‘कात्तिक २४ मा हलचल ल्याइदिन्छौ’

काठमाडौं : कांग्रेस कमजोर बन्दै गएको टिप्पणी भइरहेका बेला उक्त पार्टीका नेताहरूले काठमाडौंमा हुने आमसभामार्फत हलचल ल्याइदिने बताएका छन् । २४ कात्तिकमा काठमाडौंको वसन्तपुरमा हुने आससभाबाट हलचल ल्याइदिने कांग्रेस सभापति सुशील कोइरालाको भनाइ छ ।
‘हाम्रा सभा तथा कार्यक्रम कमजोर हुने चर्चा चल्छ,’ सभापति कोइरालाले भने, ‘अब पूरा काठमाडौं हलचल हुने गरी आमसभा गर्छौँ ।’ कोइरालाले उक्त आससभाबाट कांग्रेस कमजोर नरहेको देखाउने दाबी गरे ।
महिला संघ काठमाडौंले दीपावली, नेपाल सम्वत् र छठको अवसरमा मंगलबार काठमाडौंमा गरेको शुभकामना आदानप्रदान कार्यक्रममा कोइरालाले यस्तो बताएका हुन् । उनले अर्को प्रसंगमा अध्यादेशमार्फत बजेट ल्याउन खोज्नु प्रजातन्त्रविरोधी हुने धारणा व्यक्त गरे । एमाओवादी नेतृत्वको सरकारले विधि र विधानलाई नाघेर एकलौटी चुनाव घोषणा गर्दा अन्योल बढेको उल्लेख गर्दै उनले भने, ‘अध्यादेशबाट आर्थिक र राजनीतिक कुरा ल्याउन खोजिनु प्रजातन्त्रविरोधी कदम हो । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले बाटो खोल्नुपर्छ ।’
राष्ट्रपतिले निरन्तर दलहरूलाई सहमतिमा अघि बढ्न आग्रह गरेको स्मरण गर्दै उनले सहमतिको विकल्प नभएको दोहोर्‍याए ।
कांग्रेस उपसभापति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्र अझै संकटमा रहेको भन्दै लोकतन्त्रलाई बचाउन सडकमै उत्रिनुपर्ने धारणा व्यक्त गरे । ‘राजा हटे पनि अधिनायकवादी तत्त्वले आँखा उठाएका छन्,’ उपसभापति पौडेलले भने, ‘अबको आन्दोलन प्रधानमन्त्रीको कुर्सीका लागि होइन, लोकतन्त्रका लागि हो । कात्तिक २४ गते आन्दोलनको शंखघोष गर्न चाहन्छौँ ।’
कांग्रेस महामन्त्री कृष्ण सिटौलाले लोकतन्त्र र शान्तिको भविष्यप्रति चिन्ता गर्नु नपर्ने बताए । ‘नेपालमा लोकतन्त्र र शान्तिको भविष्य छ,’ महामन्त्री सिटौलाले भने, ‘छिट्टै राष्ट्रिय सहमतिको सरकार बनेर वैशाखसम्म चुनाव हुन्छ ।’ (सौस)

सहमतिविना बजेट नल्याउनुस्

काठमाडौं, २२ कात्तिक । अर्थमन्त्री वर्षमान पुनले आर्थिक संकट बढेर तलब र भत्तामा समस्या आउने भन्दै बजेट ल्याउनका लागि पहल गरिदिन कांग्रेस सभापति सुशील कोइरालालाई आग्रह गरेका छन् । कांग्रेस सभापति कोइरालाले भने राजनीतिक दलहरूबीच सहमतिविना बजेट ल्याउन नहुने जवाफ दिएका छन् ।
पूर्णबजेट ल्याउने विषयमा प्रमुख दलहरूको फरक–फरक धारणा आइरहेको बेला मंगलबार मन्त्री पुनले कांग्रेस सभापति कोइरालालाई भेटी राजनीतिक सहमतिका लागि पहल गरिदिन कोइरालालाई आग्रह गरेका हुन् । मंगलबार महाराजगन्जस्थित कोइराला निवास पुगेका मन्त्री पुनले कांग्रेस सभापतिसँगको भेटमा बजेटका साथै राजनीतिक गतिरोध अन्त्यको विषयमा पनि छलफल भएको जानकारी दिए ।
जवाफमा कोइरालाले दलहरूबीच बन्दै गरेको सहमतिको राजनीतिलाई बिगारेर बजेट ल्याउन नहुने बताएको कांग्रेस केन्द्रीय सदस्य मीनेन्द्र रिजालले बताए । नेता रिजालका अनुसार वैशाखमा चुनावमा जान सहमत भइसके पनि दलहरूबीच विश्वासको वातावरणलाई अझै फराकिलो बनाउनुपर्ने भन्दै कोइरालाले सहमतिविना अघि नबढ्न अर्थमन्त्रीलाई आग्रह गरेका थिए ।
पुनले सञ्चारकर्मीसँग दलहहरूको शीर्ष तहमा सहमतिमै बजेट ल्याउने विषयमा छलफल केन्द्रित रहेको उल्लेख गर्दै सहमतिमै बजेट आउने विश्वास व्यक्त गरे । संविधानसभा/संसद् नै नरहेपछि निर्वाचित दुइटा संस्था मात्र रहेको तर्क गर्दै उनले दुवै संस्था मिलेर जानुपर्ने धारणा व्यक्त गरे ।

प्रतिक्रिया