चर्को भाडा लिने पक्राउ

काभ्रे, २४ कात्तिक । काभ्रेमा यातायात समितिले विनाटिकट यात्रुसँग रकम असुलेको आरोपमा बोलेरो जिप नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् ।

काठमाडौंबाट सोलखुम्बुको सल्लेरी हिँडेको निजी नम्बर प्लेटको वा ८ च ६५११ नम्बरको जिपलाई हिमाल तराई यातायात सेवा समितिका पदाधिकारी तथा व्यवसायीले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका हुन् । जिपमा सवार सबै यात्रुले सल्लेरीसम्मका लागि प्रतिव्यक्ति तीन हजार र प्रतिलगेज एक हजार रुपियाँ तिरेका थिए ।
सोलुका मोहन राईका अनुसार जिपले काठमाडौंको चाबहिलबाट घुर्मीसम्म र घुर्मीबाट ओखलढुंगा र ओखलढुंगाबाट सल्लेरीसम्म यात्रु लैजाने गरेको छ । बिहान काठमाडांैबाट छुटेको जिपले घुर्मी पुर्‍याएपछि सोही दिन तीनवटा जिप परिवर्तन गरी यात्रुहरूलाई मध्यरातमा सल्लेरी पुर्‍याउने गरेको छ । ‘यातायात व्यवसायीले नै यात्रुको सिन्डिकेट गरी दोब्बर रकम असुल्ने गरेका छन्,’ यात्रु राईले भने ।
काठमाडौंबाट सल्लेरी पुग्दा बसमा एक हजार सात सय रुपियाँ लाग्ने गरेको छ । घुर्मीसम्मको सात सय, घुर्मीबाट ओखलढुंगासम्मको तीन सय र ओखलढुंगाबाट सल्लेरीको सात सय रुपियाँ भाडादर कायम गरिएको छ । बसमा जाँदा यात्रुहरू दुई दिन बाटोमा बास बस्नुपर्ने हुन्छ । साथमा रहेका लगेजको भाडा बसले लिने गरेको छैन ।
सोलुखुम्बु जाने सर्वसाधारणका लागि हवाई टिकट पनि महँगो हुने गरेको यात्रु राईले बताए । एयरलाइन्सहरूले तोकेको भाडादर तीन हजार ६ सय रुपियाँ भए पनि पाँच हजार रुपियाँ तिर्दा पनि टिकट पाउन नसकेपछि जिपमा जति मागे पनि तिर्नुपरेको उनले बताए । प्लेनका लागि खटिएका दलालका कारण टिकट पाउन नसकिएको उनले बताए ।
हिमाल तराई यातायात सेवा समितिले घुर्मीसम्म मात्रै बस सेवा सञ्चालन गरेको छ । सिटी भिलेजले यात्रुसँग लिएको रकमको टिकट दिने गरेको छैन । बिहीबार बनेपामा जिप पक्राउ गरेपछि हिमाल तराई यातायात सेवा समितिका अध्यक्ष आत्माराम थापाले अर्काे भाडाको बस खोजेर न्यूनतम भाडा दरमै यात्रुलाई घुर्मी पठाएका थिए ।
सरकारले राजमार्गमा चल्ने छोटा र हलुका सवारीसाधनको चेकजाँच कडा नगर्नाले निजी नम्बर प्लेटका सवारीसाधनले रिजर्भ भन्दै यात्रुलाई ठगिरहेका छन् ।

प्रतिक्रिया