ‘शान्ता मोनिका’ भन्ने दुई शब्द बुझेर बसभरिका यात्रु एकपल्ट फेरि मख्ख पर्दै हाँसे ।
माण्डवी नदीको किनारमा बस रोकिएपछि गाइड शिवाजी हामीलाई एउटा लाइनमा उभ्याइदिएर टिकट लिइदिन गए ।
जहाज चढ्नलाई लाइनमा उभिँदा उभिँदै साँझ झमक्क भयो । चराहरू चिरबिर चिरबिर उडिरहेको दृश्य र आवाजको आस्वादनमा हामी गुहुको किराझैँ लिप्त थियौँ । मन्द चलिरहेको हावाले दिउँसोको प्रचण्ड गर्मीलाई बिर्सायो ।
‘क्या ठन्डा भो †’ हाममीमध्येको एउटा सहयात्री बोल्यो ।
‘वास्तवमै हगि †’ मैले सोझो प्रतिक्रिया दिएँ । तर, म जिल्लिएछु । कारण, ऊ हावालाई होइन, तरुनीलाई इसारा गर्दै ठन्डा भनिरहेको रहेछ । मरीमरी हाँस्यौँ ।
जहाज हिँड्ने बेलामा, क्रुजमा सवार यात्रु आआफ्नो क्यामेरा झिकेर माण्डवी र त्यसको सेरोफेरोमा अवस्थित झिलीमिलीलाई हतारहतार छुट्ने हो कि झैँ गरी क्लिक गर्न थालँे । माण्डवीको सेरोफेरो भने कुनै ठूलो सेलिब्रेटीझैँ क्यामेराम्यानको फोटो खिचाइप्रति निरपेक्ष भई जडवत् यथावस्थामा विद्यमान थियो । अरू जहाज पनि आउँदो जाँदो थिए । आफ्नो उज्यालोलाई रातको कालोमा रातजस्तै हुन खोजिरहेको माण्डवीमा छर्दै ।
जहाज हिँडिसकेपछि क्रुजको अफिसियल प्रोग्राम सुरु भो । एउटा गोवन ठिटो आएर अन्धाधुन्ध फोटोसेसन गरिरहेका यात्रुहरूको ध्यानाकर्षण गर्न खोज्यो । त्यो ठिटोको प्रभावशाली वक्तत्वका अघिल्तिर यात्रुहरू कुनै शिक्षकका अघिल्तिर परेको विद्यार्थीझैँ सतर्क भए । सम्हालिए सबै । क्यामेरा बन्द गरे ।
स्यानो स्टेजजस्तो ठाउँबाट माइकनजिक आफ्नो मुख लगेर बोलिरहेको ठिटोका अघिल्तिरको पंक्तिबद्ध मेचमा बसेका यात्रुहरू क्षणभरमै दर्शक/स्रोता भए । ठिटो भन्न थाल्यो, ‘यहाँ जति पनि बच्चा छन् कृपया सबै अगाडि स्टेजमा आइदिनुहोला ।’
एक–दुईजना केटाकेटी उठेर गए पनि । तर, धेरैजसो लजाएर आफ्नो अभिभावकसँग टाँसिएर बसे । गोवन ठिटो फेरि बोल्यो, ‘यो रमाइलो कार्यक्रममा आफ्नो छोराछोरीलाई कृपया स्टेजमा पठाइदिनुहोला ।’
उसको दोस्रोपल्टको आग्रहपछि भने केटाकेटीहरू ह्वारै स्टेजतर्फ बढे ।
अब गीत घन्क्यो । गोलमाल गोलमाल … ।
केटाकेटीहरू जोसका साथ नाच्न लागे । एउटा बर्षिको बालक, जो उभिन पनि सक्दैन कि झैँ लाग्थ्यो, त्योसमेत जानीनजानी जिउ हल्लाइरहेको थियो । फोटो खिच्नेहरूको सम्पूर्ण ध्यान त्यही बालकले ज्यादा तानेको थियो । यसर्थ उसको प्रतिबिम्बलाई फुर्सद भएन । कमसेकम त्यस क्षण, दुनियाँका क्यामेरामा अटाउनलाई । अरू बच्चाको त झन् कुरै नगरौँ । प्रोफेसनल लाग्थे तिनीहरू पनि । ‘बुगीबुगीका’ श्पर्धीझैँ ।
मेचमा बसेका अभिभावक पनि कम कहाँ थिए ? कुम हल्लाइरहेका थिए ।
स्टेजको दृश्यलाई पूरै बेवास्ता गर्दै केही पर आफ्नै धुनमा टपलेस भएका केही फिरङ्गीहरू जोड–जोडले नाचिरहेका थिए । तिनीहरू निक्कै नै झ्याप देखिन्थे । जहाजबाट लडेर माण्डवीमा खस्लान्जस्ता ।
जहाजमा ठन्डा हावा र्याम्पमा क्याट्वक गरिरहेकी मोडलझैँ सुस्तरी गतिमा आउँथ्यो र मनलाई शीतल बनाएर जान्थ्यो । त्यो क्षण मनैबाट निस्कन्थ्यो, ‘आह †’
केटाकेटीको नृत्य सकियो ।
त्यसपछि उनीहरूले एउटा राष्ट्रिय भाव झल्किने गीतमा नृत्य प्रस्तुत गरे । डोरी बाटेझैँ, कपडाहरू गाँठो पार्दै फुकाउँदै गर्ने नृत्य थियो त्यो । निक्कै छरितो किसिमले नृत्य गरिसकेपछि उनीहरूले बाटेको/फुकाएको हरियो रातो र सेतो कपडाको तिरङ्गा फरफराए । त्यति नै बेला मैले नयन दाइको ‘लू’ को एउटा दृश्य सम्झेँ अनि मनमनै हाँसे ।
त्यसपछि एकछिन ब्रेक भयो । त्यो एक किसिमले ड्रिङ्क ब्रेक थियो ।
क्रुजमा एउटा बार थियो । त्यहाँ भन्या–भन्या ड्रिङ्क पाइने । गोवामा आएर फेनी टेस्ट नगर्नू ? हामीले दुई पेग क्यास्यु फेनी किनेर ल्याई यथास्थानमा आएर बस्यौँ र बिस्तारै खान थाल्यौँ । त्यत्रो तारिफ गरिएको फेनी रहेछ निल्नै गाह्रो । र कडा पनि ।
‘पानी नहाली त निल्नै नसकिने रैछ ।’ मैले आफ्ना सहयात्रीलाई सुनाएँ । उनीहरूले मेरो वक्तव्यप्रति खासै चासो दिएनन् । एकै घुट्को निल्नासाथ कान तात्यो, जीउ रन्क्यो ।
केही समयपछि क्रुजको कार्यक्रम फेरि सुरु भयो । उही गोवन ठिटो फेरि माइक समाउँदै स्टेजमा प्रवेश गर्यो । मुस्कुराउँदै भन्यो, ‘आशा छ, तपार्इंहरूले ब्रेक इन्जोइ गर्नुभो ।’
‘आशा छ, हामीले बेचेको रक्सी/कोल्डड्रिङ्क्स खाइदिनुभो,’ आशय त यो थियो वास्तवमा । सायद सबैले बुझेका हुँदा हुन् । सबैजसो यात्रुको हातहातमा केही न केही ड्रिंक्स थियो ।
अबको प्रस्तुति चौहिँ एउटा गोवन म्युजिकमा थियो । एउटा नबुझिने तर क्याची म्युजिकमा दुई केटा र दुई केटीले पर्फम गरे । नबुझे पनि बुझियो–गीत रोमान्टिक रहेछ । आफूलाई फेरि रोमान्स भन्नेबित्तिकै कस्तो हुने कस्तो † कुरा गरी साध्य छैन ।
नाच्ने दुई केटा र दुई केटी थिए । दुइटीमध्ये एउटी चौहिँलाई मेरा सहयात्रीले ‘राम्री’ को पगरी गुथाए । अनि सायद ‘फेनी’ को एकाध घुट्कोको रनाहामा बहकिएको मनले गर्दा होला, आपस्तमा कानेखुसी गर्दै भद्दा किसिमका टिप्पणी गर्न लागे ।
उनीहरुको नृत्यले धेरै नै ताली पायो ।
नृत्य सकिएपछि उद्घोषक गोवन टिठो अब मुस्कुराउँदै भन्न थाल्यो, ‘यहाँ जति पनि जोडी हुनुहुन्छ कृपया सबैजना स्टेजमा पाल्नुहोला ।’
कोही पनि आफू बसिरहेको ठाउँबाट टस मस गरेनन् । एक किसिमले ठिटोको तोलाको बोली खोलामा गयो ।
दोस्रोपटक ठिटो फेरि बोल्यो, ‘यहाँ जति पनि श्रीमान–श्रीमती वा गर्लफ्रेन्ड–ब्वाइफ्रेन्ड हुनुहुन्छ, कृपया स्टेजमा पाल्नुहोला ।’
फेरि कोही उठेनन् ।
तेस्रोपटक ठिटोले अलिक भिन्न शब्द र शैलीलाई अंगीकार गर्यो । भन्यो, ‘यदि तपाईं आफ्नी प्रेमिका वा श्रीमतीलाई माया गर्नुहुन्छ भने कृपया लिएर स्टेजमा आउनुहोला, होइन अर्काकी स्वास्नी वा गर्लफ्रेन्डलाई गर्नुहुन्छ भने यथास्थानमै बस्नुहोला ।’
यो सुनेर एकपल्ट त्यहाँ उपस्थित यात्रु सब हाँसे । रमाइलो लागिरहेको थियो । अब भने केही जोडी स्टेजतर्फ बढेको देखियो ।
ठिटोले पुन: दोहोर्यायो, ‘यदि तपाईं आफ्नो प्रेमी वा प्रेमिकालाई अगाध प्रेम गर्नुहुन्छ भने स्टेजमा पाल्नुहोला ।’
स्टेजमा जाने कपलको संख्या झन् बढ्यो । पन्जाबीदेखि मद्रासी, बंगालीदेखि गुजराती सब ओइरिए स्टेजमा । कसोकसो स्टेज नै खचाखच । जोडीहरू लजाएर उभिरहेका थिए । दर्शकहरू उनीहरूलाई सर्कसको बाँदरलाई झैँ हेरिरहेका थिए ।
ठिटो जोडीहरूलाई आदेश दिँदै भन्न थाल्यो, ‘कृपया अलिक नजिक बस्नुस् ।’ जोडीहरू केही टाँसिए । ठिटो फेरि भन्न लाग्यो, ‘यही हो प्रेम † हग गर्नुस् न एकआपसलाई ।’
अब भने जोडीहरू लजाई–लजाई भए पनि एक आपसलाई हग गर्न लागे । एउटा पन्जाबी जोडीले सुरु गरिदिएको थियो । त्यसपछि सबैले संकोच भन्ने चीजलाई फुत्त माण्डवीमै हुइँक्याइदिए । क्रुजमा बत्ती झ्याप्पै गयो । अनि बज्यो गीत– ‘पेहला नशा, पेहला खुमार … ।’ बिस्तारै स्टेजमा नीलो कलरको मधुरो बत्ती बल्यो ।
जोडीहरू बिस्तारै आपस्तमा टाँसिएको अवस्थामै हल्लिन लागे । ‘पेहला नशा पेहेला खुमार’ भनिसकेपछि पियानोको सफ्ट आवाज क्रुजको धमिलो वातावरण गुञ्जिरह्यो । मेरो त शरीरका रौँ ठाडा भए । त्यसमा सायद फेनीको पनि केही योगदान भएको हुनुपर्छ । गीतको प्रत्येक शब्दमा ती जोडी मन्द मुस्कान र लाजका साथ दायाँ–बायाँ हल्लिरहेको दृश्य देख्दा दर्शक पनि लाजले मिसिएको हाँसोका साथ आफ्नो ध्यानलाई स्टेजमा एकत्रित गरिरहेका थिए । केही रौसे दर्शक भने थाम्नै नसकी बसिरहेको मेचमै हल्लिरहेका थिए ।
गीतको मुखडा सकिएपछि पनि केही जोडी स्टेजमा जाँदै थिए । रोमान्सको त्यो अवसरलाई गुमाउन चाहँदैनथिए । एउटा रोमान्टिक गीतमा, त्यत्रो भव्य माहौलमा, आफ्नो प्रेमिकाको कम्मरमा हात लगेर, उसका आँखामा आँखा जुधाउँदै नाच्न पाउँदा वास्तवमै कत्ति मजा हुँदो हो † केवल कल्पनैले त काउकुती लगाइदिन्छ भने, त्यसको वास्तविक मिठास कस्तो हुँदो हो ? म अनुमान पनि गर्न सक्तिनँ । त्यसैले त होला हेर्दा पचास कटिसकेको जस्तो लाग्ने एक जोडी अंकल आन्टी पनि एक आपसको कम्मरमा हात हल्लाउँदै उदित नारायण र साधना सरगमको स्वरमा स्वर मिलाउन खोजिरहेका थिए । ती एकदम ईष्र्या लाग्दो भावले एक आपसलाई हेरिरहेका थिए । न कि गोवन उद्घोषक ठिटोको ‘अर्कार्की स्वास्नीलाई प्रेम गर्नुहुन्छ भने नआउनुस्’ भन्ने अभिव्यक्तिप्रति डराएर आएकाजस्ता देखिन्थे ।
फेनीको रमरमको उत्कर्षमा थिएँ । तर कसम † म किटेर भन्न सक्छु, विना फेनी पनि मलाई त्यो साँझको माहौलले पगाल्ने हैसियत राख्थ्यो । रोमान्स नशातीत छ । विना कुनै नशा पनि कसैलाई रोमान्सले नशाको प्रकर्षमा पुर्याइदिन सक्छ । साँच्चै भन्नुपर्दा, क्रुजबाट होटल ब्यारेटोन फर्कने क्रममा जीवनमा पहिलोपटक आफू सिंगल भएकामा आफैँलाई खुब धिक्कारेँ ।
प्रतिक्रिया