अमेरिकामा फेरि ओबामा

वासिंटन : अमेरिकामा भएको राष्ट्रपति पदको निर्वाचनमा राष्ट्रपति बाराक ओबामा दोस्रो कार्यकालका लागि पनि निर्वाचित भएका छन् । मंगलबार भएको मतदानपछि बुधबार अपराह्नसम्म धेरैजसो प्रान्तबाट परिणाम आइसक्दा डेमोक्रयाट ओबामाले आफ्ना रिपब्लिकन प्रतिद्वन्द्वी मिट रोम्नीलाई उल्लेखनीय अन्तरले पराजित गरेका हुन् ।
निर्वाचन प्रचारका क्रममा मतदान हुँदा उनीहरू दुईबीच उन्नाइस–बीसको टक्कर हुने चर्चा अत्यधिक थियो भने अनेक चुनाव सर्वेक्षणमा पनि निकट प्रतिस्पर्धा रहने अनुमान गरिएको थियो । तापनि, अमेरिकाका प्रथम अश्वेत राष्ट्रपति ओबामाले आगामी चारवर्षे कार्यकालका लागि अमेरिकी जनताको मन जितेका छन् ।
ओबामाले निर्वाचक मण्डल (इलेक्टोरल कलेज) का कुल ५३५ मतमध्ये ३०३ मत जितेका छन् भने रोम्नीले २०६ मतमै चित्त बुझाउनुपर्‍यो । स्मरणीय छ, ओबामाले सन् २००८ मा पहिलोपटक राष्ट्रपति निर्वाचन जित्दा ३४९ इलेक्टोरल मत हासिल गरेका थिए ।
अमेरिकामा १९३० को दशकको ‘महान् आर्थिक संकट’ पछि नराम्ररी प्रभावित हुन पुगेको अर्थव्यवस्थामा सुधार गर्न नसकेको भन्दै ओबामाको क्षमता र योग्यतामाथि विपक्षले उठाएका तमाम सवाललाई अस्वीकार गर्दै अमेरिकी मतदाताले उनीमाथिको विश्वास यथावत् कायम राखेका हुन् ।
यससँगै, पहिलेजस्तै, सिनेटमा डेमोक्रयाट पार्टीको र प्रतिनिधि सभा (हाउस अफ रिप्रजेन्टेटिभ) मा रिपब्लिकन पार्टीको बर्चस्व स्थापित भएको छ । ओबामाको जितसँगै वर्तमान उपराष्ट्रपति जो बिदेन पनि स्वत: पुनर्निर्वाचित भएका छन् । मन्त्रिमण्डलमा भने हेरफेर हुन सक्ने छ ।
ओबामाको जितमा क्यालिफोर्नियाको योगदान निर्णायक रहयो । त्यस राज्यमा सबैभन्दा धेरै ५५ इलेक्टोरल मत छन् र यहीँ ठूलो जितका साथ उनको दोस्रोपटक निर्वाचित हुने निश्चितप्राय: भएको थियो । क्यालिफोर्नियाको परिणाम आउनुअघिसम्म रोम्नी सामान्य अन्तरसहित ओबामाभन्दा अगाडि थिए, यद्यपि त्यो बढत धेरै समयसम्म कायम रहन सकेको थिएन । ओबामाले ओहायो, कोलोराडो, आयोवा, नेभादा, न्यु हयाम्पसायर, विस्कन्सिन र मिसिगन जस्ता निर्णायक राज्यमा जित दर्ज गरे ।
प्रतिद्वन्द्वी रिपब्लिकन रोम्नीले बोस्टन राज्यमा समर्थकहरूसामु आफ्नो पराजय स्वीकार गरे र भविष्यका लागि ओबामालाई शुभकामना दिँदै भने, ‘वर्तमान समय अत्यन्त चुनौतीपूर्ण समय हो । म अमेरिकालाई नयाँ दिशा दिन चाहन्थेँ तर अमेरिकावासीले अर्को नेतालाई छानेका छन् । म प्रार्थना गर्दछु, राष्ट्रपति ओबामा हाम्रो देशलाई नेतृत्व प्रदान गर्न सक्षम होऊन् ।’ रोम्नीले आफ्ना परिवारजन, समर्थक र शुभेच्छुक सबैलाई प्रचार अभियानदेखि निर्वाचनसम्म सहयोग गरेकामा धन्यवाद ज्ञापन गरे ।
सिकागोमा –जहाँ उनको चुनाव प्रचार अभियानको प्रधानकार्यालय स्थापना गरिएको थियो– मा विजयको खुसीले नाचगान गरिरहेका समर्थकलाई सम्बोधन गर्दै ओबामाले नयाँ रोजगारी सिर्जना गर्ने, वित्तीय घाटा कम गर्ने र कर क्षेत्रमा सुधार गर्नेसम्बन्धी चुनौतीहरूको मुकाबिला गर्न दुवै दलका नेताहरूसित मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
आफूले दोस्रो कार्यकाल पनि जित्ने निश्चितप्राय: भएपछि ओबामाले आफ्नो ट्विटरमा लेखेका थिए, ‘यसको सबै श्रेय तपाईंहरूलाई छ, आभारी छु ।’ ओबामाको जन्म ४ अगस्त १९६१ मा हवाई राज्यमा भएको थियो । उनकी आमा श्वेत अमेरिकी र पिता केन्यालीमूलका अश्वेत थिए । दोस्रो विश्वयुद्धपछि दोस्रो कार्यकालका लागि पनि निर्वाचित हुने ओबामा दोस्रा डेमोक्रयाट राष्ट्रपति हुन् । यसअघि डेमोक्रयाट बिल क्लिन्टनलाई लगातार दोस्रोपटक सफलता प्राप्त भएको थियो ।
ओबामाले सिकागोमा समर्थकहरूलाई सम्बोधन गर्दै भने, ‘म तपाईंहरू सबैलाई धन्यवाद दिन चाहन्छु । म तपाईंहरूलाई भन्न चाहन्छु– यो मेरो विश्वास थिएन, न त यो कुनै संयोग नै हो । केवल तपाईंहरूले गर्दा यो सम्भव भएको हो । आफ्नो कार्यकालभरि म तपाईंहरूलाई यो समर्थनका लागि सराहना गरिरहने छु र आफूले सुरु गरेका कामलाई अन्तिम परिणामसम्म पुर्‍याउनेछु । अझ धेरै कुरा गर्न बाँकी छ । जितका लागि सबैलाई हार्दिक धन्यवाद ।’ ओबामाले आफ्नो चुनावी टिमलाई इतिहासकै श्रेष्ठ टिमको संज्ञा दिए । अधुरै रहेका काम पूरा गर्ने बताउँदे उनले भने, ‘तपाईंहरूले रोजगार र आवासको चिन्ता गर्नु पर्दैन किनभने अमेरिकाका राम्रा दिनहरू आउनै बाँकी छन् । हामीले मुलुकलाई धेरै अगाडिसम्म लैजानेछौँ । ममाथि विश्वास गरेकामा धन्यवाद अमेरिका †’ (एजेन्सी)

प्रतिक्रिया