सरकारी गाडीमा धान ओसारपसार

नेपालगन्ज, २१ कात्तिक । बाँकेमा कर्मचारीले कार्यालयका गाडीमा रजाइँ गरेका छन् । कार्यालय समयबाहेक अन्य समयमा पनि कर्मचारीले सरकारी गाडी निजी प्रयोजनमा प्रयोग गरेका हुन् ।

यहाँका कर्मचारीले किनमेलदेखि खेतबाट धान ओसार्नसम्म सरकारी गाडीको दुरुपयोग गरेका छन् । सरकारी गाडी दुरुपयोग गर्नेमा खरिदारदेखि कर्मचारी संघ–संगठनका अध्यक्षसम्म छन् । सरकारी गाडी दुरुपयोग गर्दा उनीहरू कुनै कारबाहीमा परेका छैनन् ।
१४ कात्तिकमा जल उत्पन्न प्रकोप नियन्त्रण डिभिजन कार्यालय नं. ६ नेपालगन्ज (बाँके) का लेखा अधिकृत तथा निजामती कर्मचारी युनियन बाँकेका अध्यक्ष पदम जिसीले आफ्नो कार्यालयको गाडी प्रयोग गरेर धान ओसारिरहेको अवस्थामा समातिए । पटकपटक कार्यालयको वा १ झ ५२७५ नम्बरको गाडी प्रयोग गरी आफ्नो धान ओसारेको देखेपछि स्थानीयले गाडी र धान नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए । प्रहरीले गाडी र चालक टोपबहादुर मल्ललाई एकदिन हिरासतमा राखेर अर्को दिन छाडयो तर जिसीलाई कुनै कारबाही भएन ।
जिसीको गल्तीलाई सिडिओ कार्यालय बाँकेले सामान्य मानेको छ । सहायक सिडिओ चक्रपाणि पाण्डेले भने, ‘सरकारी गाडी प्रयोग गर्नु नैतिकहीन काम हो तर ठूलो गल्ती होइन ।’ उनले जिसीलाई कुनै कारबाही नगरी छाडेका थिए ।
स्थानीय प्रशासनले कडाइ नगर्दा सरकारी साधन र सरकारी इन्धन प्रयोग गर्दै घरायसी सामान किन्न रुपैडिया जाने सरकारी अधिकारी सीमापारि बाक्लै भेटिने गरेका छन् । गाडीमा सवार कर्मचारीले सीमाको प्रहरी चौकीमा गाडी राखेर रुपैडिया बजारमा दसैँको सपिङ गर्दै आएका छन् । दिनहुँजसो सीमापारि रुपैडियामा सामान किन्न जाने प्रयोजनमा सरकारी उच्च पदाधिकारीले सरकारी गाडीको दुरुपयोग गरिरहेका छन् ।
गतवर्ष मात्र गृह मन्त्रालयले सीमापारि सरकारी गाडी लैजान प्रतिबन्ध लगाएको हो । भन्सार विभागले समेत सरकारी गाडी सीमापारि नलैजान सबै सरकारी कार्यालयलाई आग्रह गरेको थियो । तर, मध्यपश्चिमका सरकारी अधिकारीलाई भन्सारको आग्रह र गृह मन्त्रालयको निर्देशनले छोएको छैन ।
सरकारले जनताको सेवाका लागि सरकारी कर्मचारीलाई गाडी र इन्धन दिएको हो तर मध्यपश्चिमका सरकारी उच्च पदाधिकारीले लगातार सरकारी गाडीको दुरुपयोग गरेका छन् । दसैँको पूर्वसन्ध्यामा उनीहरूले सरकारी काममा गाडीको प्रयोग गर्नुभन्दा साहेबनीलाई सपिङ गराउने साधनको रूपमा बढी प्रयोग गरेका थिए ।
इन्धनको अभाव भइरहेका बेला मध्यपश्चिम क्षेत्रका सरकारी पदाधिकारी सरकारी गाडी र इन्धनको दुरुपयोग गरिरहेका छन् । गृह मन्त्रालयको निर्देशनपश्चात् सीमामा रहेका प्रहरीले सीमावर्ती भारत रुपैडियामा जान रोक लगाएपछि ती अधिकारीले सीमावारि गाडी राखेर भारतीय बजारमा सपिङ गरिरहेका छन् ।
प्रहरीको आँखा छलेरबाहेक सरकारी गाडी सीमापारि जान नदिएको जमुनाह प्रहरी चौकीका इन्चार्ज महेन्द्र रानाले बताए । प्रहरीलाई अटेर गरेर सीमापारि गाडी लैजानेमा नेपाली सेना र सशस्त्र प्रहरीका अधिकारी बढी रहेको प्रहरीको भनाइ छ । सिडिओ कार्यालय बाँकेले अत्यावश्यक सेवा र उपचारका क्रममा सीमापारि सवारीसाधन लैजान पासको व्यवस्थासमेत गरेको छ ।
प्रशासनले सामान्य प्रयोजनमा सीमापारि सरकारी गाडी नलैजान आग्रह गरे पनि सरकारी कर्मचारीको कानमा बतास लागेको छैन । बाँकेका सिडिओ ढुण्डीराज पोख्रेलले सरकारी साधन व्यक्तिगत प्रयोजनमा प्रयोग गर्न नमिल्ने बताए । ‘अझै सीमापारिको विदेशी भूमिमा साहेबनी बोकेर गाडी लैजानु त अख्तियार दुरुपयोग नै मान्नुपर्छ,’ उनले भने, ‘सरकारी अधिकारीबाट मात्रै सरकारको निर्देशन पालना हुने हो भने अर्थतन्त्रमा केही सकारात्मक सुरुआत हुन सक्छ ।’

प्रतिक्रिया