ठक्कर खाएर भुराको खुट्टामा रातो गुदी भएको अम्बाजस्तै छप्ल्याक्क खस्यो सूर्य गंगामा † एउटा कौतुकले भरिएको पैतालाले तत्काल सूर्यलाई हल्लाइदियो । रातो तरंगमाला गंगाका छातीभरि फिँजारिए । बनारसका प्राचीन बस्तीदेखि अर्वाचीन मलहरूमा खानेपानी वितरणका लागि गंगाको पानी संकलन गर्ने जल संस्थानको बडेमाको गोलघरलाई बायाँ पारेर डुंगा मणिकर्णिका घाटतिर चिप्लँदै थियो । तरुनो दिन ढल्केर साँझका चाउरीहरू घाटका खुड्किलामा टाँसिन आइपुगेका थिए । असी घाटको आरतीमा शिवका मुखबाट तारक–मन्त्र सुनेर सिधैँ स्वर्ग जान तम्तयार वृद्ध–वृद्धाको जमातलाई छाडेर अघि बढ्दा पनि साँझको विम्ब मेरा मस्तिष्कभरि घुमिरहे । गंगाका तीरमा लहरै ठडिएका राजा महाराजाका भव्य प्रासाद आ–आफ्ना बैँसका उत्तेजक दिनहरू गम्दै बसिरहेका थिए । सायद, ती अभिसप्त थिए, पाउजुको छमछमलाई बँैस मान्न । मदिरासँगै बगेर गंगामा मिसिएका आँसुको बास्ना के तिनीहरूले पाएनन् होला ?
म गाँजाको नशामा थिइनँ न त सरकारी भाङको दुकानबाट भाङका गोली किनेर नै निलेको थिएँ । कवि थिएँ र त ‘विट जेनेरेसन’ का रुमानी किस्साहरूलाई छातीको कुनै कुनामा कैद गरेर बाँचिरहेथेँ वाग्मती छेउको विरुपाक्षभैँm अनि भट्याइरहेथेँ ‘गिन्सवर्ग वोमिट्स’ का पदहरू । लखेटिएर पुग्नुअघि शरद देवडाको सहर गिन्सवर्ग खाली खुट्टा दौडिहिँडेका घाटका खिइएका ढुंगाहरू मेरा आँखा सँगसँगै मसँगै नदीको यात्रामा थिए । सात समुद्रपारिको अमेरिकाबाट आएका गिन्सवर्ग र पिटर ओर्लोवस्कीजस्तै जाडो छल्न साइबेरियाबाट आएका फिरंगी चराहरू गंगामा पौडिरहेका थिए । छिनछिनमा मसँगैको डुंगाको यात्री भुजा मुठ्ठीका मुठ्ठी गंगामा छर्दथ्यो र फिरंगी चराहरू कुनै योगीका अगाडि भक्त जम्मा भएझैँ झुरुप्प हुन्थे र चारा टिप्थे । मृत्युलाई सँगैको साथीले फेरेको सासजत्तिकै नजिकैबाट अनुभव गर्न सकिने वनारसमा जीवनलाई पनि त्यत्तिकै नजिकबाट छुन सकिने भएर नै होला सयौँ गोराहरू भ्याङ्ले सुरुवालमा घाटघाट चाहर्दै गरेका भेटिन्थे । म काभ्रेबाट उछिट्टिएको एउटा कविमनको यात्री गिन्सवर्गको ‘हाउल’ को धङ्धङी छाम्न उनी कैयौँ दिन बसेको मणिकर्णिका घाटतिर गइरहेको थिएँ ।
बिट जेनेरेसनको प्रभावमा जन्मिएको ‘हंग्री जेनेरेसन’का राजकमल चौधरीको ‘कंकावती’ पढेर कविताको रमरममा प्रफुल्लित कवि मित्र तारानाथ सापकोटाजत्तिकै उज्यालो दियो म नजिकैबाट बगेर गयो । कामनापूर्तिका लागि दियो बगाउने धर्मभिरु र कामनापूर्तिका लागि कलम चलाउने कवि मित्र तारानाथ, दुवैको तस्बिर मणिकर्णिका घाटमा सल्बलाइरहेका मानिसहरूमा खोज्न म डुंगाबाट ओर्लिएँ । चट्चटाउँदै बलिरहेका लासहरूको माझबाट मसँगसँगै मेरो मृत्यु पनि लस्याङ्लुसुङ् गर्दै जीवन छाम्न थाल्यो । जीवन झरिलो आगोको रापमा बोसोजस्तै तपतप चुहिरह्यो । यस विन्दुमा आफूजस्तै हाड–मासु खरानी भइरहेको हेर्दा अनुभूतिको विशेष क्षणमा वा सिद्धावस्थामा गिन्सवर्गलाई जस्तो गाँजा हामीलाई चाहिँदो रहेनछ । सायद, हामी जन्मेहुर्केको परिवेशले हामीलाई अलिक बेसी सामूहिक चिन्ता र चासोतर्फ डोर्याउँछ कि ?
जाडोको वनारस आफ्नो गुलाबी सुन्दर शृंगारमा उपस्थित थियो । गर्मीको कुम्भीपाकमा पटक–पटक पाकिसकेको म यसपटक जाडो समय छानेरै वनारस आएको थिएँ । चोक बजारको विश्वविद्यालय प्रकाशनदेखि चौखम्बाका धार्मिक, सांस्कृतिक प्रकाशनगृह अनि विश्वविद्यालयका साँघुरा गल्लीहरूमा म निर्वाणको खोजीमा भौँतारिएको फिरंगीझँै साँझ–बिहान डुलिरहेथँे । ‘विट जेनेरेसन’ का ‘यंग्री’ गिन्सवर्गबाट हुने खतरा वनारसलाई मबाट हुन सक्दैन भन्नेमा बनारस ढुक्क थियो । अत: म बेकाममा हावाको प्वाँखजस्तै उडी हिँड्दा पनि गिन्सवर्ग जस्तै लखेटिनुपर्ने खतराबाट म मुक्त थिएँ । छिनमा म चौखम्बास्थित ‘उदय’ पत्रिका निकाल्ने दुर्गाप्रसाद श्रेष्ठकहाँ मिठाई र चिया खाइरहेको हुन्थेँ भने छिनमै बनारस हिन्दू विश्वविद्यालयमा रिक्सामा कुदिरहेको हुन्थेँ । छिनमै भदैनी घाटमा खुट्टा पसारेर गंगापारिको बलौटे बगरमा जीवनका रंग खोजिरहेको हुन्थेँ । दिनभरि थाकेको शरीर राति लगेर भाइ होटल मेनेजमेन्ट पढ्नलाई बनारस बस्नाले लिनुपरेको बासमा बिसाउथेँ । गिन्सवर्गले अफिम र गाँजामा पाउने सिद्धावस्थाको नशा हिमाली छोरोले मुस्किलले पाउने आफैँलाई बिर्सनसक्ने हुरीको पातजस्तै यात्राले म पाइरहेथेँ । नशाका लागि नशा नलिने गिन्सवर्गको नशा लिनुको उद्देश्य काव्य सिर्जना थियो । मेरो यात्राको नशाको उद्देश्य के थियो ? सायद उद्देश्यहीन हुनु पनि एउटा उद्देश्य हो कि त ?
बनारसका यिनै किरिङ्मिरिङ् रेखाहरू जोडेर म सिंगो बन्न खोजिरहेको थिएँ मणिकर्णिका घाटमा । चिताका दाउराहरूका अघिल्तिर मान्छेहरू भुत्ते तरवारझँै झुकिरहेका थिए, भाँचिरहेका थिए । अझै भुत्तिन स्वर्ग पाइने आशमा वनारस आउनेको कमी थिएन । तर, सबै के भुत्तिनै आउँछन् त वनारसमा ? अहा † गिन्सवर्गजस्ता विद्रोही कवि भुत्ते हतियारलाई धार लगाउन पनि त आएका थिए । हतियारलाई धार लगाउने मामलामा पश्चिमा हामीभन्दा भाग्यमानी छन् । हामीलाई मुस्किलले प्राप्त हुन्छ घुम्दै समयको चक्कामा आफूमा पाइन चढाउने, साँध लगाउने मौका । मैले सम्झिएँ, चितामा एक मुठ्ठी चिनीका कारण अझै ज्वाला दन्कँदा सम्झिएँ ‘धारिला मानिसहरू’ का मित्र कवि केशव सिलवाल । गिन्सवर्गजस्तै उनी पनि कलमलाई अझै धारिलो बनाउन थिचिएर रहेका पृथ्वीका अँध्यारा खोँचहरूको यात्रा कहिले गरिसक्लान् र अझ पाआँैला हामीले उनका धारिला कविता † कहिले नापिसक्लान् विनोदविक्रम केसीका पैतालाले यो पृथ्वीको ‘भोकको क्षेत्रफल’ र अझै दर्बिलो औँलो ठड्याएर भन्लान्, ‘झन्झन् बढाइरहेछ ज्यामितीय हिसाबमा यो लोकतन्त्र, भोकको क्षेत्रफल †’ आह † मेरा कविमित्र चन्द्रवीर, दीपक, विजय, निरञ्जनहरू † सजिलो छ के चितामा रोटी पोल्न ? सक्छाँै के त आफ्नाको नालायकीपनलाई गिन्सवर्गले आँैल्याएजस्तै नाकै अघिल्तिर औँल्याउन र भन्न, ‘अमेरिका † गो फक विथ योर एटम बम †’
फर्कें, एउटा आगो लिएर फर्कें । अगुल्टो लिएर फर्कें । व्योमेश शुक्लको सहरबाट ‘स्कुलबाट भाग्ने अनेक कारण छन्’ देखि ‘बाइस हजारको संख्या बाइस हजारभन्दा धेरै ठूलो हुन्छ’ भन्ने ज्ञान अनि ‘बुथमा लड्ने’ तरिका लिएर फर्कें । फर्कंदा रातको कुचीले कालो रंगाएको गंगामा बहनाको एकतमासको छपछपभन्दा बेग्लै पखेँटा फट्फटाएको स्वर पनि आइरहेको थियो । कालो रातमा गंगामा पर्ने बत्तीहरू नाचिरहेकाले झनै आँखा अगाडि भ्रम नाचिरहेका थिए । यस्तोमा फिरंगी चराहरूका पखेँटाको फट्फडाहटबीच कतै चिलको प्रवेश भए नभएको पनि ठम्याउँन म सकिरहेको थिइनँ । यो बिब्ल्याँटो समयमा ‘चेसबोर्डमा चिलको प्रवेश’ अंकित गरिरहेका कवि मित्र अमोघ काफ्लेलाई याद गरिरहेँ । रातदिन कवितामा सोचेर, काटेर, छाँटेर र गोडमेल गरेर चेसबोर्डमा पस्दै टपटप चल्लाजस्तै जीवन लुछिरहेका हत्याराको फेहरिस्त उतार्न व्यस्त अमोघको अमोघ अस्त्र ‘चेसबोर्डमा चिलको प्रवेश’ कुर्दै म भदैनी घाटतर्फ बढिरहेँ । टाढा बगरमा जुनकिरीजस्तै पिलपिलाउँदै थियो एउटा राँको वा थियो त्यो गिन्सवर्गजस्तै सिद्धावस्थामा कविता टिपिरहेको ‘बिट पुस्ता’ को प्रतिनिधि राँकेभूत †
प्रतिक्रिया