प्रधानन्यायाधीशको बेन्च बहिष्कार गर्ने चेतावनी

काठमाडौ, २१ कात्तिक । सर्वोच्च अदालतमा बहस गर्ने कानुन व्यवसायीले प्रधानन्यायाधीश खिलराज रेग्मीको बेन्च बहिष्कार गर्ने चेतावनी दिएका छन् । एसोसिएसनका पूर्व तथा बहालवाला पदाधिकारीको सोमबार सम्पन्न भेलाले वर्तमान प्रधानन्यायाधीश रेग्मी न्यायालयको नेतृत्व गर्न अक्षम रहेको ठहर गर्दै बेन्च बहिष्कार गर्ने चेतावनी दिएको हो ।
भेलामा नेपाल बार एसोसिएसन, सर्वोच्च बार एसोसिएसन उपत्यकाका बार एसोसिएसन काभ्रे जिल्ला बार एसोसिएसन र पुनरावेदन बार एसोसिएसनका पूर्व तथा बहालवाला पदाधिकारीले सहभागी थिए । लोकतन्त्रको स्थापनापछि पनि न्यायपालिकाको नेतृत्वमा निरंकुशता ज्यूँका त्यूँ रहेको कानुन व्यवसायीको आरोप छ । वर्तमान प्रधानन्यायाधीश रेग्मीको नेतृत्वले दैनिक प्रशासन सञ्चालन र मुद्दाको पेसी तोक्नेबाहेक कुनै पनि काम नगरेको उनीहरूको दाबी छ ।
भेलाले वर्तमान प्रधानन्यायाधीश रेग्मीको नेतृत्वमा रहेको न्यायपरिषद्ले न्यायालय खाली हुँदै गए पनि न्यायाधीश नियुक्तमा मुकदर्शक भएको आरोप लगाएको छ । ‘न्यायालयबाट दक्ष र अनुभवी न्यायाधीश रित्तिँदै गए पनि वर्तमान न्यायिक नेतृत्व मुकदर्शक बनेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘१४ जेठमा व्यवस्थापिका संसद्को म्याद सकिने जानकारी हुँदाहँुदै पनि न्यायाधीश नियुक्तिमा कुनै चासो नराख्नु वर्तमान नेतृत्वको अक्षमता हो ।’ न्यायिक नेतृत्वकै कारण अस्थायी न्यायाधीशहरूले स्थायी नियुक्ति पाउन नसकेको भेलाले जिकिर गरेको छ । बारले सिफारिस गरेका व्यक्तिलाई न्यायाधीश नियुक्ति नगर्दा हाल न्यायालय शून्यतातिर जान लागेको उनीहरूको जिकिर छ ।
नेपाल बार एसोसिएसनले केही कानुन व्यवसायीलाई एक वर्षअघि वरिष्ठताको उपाधिका लागि सिफारिस गरेको तर तजबिजको अधिकार देखाउँदै उपाधि प्रदान नगरेको आरोप भेलाले लगाएको छ । वर्तमान नेतृत्वले दैनिक प्रशासन सञ्चालन गर्ने र मुद्दाको किनारा लगाउने काम मात्र गरेको दाबी गर्दै भेलाले न्यायालय प्रचारमुखी बन्दै गएको आरोप लगाएको छ । दिनप्रतिदिन न्यायालयको साख वर्तमान नेतृत्वबाट हँुदै आएका कारण दबाबमूलक कार्यका लागि बेन्च बहिष्कारको पहल गर्न नेपाल बार एसोसिएसनलाई भेलाले आग्रह गरेको छ ।

प्रतिक्रिया