ठूलो भुइँचालो आए के होला ?

काठमाडौं, २४, कात्तिक । हरेकपटक जाने भूकम्पका झट्काबाट नेपालीहरू, विशेषगरी काठमाडौंवासी नराम्रोसित अत्तालिन्छन् । कारण, काठमाडौंका भवनको संरचनाले गर्दा ठूलो भूकम्प आएको खण्डमा जनधनको अकल्पनीय क्षति हुने अवस्था छ ।

भूकम्पीय दृष्टिले काठमाडौं उपत्यका विश्वकै उच्च जोखिमयुक्त सहरहरूमध्ये पर्छ । मापदण्डविपरीत भवन निर्माण निरन्तर भइरहेकाले काठमाडौं उच्च जोखिममा परेको हो । राजधानीमा भवन आचारसंहिता तोडेर बनेका विद्यालय, कलेज, हस्पिटल र व्यापारिक भवनहरू भुइँचालोको सबैभन्दा जोखिममा रहेको प्राविधिक बताउँछन् ।
काठमाडौंमा भवन आचारसंहिता लागू गरिए पनि धमाधम आचारसंहिता मिचेर भवन निर्माण भइरहेका छन् । जथाभावी भवन बन्न थालेपछि काठमाडौं महानगरपालिकाले ०६२ मा राष्ट्रिय भवन आचारसंहिता लागू गरेको थियो । आचारसंहितामा राजधानीका भित्री सहरमा पाँच तलाभन्दा माथि बनाउन नपाइने र बाहिरी सहरमा १७ तलासम्म मात्रै बनाउन पाइने उल्लेख छ । तर, आचारसंहिता लागू भएपछि पनि मापदण्डविपरीत नै भवन बनिरहेको अधिकारी बताउँछन् ।
नेपालमा अब ८ रेक्टरसम्मको भूकम्प आए ठूलो जनधनको क्षति हुने महानगरपालिका नक्सा शाखाप्रमुख उत्तर रेग्मी बताउँछन् । उनका अनुसार राजधानीमा बनेका भौतिक संरचना भूकम्पीय दृष्टिले उच्च जोखिममा छन् । निजीस्तरमा मात्रै नभएर नीति/नियम लागू गराउने सरकारी निकायका भवनसमेत मापदण्डविपरीत धमाधम बनिरहेको छ । राजधानीको बाक्लो बस्तीभित्र रहेका आवासीय घरमा खोलिएका बोर्डिङ स्कुल, कलेज र निजी अस्पतालसमेत भूकम्पीय दृष्टिले
उच्च जोखिममा रहेको प्राविधिकहरूको दाबी छ ।
नेपालमा हरेक ८० देखि सय वर्षमा एक महाभूकम्प र हरेक ५० वर्षमा मध्यम खालको भूकम्प जाने गरेको इतिहास छ । संयुक्त राष्ट्रसंघको ब्युरो अफ क्राइसेस प्रिभेन्सन २००४ को प्रतिवेदनअनुसार विश्वका १९८ मुलुकमध्ये नेपाल भूकम्पीय जोखिमका दृष्टिले ११औँ स्थानमा पर्छ । नेपाल क्षेत्रफलका हिसाबले सानो मुलुक भए पनि विपद जोखिमका दृष्टिले विश्वकै अग्रपंक्तिमा छ ।
१९९० साल २ माघमा गएको भूकम्प नेपालका लागि अहिलेसम्मकै विनाशकारी भूकम्प मानिन्छ । सो भूकम्पमा परी नेपालमा मात्रै करिब नौ हजार मानिसको ज्यान गएको थियो भने हजारौँ घर तथा अन्य भौतिक संरचना ध्वस्त भएका थिए । नेपालको भूकम्पीय जोखिम क्षेत्रको नक्साका आधारमा नेपाललाई तीन भागमा बाँडिएको छ । उक्त नक्साअनुसार यी भाग उत्तरतर्फबाट पश्चिम–दक्षिण, दक्षिण–पूर्वी दिशातर्फ फैलिएका छन् र नेपालको उत्तरी तथा दक्षिणी भूभागभन्दा मध्य भूभाग भूकम्पको बढी जोखिममा रहेको छ । यसअघि नेपालमा वि.सं १२८०, १३१२, १४०१, १७७१, १८३४, १८६५, १८८२, १८९०, १८९१, १९१४, १९२३, १९३८, १९९० र २०४५ सालमा ठूला भूकम्प गएका थिए ।
अनुगमनका क्रममा मापदण्डविपरीत धेरै भवन बनेको पाइएको उनले बताए । महानगरपालिकाले राजधानीमा बन्ने घरका लागि डकर्मीलाई समेत तालिम दिँदै आएको छ । हालसम्म महानगरपालिकाले एक सय ५० जनालाई तालिम दिइसकेको छ । जसमा ३४ जना महिलाले समेत घर बनाउने तालिम लिएका छन् ।

प्रतिक्रिया